८ वैशाख २०८१ शनिबार
राजनीति

जसपा पनि टुक्रियो

निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गर्न जाँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतका नेता। तस्बिर: रासस

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका १४ जना सांसद र कार्यकारिणी समितिका १६ सदस्यले बुधबार दिउँसो निर्वाचन आयोगसमक्ष हस्ताक्षर सनाखत गरेपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दर्ता गर्ने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले लोसपा दर्ता गर्ने निर्णय लिएको जानकारी दिए। लोसपा दर्ता भएसँगै जसपा औपचारिक रुपमा विभाजित भएको छ।  

संघीय संसद्मा जसपाका ३७ सांसद छन्। तीमध्ये १४ जना लोसपाको पक्षमा उभिएका छन्, जुन ३७ दशमलब ८४ प्रतिशत हो। जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ। त्यसमध्ये १६ जना कार्यकारिणी सदस्यले लोसपाको पक्षमा सनाखत गरेका हुन्, जुन करिब ३३ प्रतिशत हो। लोसपाबाट हस्ताक्षर गरेका कार्यकारिणी समितिका एक सदस्य रेशम चौधरी जेलमा छन्। उनी निलम्बित अवस्थामा छन्। उनको हस्ताक्षरलाई आयोगले गणना नगरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

सरकारले राजननीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नयाँ पार्टी दर्ता गर्न ठाकुर पक्षलाई कानुनी रूपमा बाटो खुला भएको हो। यसअघि आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर झन्डै दलविहीन अवस्थामा पुगेका थिए। सरकारले अध्यादेश नल्याएको भए ठाकुरले पार्टी फुटाएर नयाँ दर्ता गर्न सक्दैनथे। पार्टी फुटाउन उनको पक्षमा संघीय संसदीय दल र कार्याकारिणी समितिमा ४० प्रतिशत पुग्दैनथ्यो। 

 कानुनी रूपमा पार्टी फुटाउन नसक्ने भएपछि ठाकुर र उनी पक्षका नेताले आफूहरू जसपामै रहेको प्रतिक्रिया दिएका थिए। तर भित्रभित्रै उनीहरूले नयाँ पार्टीको अभ्यास गरेका थिए। सरकारले अध्यादेश ल्याएपछि भने नयाँ पार्टी गठन गर्न सजिलो भएको हो। आफू पक्षका सांसद र कार्यकारिणी सदस्यले कित्ता नफेरुन् भनेर ठाकुर र राजेन्द्र महतो उनीहरूसँग निरन्तर सम्पर्कमा थिए।

प्रकाशित: १० भाद्र २०७८ ००:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App