coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभापतिमा सघाउन पौडेलको आग्रह, अझै सहमति जुटेन

नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा आफूलाई सर्वसम्मत सघाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गरेका छन्। उनको आग्रहमा अझै सहमति जुट्न सकेको छैन। यद्यपि, पौडेले यो प्रयास जारी राखेका छन्।  

पौडेल पक्षबाट सभापति पदमा सर्वसम्मत उम्मेदवार चयन गर्न पौडेल पक्षका नेताहरूले बुधबार दिनभर प्रयास गरेका थिए। यसका लगि बुधबार काठमाडौंको बत्तीसपुतलीमा बैठक गरिएको थियो। यस्तै बैठक मंगलबार पौडेलनिवास बोहराटारमा पनि गरिएको थियो।

स्रोतका अनुसार बैठकमा पौडेलले आफ्नो नाममा सभापति पदमा सर्वसम्मत उम्मेदवार चयन गर्न प्रस्ताव गरेका थिए। बैठकमा उक्त प्रस्तावलाई प्रकाशमान सिंहले सहमति जनाएनन्। यसमा विकल्प खोज्न सिंहले सुझाव दिएको स्रोतको भनाइ छ। पौडेले पक्षले वडा अधिवेशनअघि नै आफ्नो तर्फबाट सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरेको हो। 

सकेसम्म वडा अधिवेशनअघि सर्वसम्मत उम्मेदवार चयन गर्ने, सर्वसम्मत उम्मेदवार चयन गर्न नसकेमा वडा अधिवेशनअघि पौडेल समूहका नेता एक भएको सन्देश दिने तयारी पौडेल पक्षको छ। ‘वडा अधिवेशनअघि नै सभापतिलगायत पदाधिकारीमा सर्वसम्मत उम्मेदवार टुंगो लगाउने प्रयास भएको थियो। तर, नाम टुंगो लाग्न सकेन,’ बैठकपछि पौडेल पक्षका नेता बलबहादुर केसीले भने, ‘नाम टुंगो नलागे पनि आगामी महाधिवेशनमा एकजनाको नाममा सहमति गर्ने सैद्धान्तिक सहमति भएको छ।’

केसीका अनुसार बिहीबार पौडेल पक्षले उम्मेदवारीका आकांक्षी तथा यस समूहका वरिष्ठ नेता एक ठाउँमा बसेर आफू एक भएको सन्देश दिने तयारी गरेका छन्। यसका लागि पत्रकार सम्मेलन गर्ने तयारी भएको स्रोतले बतायो।  

सभापति पदमा मात्र नभई पदाधिकारी पदमा समेत सर्वसम्मत उम्मेदवार चयन गर्ने सैद्धान्तिक सहमति भएको केसीले जनाए। वडा अधिवेशनअघि सर्वसम्मत उम्मेदवार चयन गर्न नसके पनि महाधिवेशन प्रतिनिधिको चुनावअघि नै सर्वसम्मत उम्मेदवार चयन गर्ने उनले बताए। ‘महाधिवेशन प्रतिनिधि छानिनुअघि नै पदाधिकारीसहित सभापति पदमा सर्वसम्मत उम्मेदवार चयन गर्ने सहमति गरेका छौं,’ केसीले भने।

पौडेल पक्षको बैठकमा पौडेल, महामन्त्री सशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला उपस्थित थिए। यसैगरी, बलबहादुर केसी र अर्जुनरनसिंह केसी पनि उक्त बैठकमा सहभागी भएका थिए।  

कांग्रेसको आगामी १४औं महाधिवेशनमा पौडेल पक्षबाट पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन्। यी चार नेताबाट एकजनाको नाममा सहमति जुटाउन प्रयास भए पनि कसको नाममा सहमति जुटाउने भन्ने विषय टुंगो लाग्न सकेको छैन। तर पनि आफ्नो नाममा सहमति जुटाउन पौडेलले अझै प्रयास गर्ने भएका छन्। १३औँ महाधिवेशनमा उनी सभापतिका उम्मेदवार थिए।

भदौ १८ गते कांग्रेसको वडा अधिवेशन हुँदैछ। भदौ १८ गते वडा अधिवेशन हुन नसकेका जिल्लामा भदौ २२ सम्म वडा अधिवेशन हुने भएका छन्। कांग्रेसका नेताहरू अहिले वडा अविधेशनको तयारीमा जुटेका छन्।  

कल्याण गुरूङको सभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले कांग्रेसको आगामि १४औँ महाधिवेशनमा केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरी गुरूङले उम्मेदवारी दिने घोषणा गरेका हुन्। युवाको तर्फबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन्। आफूले सभापति पदमा चुनाव जितेमा सबैलाई समेटर समावेशी पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘मेरो उम्मेदवारी वार्गेनिङको लागि होइन। अन्तिम समयसम्म पनि मेरो उम्मेदवारी कायम रहन्छ।’ आफूले पार्टीको नेतृत्व गर्न पार्टीमा पद्धतिमा आमुल परिवर्तन गर्ने उनले बताए। गुरूङ नेपाली कांग्रेसको रामचन्द्र पौडलनिकट मानिन्छन्। चाँडै आफ्नो तर्फबाट टिम सार्वजनिक गर्ने पनि उनले घोषणा गरे।

प्रकाशित: १७ भाद्र २०७८ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App