८ वैशाख २०८१ शनिबार
राजनीति

लुम्बिनी प्रदेश: भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याइँदै

लुम्बिनी प्रदेश सरकारले भागबन्डा मिलाउन थप मन्त्रालय टुक्र्याउने तयारी गरेको छ। गठबन्धन सरकार भएकाले कानुनी र संवैधानिक परिधिभित्र रहेर मन्त्रालय टुक्र्याउन लागिएको प्रदेश सरकारले जनाएको छ।

११ मन्त्रालय भएको लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित चार, नेपाली कांग्रेसले चार र जनता समाजवादी पार्टी नेपालले तीन मन्त्रालय पाउने सहमति भएको थियो। स्वतन्त्र सांसद अजय शाही पनि सरकारमा सहभागी भएपछि मन्त्रालय फुटाउन थालिएको हो। ११ सदस्यीय मन्त्रिमण्डलबाट मन्त्रालय टुक्र्याएर १२ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेको प्रदेश सरकारले जनाएको छ । गठबन्धनमा सहभागी दललाई टिकाउन मन्त्रालय फुटाउन लागेको आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले बताए। 

‘गठबन्धन दललाई त समेट्नै पर्‍यो,’ उनले भने, ‘अहिले हामी छलफलमा छौं।’ अबको केही दिनमा प्रदेश सरकारले पूर्णता पाउने उनको भनाइ छ। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का १७ र जनता समाजवादी पार्टीका पाँचजना सांसदले हस्ताक्षर गरेका थिए।

कानुनी र संवैधानिक सीमाभित्र रहेका मन्त्रालय बढाउन थालेको नेपाली कांग्रेसका मुख्य सचेतक फकरुद्धिन खानले बताए। ‘पहिले एकदलीय सरकार थियो। अहिले गठबन्धनको सरकार छ,’ उनले भने, ‘गठबन्धनलाई बलियो बनाउन मन्त्रालय बढाउन थालेका छौं।’ कुन मन्त्रालय फुटाउने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ। स्वतन्त्र सांसद शाही सरकारमा सहभागी भएपछि एउटा मन्त्रालय बढाउन थालिएको उनले जनाए।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी भए पुनः मन्त्रालयको संख्या बढ्न सक्ने आँकलन गरिएको छ। अहिलेको भागबन्डामा एकीकृत समाजवादीलाई पारिएको छैन। यदी उक्त दल सरकारमा सहभागी हुने भए मन्त्रालय फुटाउने वा कुनै दलले मन्त्रालय छाड्नेस्थिति आउन सक्ने सांसदको भनाइ छ।

‘गठबन्धन सरकारमा धेरै दल सहभागी छौं,’ सांसद कृष्णा केसीले भनिन्, ‘सबैलाई समेट्न मन्त्रालय टुक्र्याउनु त पर्छ नै।’ रहरले नभइ बाध्यताले कानुनले दिएको अधिकार प्रयोग गरेर मन्त्रालयको संख्या बढाउन थालिएको उनको भनाइ छ। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले पनि आफ्नो सत्ता टिकाउन मन्त्रालय फुटाएका थिए।

नेकपा (एकीकृत समाजवादी) भित्र अन्योलता

गठबन्धन सरकारमा सहभागी हुने या नहुने विषयमा नेकपा (एकीकृत समाजवादी) अन्योलमा छ। अहिले नै सरकारमा जाने विषय टुंगो नलागेको सांसद विष्णुप्रसाद पन्थीले बताए। सरकारमा सहभागी नभएर प्रतिपक्षमै बस्नु हुनुहुन्छ त? भन्ने प्रश्नमा उनले भने, ‘केन्द्रमा हाम्रो पार्टी सरकारमा जाने छलफल भइरहेको छ। प्रदेशमा पनि त्यही गर्नुपर्छ भन्ने छैन।’ लुम्बिनी प्रदेशमा पन्थी र पाल्पाकी रमा घर्ती एकीकृत समाजवादीमा खुलेका छन्। अहिले परिस्थिति पुरानै नभएको भन्दै उनले भने, ‘नयाँ परिस्थिति छ। हामी दुईजना मात्र संसद्मा खुलेका छौं। अरु पनि कोही हुनुहुन्छ होला।’ 

केन्द्रबाट निर्देशन नआउँदा पनि सरकारमा सहभागी हुने विषय अन्योल भएको सांसद् घर्तीले बताइन्। ‘माथिबाट नआत्तिनु मात्र भन्नुहुन्छ,’ उनले भनिन्, ‘कहिलेसम्म नआत्तिने हो।’

प्रकाशित: १३ भाद्र २०७८ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App