७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीलाई डा. कोइरालाको प्रश्नः यसरी हुन्छ सरकार सञ्चालन प्रभावकारी?

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार सञ्चालन प्रभावकारी नभएको भन्दै प्रश्न गरेका छन्।

काँग्रेसको कार्य समिति बैठकमा डा. कोइरालाले सरकार सञ्चालनमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीले पार्टीको काममा समय बिताएको भन्दै सो तरिकाले सरकार सञ्चालन नहुने बताउँदै प्रश्न गरेका हुन्। ‘शतप्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीजीले ७५ प्रतिशत समय पार्टीको काममा खर्च गरेका छन्’, उनले भने, ‘यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’

उनले विगत २ महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन भएकोमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरे। उनले फेरि उनलाई प्रश्न गरे, ‘यसले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ?’  

उनले अल्पमतमा रहेको कांग्रेससँग थुप्रै चुनौति रहेको बताउँदै ती चुनौतिलाई सामना गरी अघि बढ्ने योजना आवश्यक रहेकोमा जोड दिए। ‘यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति काँग्रेस पार्टीको प्रतिकूल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्नेछ। त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ,’ उनले भने।

उनले पार्टीमा देखिएका हरेक समस्यालाई पार्टी कार्यालयबाटै समाधान गर्नुपर्ने समेत बताए। उनले नेपाली काँग्रेसको अधिवेशनलाई नेतृत्व चयनको मात्र विषय नभएको जनाए। उनले काँग्रेसको महाधिवेशनले मुलुकको भविष्य कता कसरी जान्छ भनी निर्धारण गर्ने उल्लेख गर्दै काँग्रेसको १४औ महाधिवेशनको संघारमा पार्टीमा रहेको गुटलाई अन्त्य गरे मात्र जनताको विश्वास जित्न सकिने बताए।

प्रकाशित: २९ श्रावण २०७८ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App