coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोस्रो पटकको पुनःस्थापनापछि संसदीय समितिहरू सक्रिय

प्रतिनिधिसभा पहिलोपटकको पुनःस्थापनामा खासै उत्साह नदेखाएका संसदीय समितिहरू दोस्रोपटकको संसद पुनःस्थापना पछि भने निकै सक्रिय देखिएका छन्। पहिलोपटक पुनःस्थापना हुँदा प्रतिनिधिसभाका मात्र नभई राष्ट्रियसभाका समिति पनि निस्क्रिय थिए। तर, दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना हुँदा प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरू सक्रिय भएका छन्।  

प्रधानमन्त्री केपी ओलीसँग मात्र नभई मन्त्रीहरूसँग पनि संसदीय समितिहरू डराएका कारण यस्तो अवस्था आएको कतिपयको बुझाइ छ। संसदीय समितिका एक सभापतिले भने सरकारले समितिमा सहयोग नै नगर्दा यो समस्या आएको हो। प्रधानमन्त्री र मन्त्रीलाई बोलाउँदा समितिमा नआएपछि समितिले कसरी निर्देशन दिने समस्या परिरहेको थियो ती सभापतिले गुनासो गरे। अहिले सरकार फेरिएको छ। ‘नयाँ सरकारको कामबारे समितिले नयाँ रूपमा जान्न खोज्ने नै भयो त्यसैले बैठक बस्न जाँगर पनि चलेको छ,’ उनले भने।  

पहिलो प्रतिनिधिसभा पुनःस्थापना हुँदा शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले भनेकी थिइन्, ‘हामीले विगतमा कति निर्देशन दियौं कहिल्यै कार्यन्वयन भएन, त्यसैले बैठक बस्न पनि जाँगर लाग्दैन।’ माओवादी केन्द्रले पुनःस्थापना भएको प्रतिनिधिसभा फेरि विघटन हुन्छ कि भनेर ओलीलाई दिएको समर्थन पनि फिर्ता लिएको थिएन। जसबाट फेरि पनि विघटन हुन्छ कि भन्ने असर संसदीय समितिमा परेको थियो।  

यतिबेला संसदीय समितिहरूले लगातार बैठकहरू राखिरहेका छन्। संसदीय समितिहरूमा सांसदहरूको भरिभराउ त छैन तर समितिमा आउने सांसदहरूले नयाँ निर्वाचन भएर आउने सांसद जस्तै उत्साहित भने देखिएका छन्। राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी भन्छन्, ‘अब संसद् पूरा कार्यकाल हुन्छ भनेर सबै विश्वस्त छन् त्यसैले सबै समिति उत्साहित भएका हुन्। अघिल्लो सरकारले विजनेश दिएको थिएन नयाँ सरकारले विजनेश दिन्छ भन्ने भएका कारणले पनि होला अब समितिहरू निरन्तर बस्ने मैले देखेको छु।’  

आफ्नो समितिले पनि सोमबार कृषि सचिवलाई कृषिमा अनुदानको विषयमा कानुन बनाउन निर्देशन दिएको र अर्को वैदेशिक लगानी कृषिमा भिœयाउने बारेमा उद्योग वाणिज्य संघसँग छलफल गर्ने तयारी गरेको उनले बताए। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मंगलबार प्रतिलिपि अधिकारसम्बन्धी विषयमा छलफल गरेको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार कोभिड नयाँ भेरियन्टको बारेमा कसरी सतर्क रहनेबारे विज्ञसँग छलफल गरेको थियो। कानुन तथा मानव अधिकार समितिले पनि समसामियक विषयमा छलफल गरेको थियो।  

प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक पनि मंगलबार बस्दैछन्। दुवै सभामा विशेष समय दिने तयारी गरिएको छ। सांसदहरू विभिन्न समसामयिक विषय उठाउने तयारी गरिरहेका छन्। कांग्रेस र माओवादी केन्द्रका सांसदहरू भने मन्त्रीको दौडमा रहेको सांसदहरूले नै बताउने गरेका छन्।  एमालेले भने सशक्त प्रतिपक्षको भूमिका निभाउने गरी तयारी गरिरहेको छ। देशका विभिन्न समस्यालाई क्रमिक रूपमा उठाउनका लागि एमाले भित्रका सांसदहरू अन्तरक्रिया गरिरहेको स्रोतले बताएको छ।  

संसद् सचिवालयले पनि मन्त्रीहरूको संघीय संसद्मा उपस्थित हुने दिनको तालिका बनाएको छ। जसमा आइतबार र मंगलबार बिहीबार गृहमन्त्री र अर्थमन्त्री, सोमबार र बुधबार शुक्रबार कानुनमन्त्री र उर्जामन्त्री उपस्थित हुने तालिका बनाएको सचिवालय स्रोतल बताएको छ। मन्त्रिपरिषद् विस्तार भएपछि कार्यतालिकामा थप गरिँदै जाने सचिवालयले जनाएको छ।  

संसद्मा बजेटलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मा सभामुखसँग छलफल गर्न मंगलबार संसद् सचिवालय पुगेका थिए। गत वर्षको असार १८ गते अकस्मात अन्त्य भएको बर्खे अधिवेशन हिउँदे अधिवेन बस्ने बेलामा पुस ५ गते विघटन भएको थियो। सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि फागुन २३ गतेदेखि प्रतिनिधिसभाका बैठक बसेका थिए।

प्रकाशित: १२ श्रावण २०७८ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App