coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘मुलुकलाई बेहालबाट जोगाउन आत्मसमीक्षा गरौं’

 नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिगमन ल्याउने प्रमुख पात्र प्रधानमन्त्री केपी ओली भए पनि यो मुलुकको दुरावस्थाका निम्ती अन्य दलहरू पनि जिम्मेवार भएको बताएका छन्। 

राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, ‘प्रतिगमन ल्याउने प्रमुख पात्र केपी ओली भएको सत्य हो तर यो कुरा पनि आत्मसात गर्न जरुरी छ,’। उनले अन्य दलका नेतालाई पनि देखाउँदै भने, ‘यो मुलुकको दुरावस्थाका निम्ती बेहालका निम्ती त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (ओली) जिम्मेवार हुनुहुन्थेन, सबै राजनीतिक पार्टीहरू नेताहरू, यसअगाडि विभिन्न ढंगले सरकार चलाउनेहरू पनि एक वा अर्को रूपमा एउटा वा अर्को हदसम्म जिम्मेवार थिए। आज हामीले त्यो कुराको पनि आत्मसमीक्षा गर्नुपर्दछ। आफूलाई सच्याउन हामी तयार हुनुपर्दछ।’ नेपाली जनताले दिएको निर्देश बमोजिम नेताले र सरकारले आफूलाई बदल्नु पर्ने उनको भनाइ छ । तर संसद् विघटनका विरोधसभामा भने उनले प्रतिगमन केपी ओलीकै कारण आएको बताउँदै आएका थिए।  

हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानमाथि र आन्तरिक मामिलामा हस्तक्षेप भइरहेको छ भन्दै उनले नेपाली नेताले पनि विदेशी हस्तक्षेप भित्र्याउने गरेको उनले बताए । विदेशी सबै प्रवृत्ति प्रति सचेत रहँदै अघि बढ्नु पर्ने उनले बताए। उनले अहिले सबैलाई खोपको व्यवस्था, बाढी पीडितलाई राहत दिने व्यवस्था गर्न, उद्योग शिथिल भएको छ त्यसमा राहत दिने व्यवस्था गर्नुपर्ने बताए। यसैगरी, श्रेष्ठले दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटिदिएर अहिलेसम्म पनि बेपत्ता भएको स्थिति रहेकाले दोषी व्यक्तिहरूमाथि तत्काल कारबाही गर्नुपर्ने बताए।

‘अबका दिनमा यस प्रकारका हेपाहा उत्पीडनकारी व्यवहार नदोहोर्‍याउन पनि म जोडदार माग गर्न चाहन्छु,’ उनले भने। यसका लागि भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने पनि उनले बताए । यस सन्दर्भमा नेपाल सरकारले छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा यो समस्याको संवादद्वारा समाधान गर्नुपर्ने उनको भनाइ थियो। एमाले सचेतक खिमलाल भट्टराईले केपी ओली सरकारका पालामा समातिएका अपराधी छुटाउने काम यो सरकारले गर्न नहुने बताए। उनले जयसिंह धामीलाई बेपत्ता बनाएको घटनामा भारतीय सुरक्षा बलको संलग्नता रहेकाले भारतीय पक्षसँग छलफल गर्नुपर्ने बताए। यसबारे राजदूतलाई बोलाएर सोध्नुपर्ने उनको भनाइ थियो । यसघटनाका दोषीलाई कारबाही र परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने उनले बताए। यो सरकारले संसद्लाई विजनेस दिन सकेको छैन भन्दै बिजनेस दिन माग गरे। नागरिकता कानुन अझै बन्न सकेको छैन। उमेर पुगेका नागरिक नागरिकता पाउनबाट बञ्चित रहेको उनले बताए। उनले भने, ‘परमादेश सरकारका जनविरोधी हर्कतमा एकताबद्ध हुन सबैलाई आग्रह गर्दछु।’  

कांग्रेस सांसद अनिता देवकोटाले पनि दार्चुलाको घटनाको विषयमा सत्य तथ्यको प्रतिवेदन आउने सरकारले बताए पनि जयसिंह धामीको घटनाको भारतसँग संवाद गर्नुपर्ने बताइन्। उनले पीडित परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था र दोषीलाई कानुनी कारबाही गर्न पनि माग गरिन्। यससँगै महाकालीमा तुइनको अन्त्य गर्नुपर्ने पनि उनले बताइन्। उनले कोभिडको फेरि बढ्दो संक्रमणको सबै खालको संयन्त्र निर्माण गरेर महामारीसँग जुध्न सक्ने सुनिश्चितता गर्न सरकारसँग माग गरिन्। स्थानीय निकायका वडाअध्यक्षले जाजरकोटमा एक युवकलाई कुटपिट गरेकाले वडाध्यक्षलाई कानुनी कारबाही गर्नुपर्ने उनले बताइन्।

प्रकाशित: २१ श्रावण २०७८ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App