६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस महाधिवेशन: पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

जिल्लाका विद्यार्थी नेता टोपबहादुर बुढाथोकी नेपाल विद्यार्थी संघको उपाध्यक्ष बनेको ७ वर्ष पुग्नै थाल्यो। कांग्रेसको विधानअनुसार उनी चुनिएको दुई वर्षमै उनको कार्यकाल सकिनुपर्थ्यो। तर नेवि संघको जिल्ला अधिवेशन नहुँदा उनी ७ वर्षसम्म नेवि संघको उपाध्यक्षमै सीमित बन्न पुगे। नेवि संघमा रहेर थप राजनीति गर्नका लागि उनलाई उमेर हदबन्दीले अब दिन्न । ३२ वर्ष उमेर समूहका मात्रै नेवि संघको राजनीतिमा रहन पाउने कांग्रेसको विधानअनुसार अब उनी स्वतः बिदा हुनुपर्छ।  

सात वर्षसम्म नेविसंघको उपाध्यक्षमा रहेर जिम्मेवारी बहन गरेका बुढाथोकीको राजनीति अब पार्टीतर्फ सोझिएको छ। पार्टीको महाधिवेशनको मुखैमा वडा तहमा सक्रिय बुढाथोकी क्षेत्रीय प्रतिनिधिका लागि माहोल निर्माण गरिरहेका छन्। अब उनले कांग्रेसको जिल्ला सदस्य पदको आकांक्षा राखेका छन्। ‘झण्डै सात वर्षसम्म रहेर नेवि संघको उपाध्यक्षको जिम्मेवारी लिएँ, अब मलाई नेवि संघको राजनीति गर्न उमेर हदबन्दीले पनि दिन्न,’ उनले भने,‘अब वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिएर कांग्रेसको जिल्ला सदस्य बन्ने लक्ष्यमा उत्रिएको छु।’

कांग्रेसको युवा संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती पनि पार्टीको क्षेत्रीय राजनीति गर्ने योजनामा छन्। लामो समयसम्मको तरुण दलको अध्यक्षको जिम्मेवारीपश्चात उनको आगामी यात्रा पनि स्वाभाविकै रूपमा अब पार्टी राजनीति नै हो। उनले भने, ‘क्षेत्रीय सभापतिका लागि तयारी गरिरहेको छु, तर सबै साथी, अग्रजहरूसँगको सल्लाहबमोजिम क्षेत्रीय सभापतिमा लड्ने या नलड्ने भन्ने निर्णयमा पुग्नेछु ।’ उनको पनि क्षेत्रीय प्रतिनिधि चुनिने एक मात्रै योजना छ।  

मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले जिल्लाका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ।  

नेवि संघका कुलराज पोखरेल महेन्द्र बहुमुखी क्याम्पसको एकाइ सचिव हुन्। जिल्लामा हुने नेविसंघका हरेक कार्यक्रममा अग्रणी भूमिकामा रहँदै आएका उनको पनि पदीय हैसियत सात वर्षसम्म एउटै रह्यो–नेवि संघ क्याम्पस एकाइ सचिव। उनी भन्छन्, ‘नेवि संघकै उपल्लो तहमा रहेर राजनीति गर्ने सोच भए पनि सात वर्षसम्म मेरो योजना सफल भएन।’ स्वाभाविकै रूपमा उनको ध्यान पनि अब पार्टीको महाधिवेशनतिर तानिएको छ। वडा तहको नेतृत्व वा क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा लाग्ने मनसाय उनले बनाएका छन्। तर उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत सोंच हो, अग्रजको सल्लाहबमोजिम अगाडि बढ्ने छु, तर मेरा समकालीन साथीहरूले पार्टीको उपल्लो राजनीतिको तयारी गरिरहँदा म पनि त्यसप्रति इच्छुक हुनु स्वाभाविकै हो।’

कुलराजले भने जस्तै प्रत्येक २/२ वर्षसम्म हुन नसकेको नेवि संघको अधिवेशन जिल्लामा सात वर्ष पुग्नै लाग्दा पनि हुन सकेन। नेवि संघका नेताहरूका अनुसार नेवि संघको जिल्ला अधिवेशन नभएको आगामी असोजमा ७ बर्ष पुग्छ। यो अवधिमा एकाइ वा जिल्ला सदस्य बनेर नेवि संघको राजनीतिमा भित्रिएका युवाहरू त्यही पदमै सीमित बन्न पुगे। जिल्ला अधिवेशन नहुँदा नेवि संघको उपल्लो पदमा पुग्न चाहने युवाहरूलाई पार्टी राजनीतिका लागि सक्षम महशुस गराइदिएको छ।  

‘पार्टीको राजनीति गर्ने लक्ष्य राखेर नेवि संघको राजनीतिमा लागेका युवाहरू सात सातवर्षसम्म एउटै ओहदामा सीमित रहँदा उनीहरूलाई दिक्क लाग्ने वातावरण बनिसकेको छ,’ कुलराज भन्छन्, ‘यो अवधिसम्मको भ्रातृ संगठनको राजनीतिक अनुभवले पनि अब उनीहरूलाई पार्टी राजनीतिका लागि सक्षम बनाइसकेको महसुस गराउनु स्वाभाविकै हो, त्यो सक्षमताको विकास भएको पनि छ, फलतः अहिले नेवि संघका अधिकांश साथीहरू पार्टी राजनीतिमा लाग्ने इच्छामा हुनुहुन्छ।’  

पार्टी राजनीतिमा आफूलाई अब्बल महसुस गराउने लामो समयदेखिको विद्यार्थीको राजनीतिक अनुभवसँगै केहीलाई विद्यार्थी राजनीतिका लागि लगाइएको उमेर हदबन्दीले पनि पार्टी राजनीतिको बाटो निर्विकल्प नै बनाइदिएको छ। नेवि संघका कार्यबाहक अध्यक्षसमेत रहेका टोपबहदुर बुढाथोकीले भने, ‘नेवि संघको राजनीतिका लागि तोकिएको ३२ वर्षे उमेर हदबन्दीले पनि म जस्ता थुप्रै साथीका लागि अब पार्टीको राजनीति निर्विकल्प नै बनेको छ, विद्यार्थी संघको राजनीति गर्न चाहेर पनि वैधानिक बन्धन भोग्नु परेका धेरै साथीलाई पनि अहिले पार्टीको उपल्लो राजनीतिको इच्छा प्रकट भएको छ।’

नेपाली कांग्रेसका पुराना जिल्ला नेता वीरकेशरी गौतमले पार्टीको आसन्न महाधिवेशनको रौनक युवा शक्तिमा बढी देखिएको बताउँछन्। उनले युवाहरूमा देखिएको यो उत्साह पार्टीका लागि निकै सकारात्मक पक्ष भएको बताउँछन्। ‘स्वाभाविकै रूपमा हरेक अधिवेशनका बेला नेतृत्वका लागि युवा पिढीहरूको सहभागिता बढ्दै जान्छ, अहिले पनि युवाहरूको यो उत्साह निकै छ,’ गौतमले भने, ‘पार्टीमा युवाहरूको सहभागिता बढ्नु कांग्रेसका लागि निकै राम्रो पक्ष हो।’ पुराना नेताहरू निस्क्रिय बन्दै जान थालेको र नयाँ शक्ति पार्टीको नेतृत्वका लागि तयार हुने अवस्था जिल्लामा आएको उनले बताए। ‘अहिलेको अधिवेशनबाट पनि ठूलो संख्यामा युवा शक्ति पार्टी राजनीतिमा भित्रिने छ,’ उनले भने, ‘पार्टीमा लागेका पुराना नेताहरू सक्रिय राजनीतिबाट विश्राम लिन खोज्नु र उनीहरूको स्थानमा नयाँ शक्तिको आगमन हुनु ज्यादै सुखद् पक्ष हो।’

प्रकाशित: ८ श्रावण २०७८ ००:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App