coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश २ : नेकपा (एस) सरकारमा, लोसपा प्रतिपक्षमा

जुट्दा सत्ताधारी, फुट्दा प्रतिपक्षी

नेकपा (एकीकृत समाजवादी) जसपा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने भएको छ। नेकपा(एस) सरकारमा सहभागी भएपछि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) प्रमुख प्रतिपक्षको भूमिकामा रहनेछ।  

प्रदेशको पहिलो सरकार तत्कालिन समाजवादी पार्टी र राजपाको बनेको थियो। पछि यी दुबै दलबीच एकिकरण भई जनता समाजवादी पार्टी(जसपा) बन्दा जसपाको एकल सरकार थियो।

पार्टी निर्णयविपरित महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपामा विभाजनको विजारोपण भयो। अन्ततः महन्थ ठाकुर अलग्गिएर लोसपा खोलेका छन्। प्रदेशसभामा लोसपाको सभामुखसहित १५ जना सदस्य छन्। यता जसपाको ४० जना प्रदेशसभा सदस्य छन्।

अहिले जसपा नेतृत्वको सरकारमा प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा मओवादी(केन्द्र) सहभागी छन्। प्रदेशसभामा चौथो ठूलो दल नेकपा(एस) सरकारमा सहभागी हुने सो दलका नेता शत्रुधन महतोले बताए। ‘हामी सरकारमा सहभागी हुने पक्का भैसक्यो’, उनले नागरिकसँग भने, ‘कुन–कुन र कति मन्त्रालय लिने भन्ने विषय टुंगो लाग्न बाँकी छ।’

जसपाले केन्द्रदेखि नै नेकपा(एस)लाई प्रदेश सरकारमा सहभागी गराउन कसरत गर्दै आएको थियो। नेकपा एमाले विभाजन नहुँदै माधव नेपाल पक्षलाई जसपा नेतृत्वको सरकारमा सहभागी गराउन खोजिएको थियो। तर, नयाँ दल गठन नभएकाले मन्त्रिपरिषद् विस्तार रोकिएको थियो। दल विभाजनसँगै प्रदेश सरकारमा सहभागी गराउने तयारी थालिएको हो। नेकपा(एस) संघीय सरकारमा सहभागी भएर मन्त्रिपरिषद् विस्तार भए लगत्तै प्रदेश २ मा पनि नयाँ मन्त्री थपिने भएका छन्।

नेकपा(एस)का नेता महतोले दुई/तीन दिनमा प्रदेश सांसदको सनाखत सकिएपछि सरकारमा सहभागी हुने बताए। ‘सांसदहरुको सनाखतपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका लागि मन्त्री र मन्त्रालयको टुंगो लगाउँछौं’, महतोले भने।

यसअघि कांग्रेस र माओवादी(केन्द्र)लाई सरकारमा ल्याउन मुख्यमन्त्री लालबाबु राउतले ६ वटा मन्त्रालयलाई टुक्र्याएर १० वटा बनाएका छन्। जसमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादी(केन्द्र)का एक मन्त्री छन्। बाँकी दुई मन्त्रालय मुख्यमन्त्री राउतले आफूसँगै राखेका छन्। वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय मुख्यमन्त्रीसँगै रहेका छन्। यी दुवै मन्त्रालय नेकपा(एस) लाई दिएर सरकारमा ल्याउने मुख्यमन्त्री राउतको तयारी छ।  

यसअघि जेठमा कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई हटाएका थिए। दोस्रो पटक सरकार विस्तार गरी माओवादीलाई सरकारमा ल्याउन जसपाका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवसहित एक राज्यमन्त्रीलाई राजिनामा गर्न लगाएका थिए। सो मन्त्रालयका मन्त्रीमा माओवादी केन्द्रका भरत साहलाई र राज्यमन्त्रीमा रुवी कर्णलाई नियुक्त गरेको थियो।

हाल प्रदेशसभामा जसपा, नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र , लोसपा, नेकपा(एस) र नेपाल संघीय समाजवादी पार्टी छन्। नेपाल संघीय समाजवादी पार्टी वर्तमान सरकारलाई नै समर्थन दिएको छ। अब प्रदेशसभामा उपेन्द्र यादव नेतृत्वको जसपा ठूलो दल र प्रमुख प्रतिपक्ष जसपाबाटै विभाजित ठाकुर नेतृत्वको लोसपा बन्ने भएको छ।

प्रकाशित: १६ भाद्र २०७८ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App