coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भदौ १८ अघि सर्वसम्मत सभापतिको उम्मेदवार छान्न पौडेल पक्षको प्रयास

सकेसम्म वडा अधिवेशनअघि नै आफ्नो समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रयास गरेको छ। भदौ १८ गते वडा अधिवेशन हुँदैछ। सकेसम्म भदौ १८ अघि एकजना व्यक्तिको नाम नै टुंगो लगाउने प्रयास भइरहेको पौडेल पक्षका बलबहादुर केसीले बताए। 

यसका लागि पौडेल पक्षले मंगलबार बोलाएको बैठकमा केसी सहभागी भएका थिए। ‘हामीले बुधबारसम्म सभापतिको सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गर्ने छाैँ,’ केसीले भने, ‘बुधबारसम्म प्रयास सफल हुन सकेन भने वडा अधिवेशनअघि नै हामी एक भएर जान्छौं भन्ने सन्देश दिन सभापतिका आकांक्षी र केही वरिष्ठ नेता एक ठाउँमा बसेर पत्रकार सम्मेलन गर्ने तयारी गरेका छाैँ।’

मंगलबार पौडल पक्षले बोलाएको बैठका पौडेल, महामन्त्री सशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइाराला, बलबहादुर केसी र अजुर्ननरसिंह केसी उपस्थित थिए। केसीका अनुसार बैठकमा सभापति पदमा मात्र नभई पदाधिकारीमा समेत सर्वसम्मत उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको थियो। ‘सभापति पदमा मात्र नभई पदाधिकारी पदमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्नुपर्छ भन्ने सहमति भएको छ। पदाधिकारीमा समेत सर्वसम्मत उम्मेदवार चयन गर्न समय लम्बिएको हो।’

मंगलबारेको बैठक पौडेल पक्षबाट एकजना मात्रै उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित भए पनि निष्कर्षमा पुग्न सकेन। बुधबार यस विषयमा थप छलफल हुने भएको छ। पौडेल पक्षबाट एकजना मात्र उम्मेदवार चयन गर्नु पर्छ भन्ने सहमति भए पनि कसको नाममा सहमति गर्ने भन्ने विषयमा पौडेल पक्षका सभापतिका आकांक्षीहरू एक ठाउँमा आउन सकेका छैनन्।

पौडेल पक्षबाट सभापति पदमा रामचन्द्र पौडेल, सशांक कोइराला, शेखर कोइराला र प्रकाशमानसिंह सभापति पदका आकांक्षी छन्। यी चारजना आकांक्षीबाट एकजना सर्वसम्मत उम्मेदवार छान्न सकेमा आफ्नो पक्ष बलियो हुने पौडेल समुहका नेताहरूको बुझाइ छ। वडा अधिवेशनअघि नै पौडेल पक्षबाट एक जना मात्र उम्मेदवार घोषणा गर्नसके महाधिवेशनमा यसको राम्रो सन्देश जाने निष्कर्ष उनीहरूको छ।  

केसीका अनुसार मंगलबार बोलाइएको बैठकमा सभापति पदमा सर्वसम्मत उम्मेदवार चयन गर्ने र मन्त्रिपरिषद् विस्तार बारेमा छलफल गर्न एजेण्डा राखिएको थियो। ‘प्रधानमन्त्रीज्यूले भदौ २२ गतेसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने बताएपछि मन्त्रिपरिषद् विस्तारको अजेन्डाबारेमा छलफल भएन,’ केसीले भने। केसीका अनुसार माधव नेपाल पक्षको आग्रहमा प्रधानमन्त्रीले भदौ २२ सम्म मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन्। पार्टी विभाजन भएपछि दल छान्न निर्वाचन आयोगले भदौ २२ गतेसम्म समय दिएको छ। त्यसबेलासम्म मन्त्रिपरिषद् विस्तार पर्खन माधव नेपालले प्रधानमन्त्रीलाई आग्रह गरेको केसीले बताए।  

नेपाली कांग्रेसको १४औ महाधिवेशनमा सभापति पदमा संस्थापन पक्षबाट वर्तमान सभपाति शेरबहादुर देउवाले सभापति पदमा दोहर्‍याउने तयारी गरेका छन्। यसैगरी सभापति पदमा विमेलेन्द्र निधिले पनि तयारी गरेका छन्। निधिले केही दिनअघि काठमाडौंमा सम्पर्क कार्यालय खोली सभापति पदमा उम्मेदवार दिने घोषणा गरेका छन्। १३औं महाधिवेशनसम्म देउवालाई साथ दिएका निधि अहिले संस्थापन पक्षबाट अग्गिएका छन्। संस्थापनइतर पक्षबाट आफू सर्वसम्मत उम्मेदवार हुन निधिले रामचन्द्र पौडेल, सशांक कोइराला, शेखर कोइराला तथा प्रकाशमान सिंहसँग छलफल गरेका थिए। तर उनको प्रयास सफल हुन सकेको छैन।  

यसैगरी, नेपाली कांग्रेसका तेस्रो धारका नेतृत्व गरेका कृष्ण सिटौलाले पनि सभापतिमा पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। सिटौलाले १३ औँ महाधिवेशनमा पनि सभापति पदमा उम्मेदवारी दिएका थिए। सिटौलाले काठमाडौंमा सम्पर्क कार्यालय खोली सभापति पदका लागि कार्यकर्तासँग भेटघाट अघि बढाएका छन्। 

प्रकाशित: १६ भाद्र २०७८ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App