६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस जिल्ला सभापतिहरूले अनशन तोडे

नेपाली कांग्रेसका शिर्ष नेताहरूले माग पूरा गर्ने आश्वासन दिएसँगै ४ दिनदेखि पार्टी कार्यालय सानेपामा रिले अनशनमा बसेको जिल्ला सभापतिहरूले शनिबार साँझ अनशन तोडेका छन्। जिल्ला सभपातिहरूको अनशन तोड्न लगाउन कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पार्टी कार्यालय सानेपामा पुगेका थिए। उनीसँग कार्यदलका सदस्य रमेश लेखक र मिनेन्द्र रिजाल पनि सानेपा पुगेका थिए।

अनशन टुंग्याउनु अघि प्रधानमन्त्री निवास बालुबाटारमा कांग्रेसका पदाधिकारीहरूको बैठक बसको थियो। उक्त बैठकमा अनशन बसेका जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने सहमति गरिएको थियो। सहमतिपछि कार्यादलका संयोजक सिटौला तथा सदस्यहरू लेखक र रिजाल सानेपा पुगेर अनशनकारीहरूलाई माग पूरा गर्ने आश्वासन दिएका थिए। त्यसपछि अनशनमा बसेको जिल्ला सभापतिहरूले अनशन टुंग्याएका थिए।

पार्टी नेतृत्वबाट माग पूरा गर्ने आश्वासन आएपछि आफूहरूले अनशन तोडेको रोल्पा जिल्ला सभापति अमर पुनले बताए। ‘माग सम्बोधन हुने आश्वासन दिइएको छ। माग सम्बोधन हुने भएपछि अनशन तोडेका हौं,’ उनले भने। शनिबार नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेत, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, तथा काठमाडौं सभापति सुवज बानिया रिले अनशनमा बसेका थिए। शुक्रबार रोल्पा सभापाति अमर पुन, सिन्धुपाल्लोक सभापति विकास लामा, तथा सोलुखुम्बुका सभापति विनोद बस्नेत अनशनमा बसेका थिए। रोल्पा सभापति पुनका अनुसार अहिलेसम्म १२ जिल्लाका जिल्ला सभापति अनशन बसेका थिए।

कांग्रेस शिर्ष नेता र अनशनमा बसेका जिल्ला सभापतिबीच ३ बुँदे मौखिक सहमति भएको पुनले जनाए। उनकाअनुसार सबै जिल्लाका क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्ने, अनियमितमा भएको पाइएमा सूची सच्याउने तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने र महासमिति सदस्यमा चुनाव लड्न पाउने सहमति गरिएको छ। एक मात्र निर्वाचन क्षेत्र भएको ३५ जिल्ला छन्। यसैगरी एकै दिन भदौ १८ गते ६ हजार ७४३ वडामा वडा अधिवेशन गर्ने सहमति भएको छ।

अनशनमा बसेका जिल्ला सभापतिहरूका माग सम्बोधन गर्ने आश्वासन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएका छन्। अनशनमा बस्नेहरू पौडेल पक्षीय जिल्ला सभापति हुन्। शुक्रबार साँझ पौडेल पक्षीय नेता र कांग्रेस संस्थापन पक्षबीच भएको छलफलमा अनशनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्ने सहमति भएको थियो। उक्त आश्वासनपछि पौडेल पक्षले शनिबार बिहान क्षेत्रपाटीस्थित प्रकाशमान सिंहको निवासमा आफू निकटहरूको छलफल गरेको थियो। 

उक्त बैठकमा पौडेल पक्षीय नेताहरूले संस्थापन पक्षले अनशनमा बसेका जिल्ला सभापतिहरूको माग पूरा गर्ने सहमति जनाएको भन्दै अब महाधिवेशनको सुनिश्तिता भएको बताएका थिए। अनियमितता भएको क्रियाशील सदस्यहरूको सूची सच्च्याउन पाउनुपर्छ भन्ने मागको बारेमा शनिबार दिउँसो फेरि छलफल भयो। यसको लागि शनिबार पदाधिकारीको बठक बस्यो। बैठकमा अनियमिता भएको पाइएमा क्रियाशील सदस्यको सूची थपघट गर्न संस्थापन पक्ष तयार भयो। भदौ ९ गतेदेखि पौडेल पक्षीय जिल्ला सभापतिहरूले तीन बुँदे माग राखी पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका थिए।

महाधिवेशन सुनिश्ति भयो: जिल्ला सभापतिहरू

अनशसन टुंगिएपछि जिल्ला सभपातिहरूले कांग्रेसका महाधिवेशन अब सुनिश्ति भएको बताएका छन्। भदौ १८ गते वडाको अधिवेशन हुँदैछ। यसअघि, जिल्ला सभापतिको अनशसनले भदौ १८ गते हुने भनिएको वडा अधिवेशन हुनमा अन्यौल उत्पन्न भएको थियो। ‘अब महाधिवेशन सुनिश्ति भएको छ। हामीले महाधिवेशनको तयारी सुरु गरिसकेका छौ,’ नुवाकोट जिल्ला सभपाति जगदिश्वर नरसिंह केसीले भने।

प्रकाशित: १३ भाद्र २०७८ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App