८ वैशाख २०८१ शनिबार
राजनीति

तीन सांसदले रोजे नेकपा (एस), कर्णाली प्रदेश सरकार झन् बलियो

नेकपा एमालेका तीन सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै सत्ता गठबन्धन दल झन् बलियो बनेको छ। ३५ सदस्यीय प्रदेशसभामा अव सत्ता गठबन्धनका सांसदको संख्या २१ पुगेको छ।

बुधबार प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी वली र पदम रोकायाले प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर समाजवादीका पक्षमा सनाखत गरेका हुन्। समाजवादी रोजेका शाही मुगु जिल्ला प्रदेशसभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् भने रोकाय जुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन्। यस्तै ओली रुकुम पश्चिमबाट समानुपातिक सांसद हुन्। शाही एमाले केन्द्रीय सदस्य थिए। वली कर्णाली प्रदेशको सामाजिक विकास समिति अध्यक्ष हुन् भने निर्वाचन आयोगमा दर्ता हुँदा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य हुन्।

तीन जना प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेको रोहवरमा सनाखत गरेका थिए। तीन जना सांसदलाई कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले निर्वाचन कार्यालय पुर्याएका थिए। निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएको छ।  

‘कर्णालीमा हालसम्म नेकपा एमालेका तीन जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ,’ प्रदेश निर्वाचन अधिकृत चालिसेले भने, ‘स्थानीय तहका जनप्रतिनिधिहरु अहिलेसम्म सनाखतका लागि आउनु भएको छैन।’

४० सदस्यीय कर्णाली प्रदेशसभाका पाँच जना सांसद पदमुक्त भइसकेका छन्। गत बैशाखमा माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका चार सांसदले फ्लोरक्रस गरेका थिए। दलीय ह्वीप उलंघन गरेका चारै जना पदमुक्त भइसकेका छन्। फ्लोरक्रस गरेर पदमुक्त भएकामध्ये अम्मरबहादुर थापा भौतिक पूर्वाधार विकास मन्त्री, कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र नन्दसिंह बुढा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन्। फ्लोरक्रस गरेका प्रकाश ज्वाला समाजवादीका कर्णाली प्रदेश अध्यक्ष छन्। माओवादी केन्द्रबाट निर्वाचित दैलेखका सांसद धर्मराज रेग्मीले एमाले रोजेपछि कर्णाली प्रदेशमा संसदको संख्या ३५ छ।  

कुनै बेला ४० मध्ये कर्णाली प्रदेशसभामा २० सांसद रहेको नेकपा एमाले अव १३ सदस्यमा खुम्चिएको छ। हाल कायम रहेका एमालेका १६ मध्ये तीन सांसदले नयाँ दल रोजेपछि प्रमुख प्रतिपक्षी दल एमाले सांसदको संख्या १३ मा झरेको छ। प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, राप्रपाका एक सदस्य छन्। माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्।

प्रकाशित: १६ भाद्र २०७८ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App