४ वैशाख २०८१ मंगलबार
राजनीति

एक वडाध्यक्ष जसले जनतालाई खोप नलगाई आफू नलगाउने अडान राखे

सिन्धुलीको दुधौली नगरपालिका ११ का वडाअध्यक्ष कुमार लामा।

यहाँको एक वडाअध्यक्षले कोरोना विरुद्धको खोप लगाएका छैनन्। सरकारले जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाएपनि यहाँको दुधौली नगरपालिका ११ का वडाअध्यक्षले खोप लगाएका छैनन्।  

वडाअध्यक्ष कुमार लामाले जनताले नलगाई आफु खोप नलगाउने भन्दै हालसम्म खोप नलगाई बसेको त्यहाँको स्वास्थ्य चौकीले जनाएको छ। वडाका सम्पुर्ण जनताले खोप नलगाई आफु नलगाउने भन्दै खोप लगाउन मान्नु भएको छैन, दुधौली नगरपालिका ११ स्थित टाडी स्वास्थ्य चौकीका प्रमुख सन्तोष बुढाथोकीले भने, अन्य जनप्रतिनिधि शिक्षक कर्मचारी र ज्येष्ठनागरिकहरूले खोप लगाइरहेका छन्।  

सरकारले जनप्रतिनिधिलाई पहिलो प्राथमिकतामा राखेपनि आफूले जनतालाई पहिलो प्राथमिकतामा राखेकाले जनताले नलगाई आफु नलगाउने वडाअध्यक्ष लामाको भनाई छ। मैले चुनावमा भोट माग्दा रोगबाट पहिले म बच्छु, सुविधाको पहिलो उपभोग म गर्छु, मेरो स्वार्थ पुरा गर्छु मलाई भोट देउ भनेर मागेको होइन, उनले नागरिकसँग भने, हामी जनताको सेवक भएर काम गर्छौ, सबै क्षेत्रमा जनतालाई पहिलो प्राथमिकता राख्छौ भनेकाले मेरो वडाको सम्पुर्ण जनताले खोप नलगाई म लगाउदिन भनेको हु, लगाएको छैन।  

उनले नेता र जनप्रतिनिधिलाई महामारी लाग्ने र जनतालाई नलाग्ने भन्ने नहुने भएकाले आफू भन्दा पहिले जनतालाई लगाउनुपर्ने अडान राखेका छन्। अहिले धेरै जनप्रतिनिधिहरु कमाउ धन्दामा लागे स्वार्थ पुरा गर्न लागे भन्ने आरोप छ, तर म त्यस्तो होइन, छानबिन गर्न सक्ने कुरा छ, उनले भने, म जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु। उनले पहिले सबै जनतालाई खोप लगाएर सुरक्षित बनाएपछि आफुले लगाउने बताए। कोरोनाको महामारी फैलदो छ, जनता सुरक्षित भएनन्, र जनतानै रहेनन् भने, जनप्रतिनिधि भएको के नै अर्थ हुन्छ, र त्यसैले पहिलो प्राथमिकता जनतालाई दिन्छु, उनले थपे।

प्रकाशित: २८ श्रावण २०७८ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App