लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने भएको छ।
निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको लोसपाको आज भएको कार्यकारिणी समितिको पहिलो बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए।
उनका अनुसार बदलिँदो परिस्थितिमा जनतामा कसरी जाने भन्ने विषयमा कार्यनीति र रणनीति बनाउनेबारे छलफल भएको छ। सङ्गठन संरचना कुन प्रक्रियाबाट अघि बढाउनेबारे पनि बैठकमा छलफल भएको थियो।
बैठकमा दल दर्ता हुनेबित्तिकै २१ दिनभित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ। “स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यका लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूचीअनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरु भइसकेको छ”, कार्यकारिणी समिति सदस्य झाले भने।
यसैबीच लोसपाले बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा झण्डोत्तोलन गर्ने भएको छ। उक्त कार्यक्रम शुक्रबार अपराह्न ३ बजेका लागि तय गरिएको छ। झण्डोत्तोलनपछि कार्यकारिणी समितिको बैठकलाई निरन्तरता दिइने सो पार्टीले जनाएको छ।
प्रकाशित: १० भाद्र २०७८ १४:४१ बिहीबार