८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीले जस्तो हावादारी कार्यक्रम ल्याउँदैनौः प्रदेश मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धनको सरकारले ओली सरकारले जस्तै हावादारी काम नगर्ने बताएका छन्। जनता समाजवादी पार्टी नेपालको मायादेबी गाउँपालिका समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित नयाँ मन्त्रीहरुको स्वागतमा गरेको कार्यक्रममा मुख्यमन्त्री केसीले ओली सरकारलेजस्तै हुन नसक्ने खालका कार्यक्रम वर्तमान सरकारले नल्याउने बताएका हुन्। ‘वास्तविक र हुने खालका कार्यक्रम ल्याउँछौ, हुने खालको जे देख्छौं त्यही कार्यक्रम ल्याउँछौं’ उनले भने।

ओली सरकारले पानीजहाज र घरघरमा ग्यासको पाइप जडान गर्ने कुरा चर्चाका लागि मात्र रहेको भन्दै अहिलेको गठबन्धन सरकारले जनमुखी कार्यक्रम ल्याउने उनको भनाइ छ। ओलीले वर्तमान गठबन्धनलाई तोड्ने कोशिस गरेको भन्दै उनले यो गठबन्धन लामो सयमसम्म रहने दाबी गरे। ‘यो गठबन्धनको शक्तिलाई पारसम्म लान्छौं, प्रतिगामीलाई परास्त गरी विकास कस्तो हो भनी देखाउँछौं’ उनले भने।

वर्तमान सरकारसँग विकासका लागि समय कम भएको भन्दै उनले ओली सरकारले गरेको कामभन्दा डेढ बर्षको अवधिमै राम्रो गरेर देखाउने बताए। उनले मुटु र मृगौला रोगीको उपचारमा सहजताका लागि ३ लाख रुपैयाँ दिने बताए। उनले प्राचिन वुद्धकालीन शहरलाई चिनाउन कपिलवस्तुमा ठूलो भ्युटावरसमेत निर्माण गर्ने योजना रहेको बताए।

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सहसराम यादवले ओली गणतन्त्र विरोधी रहेको आरोप लगाउँदै प्रतिगमनलाई परास्त गर्र्न गठबन्धन सरकार बनेको बताए। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरीले वर्तमान सरकारले समावेशीलाई बिशेष ध्यान दिनुपर्ने बताए।

प्रकाशित: १० भाद्र २०७८ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App