७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा खारेजीः कसलाई नाफा, कसलाई घाटा?

एमालेको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपनि आफ्नै गृह जिल्लाका शंकर पोख्रेल पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग निकट बन्न थालेपछि पार्टीमा युवराज ज्ञवालीको भूमिका कमजोर बन्दै जान थाल्यो। त्यसोत, गृह जिल्ला दाङ भएका यि दुई नेता बीचको प्रतिष्पर्धात्मक राजनीतिक इतिहास निकै लामो पनि छ।

नेकपा एमालेको पछिल्लो महाधिवेशनमा पदाधिकारीका उम्मेदवार बनेर प्रतिष्पर्धामा आए युवराज र शंकर। युवराज माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष पदका उम्मेदवार थिए भने शंकर केपी शर्मा ओली समूहका उपमहासचिवका उम्मेदवार।

एमालेको केन्द्रीय पदाधिकारी बन्ने दौडमा ज्ञवाली सफल भए भने शंकर बिफल भए। उपमहासचिवका आकांक्षी शंकर केन्द्रीय सदस्यमा खुम्चिन पुगे। तथापी शंकर, ओलीको विश्वासपात्र बन्दै गए र एमालेको केन्द्रीय राजनीतिमा प्रभाव विहिनताको अवस्थामा भने पुगेनन्। गत प्रदेशसभा निर्वाचनमा विजयी शंकरको ‘ओली सामिप्यता’ फलदायी बनिदियो। उनी प्रदेश मुख्यमन्त्री बने। उता एमालेको उपाध्यक्षमा निर्वाचित ज्ञवाली भने कम्युनिष्ट राजनीतिमा गुमनाम जस्तै बनेर बस्नु पर्यो।  

कारण थियो, तत्कालीन एमाले र माओवादी बीचको एकता। यो एकताले ज्ञवालीको उपाध्यक्ष पद गुमाईदियो। यो एकता युवराज ज्ञवालीको ब्यक्तिगत राजनीतिक करिअरमा भने ठूलो नोक्सानी बन्यो। ‘पार्टी राजनीतिमा पनि उहाँलाई पारिएन, तर शंकर जि पार्टी राजनीतिसंगै प्रदेश सरकारको मुख्यमन्त्री बन्नु भयो,’ एमालेका प्रतिनिधिसभा सदस्य मेटमणी भन्छन्, ‘यसर्थ ज्ञवालीको प्रभाव कहिँकतै रहन पाएन, तर पोख्रेललाई मिलेको जिम्मेवारीले सकृय हुने ठूलो अवसर दियो।’

आफूलाई भूमिका विहीनताको जस्तै अवस्थामा पुर्याईदिएको नेकपा एकता भंग गर्ने सर्वोच्चको फैसलाले युवराजलाई पुनः एमालेको केन्द्रीय राजनीतिमा प्रभाव राख्न सक्ने हैसियतामा फर्काईदिएको छ। सर्वोच्चको फैसला पछि उनी एमालेको उपाध्यक्षमा कायम भएका छन्। हाल माधवकुमार नेपाल समूहका ज्ञवाली दाङका यो समूहका एक्ला हेभिवेट नेता कहलिएका छन्। अतः ज्ञवालीका लागि नेकपा खारेजी उनको ब्यक्तिगत राजनीतिक करिअरका लागि फलदायी साबित बनेको छ।

नेकपा विभाजनपछि आफूलाई राजनीतिमा पुनरागमन गराउन पाउने अर्का हेभिवेट नेता हुन् माओवादी केन्द्रका कृष्णबहादुर महरा। दाङ क्षेत्र नम्बर २ बाट एमाले, माओवादीको गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णबहादुर महरा सभामुखको उच्च ओहदामा पुगेपनि उनलाई ठूलो हानी भयो। संसद सचिवालयकै एक कर्मचारीलाई यौन दुराचार गरेको आरोप लागेपछि उनको सभामुख यात्रामा पूर्ण बिराम लाग्यो। त्यो बेला दाङ आएका तत्कालीन नेकपाका अध्यक्ष (हालका माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहालले महरालाई नै दोषी देखाएका थिए। उक्त घटनाबारे आफूलाई महराले ढाँटेको आक्रोश दाहालमा देखिन्थ्यो। उनीप्रति प्रतिशोध नै साँधे जसरी दाहालले जिल्लाका पत्रकारहरुसंग भनेका थिए, ‘सुरुमा उहाँले मलाई पनि ढाँट्नु भयो, फलतः उहाँलाई कारबाही हुनै पर्छ।’

दाहालको यो भनाईलाई उनको रामबहादुर थापासंगको निकटताको उपजका रुपमा लिईएको थियो। दाहाल थापालाई आफ्नो पक्षमा राखेर महरालाई टाढा राख्न खोजेको बिश्लेषण माओवादी कित्तामा भएको थियो। तर उनै थापाले दाहाललाई छोडेर एमाले रोजे। फलतः दाहालका अबका बिश्वास पात्रका रुपमा पुनः उनै महरा भित्रिन सक्ने लख काटिएको छ। त्यसोत, बादलसहितको समूह पाखा लागेपछि त्यो हैसियताका नेताहरुको संख्या दाहालसंग त्यति छैन। यसैले पनि त्यो हैसियताका नेताका रुपमा महरा दाहालको नजरमा स्वाभाविकै रुपमा पर्ने देखिन्छ।  

‘उच्च हैसियताका नेताहरु अब अध्यक्षको नजरमा को त? ’ माओवादी केन्द्रका एक नेताले भने, ‘स्वाभाविकै रुपमा महरा जतिको नेतालाई अध्यक्ष दाहालले पाखा लगाउने कुरै हुँदैन।’ नेकपा विभाजनले महरालाई आफू माथि लागेको दाग मेटाउने अवसर दिएको छ। माओवादी केन्द्रको सकृय राजनीतिमा रहेर पुनः जनतासामु जाने मौका मिलेको भन्दै माओवादी केन्द्रका एक नेताले भने, ‘उहाँका लागि यो ठूलो अवसर हो, उहाँले यो अवसरलाई सही सदुपयोग गर्नु हुने छ, यसमा कुनै शंका छैन।’

प्रतिनिधिसभामा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा आगामी निर्वाचनमा पनि दाङबाटै निर्वाचन लड्न सक्ने बाटो खुलेको छ। नेकपा छँदा आफू माथि लागेको दाग र शंकर पोख्रेलको पार्टी भित्रको उँचो हैसियतका कारण महराको राजनीतिक करिअर सकिएको बिश्लेषण भैरहेको थियो।

महरा प्रतिनिधिसभामा निर्वाचित हुँदा महरासंगै एकै क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका शंकर पोख्रेल मुख्यमन्त्री चुनिए। तर उनको प्रभाव प्रदेशमा भन्दा केन्द्रमै बढिदेखिन थाल्यो। तत्कालीन नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक सल्लाहकारका रुपमा आफूलाई केन्द्रमा स्थापित गराएका पोख्रेल प्रदेशमा भने कमजोर बन्दै जान थाले। सर्वोच्चले नेकपा नै खारेज गरिदिएपछि शंकरलाई आफ्नै पद असुरक्षाको खतरा चुलियो। नेकपा खारेजी पछि आफ्नै पार्टी अनौपचारिक रुपमा चोईटिनु शंकरका लागि झन् ठूलो घाटा बन्न पुगेको छ।

नेकपा विभाजनले संकटमा परेका शंकरको उदाहरण गत वैशाख १९ थियो। मुख्यमन्त्रीबाट राजीनामा दिएका पोख्रेलले पुनः आफ्नो मुख्यमन्त्री पद कायम राख्नका लागि केही प्रदेश सांसदहरुको ‘फर्जी’ नाम र हस्ताक्षर बुझाउनु पर्यो।

उनकै गृह जिल्लाका उनकै पार्टीका दुई सांसदले साथ छोड्नु शंकरका लागि नेकपा खारेजी ठूलो घाटा बन्यो। नेकपाबाट उपनिर्वाचनमा बिजयी भएकी दाङकी बिमला ओलीले नेकपा खारेजी पछि नेकपा रोजिन्। यसैगरि दाङकै अमरबहादुर डाँगीले शंकरकै भूमिका प्रति असन्तुष्टि जनाउँदै सांसद पदबाटै राजीनामा दिए। यि दुईको निर्णयले शंकरलाई सत्ता टिकाउन धौ धौ परिरहेको छ। अल्पमतका कारण धर्मराएको मुख्यमन्त्री पदमा आसिन शंकरको आगामी राजनीतिक करिअरलाई समेत नेकपा खारेजीले ठूलो धक्का दिने बिश्लेषण गर्न थालिएको छ। जिल्लामा ओली समूहका उनी अब एक्ला हेभिवेट नेता हुन्।  

उनकै जिल्लाका दुई सांसदले गरेको ठूलो धोकाले आगामी निर्वाचनमा उनको हैसियत के हुने? भन्ने प्रश्न उनी माथि उठ्न थालेका छन्। ‘शक्तिशाली देखिएको कांग्रेस, अनि माओवादी केन्द्रका कृष्णबहादुर महरासंग भिड्नका लागि अब उनाई त्यति सजिलो हुनेदेखिन्न,’ नेकपा एमालेका माधव समूहका एक नेताले भने, ‘नेकपा खारेजीको असर उहाँलाई अहिले मात्रै हैन, आगामी चुनाव सम्मै पर्ने देखिन्छ।’  

त्यसोत, आफ्ना पुराना प्रतिष्पर्धी युवराज ज्ञवालीको शक्तिशाली पुनरागमनले पनि शंकरलाई थप संकट पार्ने देखिन्छ। केपी ओलीसंगको शंकरको सामिप्यताकै कारण ओझेलमा परेका युवराजले यो असरलाई भुल्न नसक्ने नेताहरु बताउँछन्। त्यसोत, नेकपा एमाले एकता हुन नसके शंकरका लागि ठूलो प्रतिष्पर्धी समूह एमालेकै माधवकुमार नेपाल समूह बन्ने छ।  

अत्यन्त निकट रहेका अध्यक्ष ओलीको सत्ताच्यूतले पनि पोख्रेललाई थप संकट गहिराईदिएको छ। आगामी निर्वाचनसम्मै ओली नेतृत्वको सरकार चल्नु पर्छ भन्ने मान्यताका धारणा राख्दै आएका शंकरको यो धारणाको एउटा उद्देश्य आफ्नो आगामी राजनीतिक यात्रा पनि थियो। निर्वाचनसम्मै सरकार चल्न सकेको भए चुनावी परिणाम आफ्नो पक्षमा सहजै पर्न सक्ने बुझेका शंकरको यो अभिलाषा माथि सर्वोच्चले अंकुश लगाईदियो।  

नेकपा खारेजी पछि शंकरले ब्यक्तिगत रुपमा घाटा बेहोरिरहँदा यसको फाईदा प्रतिनिधिसभा सदस्इ मटमणि चौधरीलाई पर्न गएको छ। लामो समयदेखि मेटमणि शंकरको ईतर रहे। एमाले राजनीतिमा एकल निर्णय गरेर पारिवारिक विरासत कायम गर्न खोज्ने शंकरको यो भूमिकादेखि मेटमणि असन्तुष्ट रहँदै आएका थिए। फलतः उनले शंकरको आलोचना जहिल्यै गर्दै आए। शंकर अप्ठ्यारोमा परिरहँदा त्यसको फाईदा आफूलाई परेको मेटमणिको बिश्वास छ।  

शंकर पोख्रेलको दबदबाका कारण एमालेमा आफ्नो राजनीति उकासिन नसकेको महसुस गरेका मेटमणि अब माधवकुमार नेपाल समूहबाट शंकरलाई टक्कर दिने हैसियतमा पुगेका छन्। नेपाल समूह सरकारमा सहभागी भए उनी मन्त्री बन्ने चर्चा छ। यो समूह सरकारमा सहभागी भए र आफू मन्त्री बने शंकरको हैसियत बराबर आफ्नो हैसियत कायम हुनेमा उनी बिश्वस्त छन्। ‘शंकर जिको एकल राज तोडिएको छ,’ मेटमणि भन्छन्, ‘जहिल्यै उहाँले आफूलाई शक्ति केन्द्रमा राख्न खोज्नु भयो, त्यो अब चल्ने देखिएन।’

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी पनि शंकरदेखि टाढिए। उनी नेपाल समूहमा छन्। यति मात्रै हैन, आफ्नो क्षेत्रमा उनी अब नेपाल समूहका एक्ला हिरो समेत हुन्। उही क्षेत्रका एमालेका पुराना नेताहरु छबीलाल ओली, शोभाराम बस्नेतलाई सरकारी नियुक्ति दिलाएका शंकरको यो निर्णयले पुराना नेताहरुलाई पाखा लगायो। अग्रजहरु फरक समूहमा रहेपछि उक्त क्षेत्रको माधव समूहको नेता उनै मात्रै हुन्। उनलाई पश्चिम क्षेत्रको एमाले राजनीतिमा टक्कर दिँदै आएका नेता उत्तरकुमार ओलीको निधन भैसकेको छ। प्रदेशसभा सदस्य ओलीको निधन पश्चात भएको उपनिर्वाचनबाट निर्वाचित ओली पत्नी माओवादी केन्द्रमा प्रवेश गरेपछि हिराचन्द्रलाई एक्लो नेता बन्ने बाटो झनै सहज बनिदिएको छ।

प्रकाशित: ११ श्रावण २०७८ १५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App