७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले अध्यक्षमा पोखरेल आकांक्षी

एमालेको दसाैँ महाधिवेशनको मिति तोकिएपछि नेताहरू महाधिवेशन केन्द्रित हुन थालेका छन्। उनीहरूले पार्टीमा आफ्नो योगदान र अहिलेको अवस्थाबारे जानकारी दिँदै अप्रत्यक्ष रूपमा महाधिवेशन तयारीमा लागेको संकेत गर्न थालेका छन्। यसैक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षका लागि आफू योग्य रहेको बताएका छन्। 

उनले घुमाउरो तरिकाले एमाले अध्यक्ष हुन आफू योग्य रहेको बताएका हुन्। भदौ ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुकूल समयमा पार्टीको नेतृत्व हस्तान्तरण गर्छु भनेको एक साता पनि नबित्दै महासचिव पोखरेलले अध्यक्षमा आकांक्षा व्यक्त गरेका हुन्।

पार्टीमा आएको उतारचढाव र आफ्नो योगदानबारे संक्षिप्त चर्चा गरेका पोखरेलले क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमाले अध्यक्षका लागि आफू योग्य रहेको बताए। ‘व्यक्तिगत ढंगले मेरो इतिहास, मेरो निरन्तरता, मेरो क्षमताले म योग्य छु भनिरहनुपरेन तर देशको परिस्थिति कस्तो हुन्छ ? देशभरिका कार्यकर्ताको चाहना के हुन्छ ?’ सोमबार सञ्चारकर्मीसँग महासचिव पोखरेलले भने।आठौं र नवौं महाधिवेशनमा महासचिव भएको र अध्यक्ष ओलीले ‘कक्षा नदोहोर्‍याउने’ बताइरहेका बेला सहज अवस्था आएको हो भनी सञ्चारकर्मीद्वारा राखिएको सवालको जवाफ फर्काउँदै महासचिव पोखरेलले अध्यक्षका लागि आफू योग्य भएको बताएका हुन्। आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभए त्यसको कुनै अर्थ नहुने उनले स्पष्ट पारे।  

‘अध्यक्षकै उम्मेदवार’ भनेर चाहिँ उनले खुलाएनन् तर सांकेतिक रूपमा आफूलाई अध्यक्षको आकांक्षीका रूपमा प्रस्तुत गरे। एमालेले आगामी महाधिवेशन २०७९ वैशाख १० भित्र सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो साता विधान महाधिवेशनको आयोजना गरेको पनि बताए। पार्टीले मंसिरमा दसौं महाधिवेशन गर्ने पनि महासचिव पोखरेलले जानकारी दिए। 

महासचिव पोखरेलले माओवादी केन्द्र र माधव नेपालको पार्टी एकीकृत समाजवादीसँग कुनै किसिमको सहकार्य नहुनेसमेत बताए। कम्युनिस्ट पार्टीको सरकार ढाल्ने प्रतिगामीसँग सहकार्य वा गठबन्धन नहुने उनको भनाइ थियो। ‘मुलुकमा एकातिर केपी ओली र अर्कोतिर ओलीविरोधी सबै शक्तिको ध्रुवीकरण भएको छ तर एमालेविरुद्धको गठबन्धनलाई हामी परास्त गर्नेछौं,’ पोखरेलले भने। माधव नेपालले जीवनमा एकपटक मात्र आन्तरिक प्रतिस्पर्धा गरेको र अध्यक्षमा हारेपछि अर्को महाधिवेशन पर्खिन नसी अध्यक्ष पद मागेर विभाजित भएको आरोप पनि उनले लगाए।

महासचिव पोखरेलले अहिलेको सत्तारूढ गठबन्धनलाई ‘टालाटुली’ को संज्ञा दिँदै धेरै समय नटिक्ने दाबी गरे। ‘टालाटुली बटुली के जाति भन्ने कुरा छ नि, त्यो हेर्दै जानु छ। यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ, कसरी काम गर्छ, हेर्दै जानु छ,’ उनले भने, ‘हामी राष्ट्रिय राजनीतिको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसाबले अगाडि जान्छौं।’ महासचिव पोखरलले विगतमा एकीकरण भई बनेको पार्टीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्र माधव नेपाल समूहको गुटबन्दीका कारण आफ्नो पार्टीमा अहिलेको स्थिति आएको दाबी गरे।

१० बुँदे कार्यान्वयन गर्न पुरानै इन्चार्ज  

एमालेले १० बुँदे सहमतिलाई रचनात्मक रूपमा कार्यान्वयन गर्न पुरानै इन्चार्जको नेतृत्वमा जिम्मेवारी तोकेको छ। एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा १० बुँदे सहमति कार्यान्वयनका लागि पुरानै इन्चार्जलाई नेतृत्व दि“दै जिम्मेवारी तोकेको हो। ‘बैठकले १० बुँदे प्रस्तावलाई रचनात्मक ढंगले कार्यान्वयन गर्दै पार्टी एकतालाई सुदृढ गर्ने संकल्प गरेको छ। 

पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटीलगायत सबै तहका स्थानीय पार्टी कमिटी र जनसंगठन सबै तहका पदाधिकारी र सदस्यहरूलाई पार्टीको एकता र जीवन्ततालाई ध्यान दिँदै एकीकरणको महान् कार्य र भावनामा चोट नपर्ने गरी एकीकरणपूर्वको स्थिति अर्थात् जेठ २ गतेको अवस्थामा फर्किएको यथार्थलाई समेत ध्यानमा राखी कार्य गर्न निर्देशित गर्ने,’ सोमबार जारी अपानीमा उल्लेख छ।

त्यसैगरी १० बुँदे सहमतिमा कार्यान्वयन गर्ने विषयलाई सहजीकरण गर्न प्रदेश १ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङ्बोहाङ तथा प्रदेश प्रदेश २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको अपानीमा उल्लेख छ। वाग्मतीमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेल तथा गण्डकीमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत् विश्वकर्मा र लीलबहादुर थापालाई खटाइएको छ। 

त्यसैगरी लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोख्रेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरी तोकिएका छन्। कर्णालीमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मीले जिम्मेवारी पाउँदा भीमबहादुर रावल, लेखराज भट्ट, कर्णबहादुर थापाको जिम्मेवारीमा सुदूरपश्चिम परेको छ। त्यसैगरी जनवर्गीय संगठनहरूमा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको एमालेले जनाएको छ। १० बुँदे कार्यान्वयनका लागि माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूलाई पनि समावेश गरिएको छ।

त्यसैगरी एमालेले कात्तिक ६ गतेसम्म वडा अधिवेशन र ९ गतेसम्ममा पालिकाहरूको अधिवेशन गर्न पनि निर्देशन दिएको छ। आगामी फागुनमा स्थानीय तहको चुनाव हुने भएकाले त्यसका तयारीका लागि समयमै अधिवेशन सम्पन्न गर्न एमालेले निर्देशन दिएको हो। एमालेले प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक पार्टी निर्देशन जारी गरेको छ। पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न जनप्रतिनिधिलाई पनि निर्देशन दिइएको छ।

विभाजन होइन, विद्रोह होः खनाल  

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्। भारतमा उपचार गरेर अढाइ महिनापछि सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन्। ‘मसँग अब कुनै कार्यकारी पोस्ट माग्ने नैतिक अधिकार छैन। ७० वर्ष पुगिसकेको छु,’ खनालले भने। 

उनले कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने भन्दै केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादको प्रतीक भएकाले आफूहरूले विद्रोह गर्नुपरेको बताए। ‘विद्रोह फुट होइन। यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्न सक्छ तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ। अहिले यो झिल्काका रूपमा मात्रै छ,’ खनालले भने।

आफ्नो जीवन नाफाको भएको बताउँदै उनले सास रहुन्जेल राष्ट्र, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार गर्ने बताए। ‘मेरो जीवन नाफाको हो, बोनस हो। सास रहुन्जेल देश, राष्ट्र, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणमा समय खर्चनेछु,’ खनालले भने, ‘दिगो शान्ति स्थापना र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्नेछु।’ उनले आफ्नो स्वास्थ्यमा चासो राख्ने सबैलाई धन्यवादसमेत दिए।

 नेता खनालले आफूले नयाँ जीवन पाएको महसुस गरेको पनि बताए। ‘बाँकी जीवन देश, जनता, मुलुकको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, राष्ट्रिय एकता, सही वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा कम्युनिस्ट आन्दोलनको नयाँ स्तरको एकता, दिगो शान्ति र नेपाली मोडेलको समाजवादप्रति प्रतिबद्ध रहनेछ,’ नेता खनालले भने।

प्रकाशित: १५ भाद्र २०७८ ००:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App