८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसी शक्तिमा जुट-फुटको राजनीति: मधेसी दलमा फुटसँगै फाट्यो मधेसी मन

मधेससँग घनिष्ठ नाता–सम्बन्ध भन्न रुचाउने दलहरू सत्तासँगको संघर्षकालमा ऐक्यबद्ध हुने तर सत्ताको समिप पर्नासाथ विभाजित हुने राजनीति पुरानै हो। संगठित भएको एक वर्षमै जनता समाजवादी पार्टी (जसपा) अग्रगामी सत्ता र प्रतिगामी सत्तालाई सरकारमा अड्याउन विभाजित भएका छन्।

सोमबार निर्वाचन आयोगमा जसपाको आधिकारिकता दाबी गर्ने उपेन्द्र यादव पक्षमा ३४ र महन्थ ठाकुर पक्षमा १६ कार्यकारिणी सदस्यको मत विभाजन भएको छ। यससँगै जसपाको आधिकारिता अध्यक्ष उपेन्द्र यादवले पाएको छ। महन्थ ठाकुर पक्षसँग अब दुई विकल्प बाँकी छ। उपेन्द्र यादवको नेतृत्व स्वीकारेर जसपामै बस्ने अर्को नयाँ दल खोल्ने। दुई चिरामा विभाजन भएपछि मधेसी जनमा निराशा छाएको छ। राजनीतिज्ञ खुशीलाल मण्डलको विश्लेषणमा जसपालाई विभाजनको संघारमा पुर्‍याउने कदम माझिएका नेता महन्थ ठाकुरबाटै सुरुवात भयो। केपी ओली नेतृत्वको अल्पमत सरकारको टेको नबनिदिएको भए जसपा यसरी विभाजन हुँदैन्थ्यो उनको तर्क छ।  

‘पार्टीको औपचारिक निर्णयविपरीत ओली नेतृत्वको सरकारमा जाने महन्थ ठाकुरको निर्णय नै जसपामा फुटको बिजारोपण गरिदियो,’ राजनीतिज्ञ मण्डल भन्छन्, ‘पार्टीलाई चिरा पारेर ओली सरकारको टेको बन्न पुगेकाहरू कहीँको रहेनन्। न ओली सरकार रह्यो न उनलाई टिकाउन पुगेका टेकोहरू नै,’ राजनीतिज्ञ मण्डलले टिप्पणी गरे। ‘ठाकुरजी जस्तो खरिएको नेता न मधेस मुद्दाको पक्षमा उभिन सक्नु भयो न ओली सरकारलाई नै टिकाइराख्न सके,’ उनी भन्छन्, ‘उनको एक गलत निर्णयले कैयौं होनहार युवा नेताहरू राजनीति भविष्यलाई तकमा राख्न बाध्य भएका छन्।’

जसपाभित्र परेको चिराले नेताको मात्र नभई मधेसको मन पनि फाटेको छ। मधेसले चाहेको बलियो, कसिलो मधेसी शक्ति हो। ‘उनीहरू मिल्दा मधेसको मतको वजन पनि बढ्छ,’ राजनीतिज्ञ मण्डल भन्छन्, ‘०७२ को निर्वाचनमा सहकार्य गर्दा मधेसको मतको भार संघीय समाजवादी र राजपा पक्षमा परेको थियो। जसका कारण यी दुई दलले प्रदेश २ अर्थात् कोर मधेसमा सरकार बनाउन सफल भएका थिए। र, मतकै मागअनुसार पछि दुवै दल एकीकरण हुन पनि बाध्य भएका थिए।’

जसपा फुटेपछि मधेसको मत पनि बाँडिन्छ। मण्डल भन्छन्, ‘०६४ देखि ०७२ सालसम्मको निर्वाचनमा मधेसी दललाई परेको मतलाई मूल्यांकन गर्दा हुन्छ। पहिलो संविधानसभामा मधेसी एक ढिक्का हुँदा मधेसभरि जितको झन्डा फहराएको मधेसी जनअधिकार फोरम चिरा पर्दा दोस्रो संविधानसभा निर्वाचनमा अखाडामै नराम्ररी पछारिएको थियो। अब आउने निर्वाचनमा पनि असर देखिने निश्चित छ।’

मधेसी शक्तिमा जुट–फुट

मधेसी शक्ति भनेर लोकप्रीय जनता समाजवादी पार्टी(जसपा) आफूलाई राष्ट्रिय पार्टी भनेपनि यसको जनाधार र तागत मधेस नै हो। मधेसी शक्ति संगठित हुँदा मधेसको मनमा भरोसाको पालुवा पलाउँछ। शक्ति विभाजित हुँदा मधेसको मन फाट्छ। सोमबारको विभाजनले मधेसको मन फेरी फाटेको छ। फेरी यसकारण कि मधेसी शक्तिमा फुट नयाँ होइन, यसअघि पनि पटक–पटक भएका छन्। मधेसमा रंगभेदको अन्त्य गर्न २००८ सालमा कुलानन्द झा नेतृत्वको तराई कांग्रेस २०१५ को पहिलो संसदीय निर्वाचनपछि विभाजित भए। त्यसपछि २०४० सालमा हर्क गुरुङ नेतृत्वको ‘बसाइसराइँ अध्ययन कार्यसमूह’ को प्रतिवेदनको विरोध गर्ने गजेन्द्रनारायण सिहंले सद्भावना परिषद् गठन गरे।  

बहुदल आएलगत्तै २०४७ वैशाखमा सिंहले सद्भावना पार्टी गठन गरे। पहिलो आम निर्वाचनमै सिंह नेतृत्वको सद्भावना पार्टीले संघीयताको नारा बुलन्द गर्यो। पछि सद्भावना पनि विभाजनको सिकार भएर टुक्राटुक्रामा छरिए। मधेसको मुद्दा बोकेर नेता बन्ने सत्तामा पुगेपछि मुद्दा बिसाउने क्रम चलिरह्यो। जसका कारण मधेसी जनमा आक्रोश र असन्तुष्टिको आकार बढ्दै थियो। जसलाई क्यास गर्न उपेन्द्र यादवले मधेस जनअधिकार फोरम खोले। संघीयता र रंगभेदको अन्तको मुद्द बोकेका यादव २०६३ माघ १ मा जारी अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि माइतीघरमा संविधानको प्रतिलिपि जलाए। उनी पक्राउ परेपछि मधेसमा आन्दोलन उठ्यो। आन्दोलन व्यापक बनेपछि मधेसी जनअधिकार फोरम, उपेन्द्र यादव र मधेसको पहिचान स्थापित भयो। मधेसी जनअधिकार फोरम दलका रूपमा २०६४ वैशाखमा निर्वाचन आयोगमा दर्ता भयो। पहिलो संविधानसभा निर्वाचन ०६४ मा फोरमले ५२ सिट जित्यो।

महन्थ ठाकुरको नेतृत्वमा हृदयेश त्रिपाठी, महेन्द्र राय यादव, रामचन्द्र राय, वृशेषचन्द्र लाल, रामचन्द्र कुशवाह, अनिश अन्सारीलगायतका नेताहरूले २०६४ पुस १३ गते तराई –मधेस लोकतान्त्रिक पार्टी गठन गरेर संविधानसभा निर्वाचनमा भाग लिए। यो दलले ११ सिट जितेको थियो। संविधानसभाको पहिलो निर्वाचनपछि पुष्पकमल दहाल नेतृत्वको सरकारमा बलियो उपस्थित दर्ज गरेको फोरममा दरार पर्न धेरै समय लागेन। भाग्यनाथ गुप्ताले २०६४ भदौ १५ गते फोरम फुटाएर मधेसी जनअधिकार फोरम, मधेस गठन गरे। त्यसपछि त फोरममा पहिरो जान सुरु भयो। अमर यादवले २०६५ चैत ७ गते विभाजन गरेर मधेस तराई फोरम गठन गरे।  

दाहालपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारमा जाने विषयमा विवाद भएपछि संसदीय दलका नेता विजयकुमार गच्छदारले २८ सभासद्को साथ लिएर २०६६ जेठमा पार्टी फुटाए। उनले अर्का नेता शरतसिंह भण्डारीको साथमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रित्रक) गठन गरे। फोरम फुटाएका गच्छदारको फोरम लोकतान्त्रिक पार्टी पनि धेरै समय सग्लो रहन सकेन। भण्डारीले २०६९ असारमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका थिए। फोरम लोकतान्त्रिक विभाजन गरी संजयकुमार साहले २०६७ पुस ६ गत्ते मधेस क्रान्ति फोरम गठन गरेका थिए। ०६८ माघ ६ गत्ते उपेन्द्र झाले नागरिक रक्षा दल गठन गरेका थिए।

२०६८ जेठ ९ गते जयप्रकाश गुप्ताले फोरमका राजकिशोर यादवसहित १३ सभासद्सहित मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी गठन गरे। बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत गुप्ता सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल पुगेपछि कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पार्टी नेतृत्व गरे। फोरम गणतान्त्रिकका नन्दकुमार दत्तले ०६९ पुस ११ गते उही नामको अर्को पार्टी गठन गरे। फुटको पहिरो फोरममा मात्र सिमित रहेन। महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पनि ०६७ पुस १६ बाट सुरु भयो। तमोलोपाका तत्कालिन महामन्त्री महेन्द्र राय यादवले २०६७ पुस १६ मा तमलोपा–नेपाल गठन गरे।

महतो नेतत्वको सद्भावनाका नेता रामनरेश राय यादवले विभाजन गरी २०६८ माघमा रामनरेश यादवले ‘राष्ट्रिय सद्भावना पार्टी’ गठन गरे। रामनरेशको राष्ट्रिय सद्भावना पार्टी र तमलोपा विभाजन गरी बनेको महेन्द्र राय यादवको ‘तमलोपा–नेपाल’बीच २०७० भदौ १९ मा एकीकरण भएर तराई मधेस सद्भावना नेपाल बन्यो र अध्यक्ष बने महेन्द्र राय यादव। ०७४ वैशाखमा ६ वटा मधेस केन्द्रित दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी गठन भयो। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), शरतसिंह भण्डारीको राष्ट्रिय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण भएर राजपा बन्यो।

२०७६ वैशाखमा संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भएर समाजवादी पार्टी बन्यो। ०७७ वैशाख १० गत्ते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी (जसपा) बन्यो। बलियो मधेसी शक्तिको रूपमा जनता समाजवादी पार्टी बनेसँग मधेसीको चेहरा खुसीले भरिएका थिए। जनकपुरका प्राध्यापक भोगेन्द्र झा भन्छन्, ‘जसरी मधेसी शक्तिको संगठित स्वरूप जसपाको निर्माणले मधेसको मन खुसीले भरिएको थियो त्यसरी नै आज मन फाटेको छ।’ मधेसको शक्ति कमजोर हुँदा केवल मधेसी दल वा नेतालाई मात्र होइन मधेस मुद्दालाई समेत कमजोर बनाउँछ, उनले भने। साथ हुँदामा जति शक्ति हुन्छ अलग हुँदा त्यति नै कमजोर उनी भन्छन्, ‘मधेसमा उनीहरूले आफ्नो तागत आफ्नै कारण कमजोर बनाउन पुगेको छ।’

प्रकाशित: १२ श्रावण २०७८ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App