९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

क्रियाशीललाई लिएर अमरेशको सांसद पदबाट राजीनामा

 नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी क्रियाशील सदस्यतामा व्यापक धाँधदली भएको जनाउँदै सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवालाई बुधबार साँझ भेटी संगठन समायोजन र नयाँ वितरणको नाममा जताभावि सदस्यता वितरण नरोकिएको भन्दै सांसद पदबाट राजीनामा गरेको पत्र बुझाएका हुन्।  

पार्टीका पुराना, निष्ठावान नेता तथा कार्यकर्तालाई सदस्यता दिन छाडेर आफ्नो जत्था तयार गर्नेगरी पार्टी क्रियाशील सदस्यता वितरण गरेको आरोप लगाउँदै सिंहले देउवालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘कांग्रेसका लागि रातदिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ। ठेकदार, व्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ। यस्तो अवस्थामा आफू विशेष निर्णय लिन बाध्य भएको छु ।’

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालय सानेपामा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन। उनीहरूले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्दै आएका छन्। देउवालाई राजीनामा पत्र बुझाउनुअघि नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासहितका नेताहरूलाई भेटेका उनले आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। सिंह सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् हुन्।  

सर्लाहीमा तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव जंगीलाल राय, माओवादी केन्द्रका नेता शम्भुलाल श्रेष्ठलगायतका नेताहरू कांग्रेस प्रवेश गरेकालाई समायोजनका नाममा ठूलो संख्यामा क्रियाशील सदस्यता दिइएको उनीहरूको आरोप छ। सदस्यतालाई लिएर धनुषाका नेताहरू आमरण अनशनमा  बसेका छन्।

प्रकाशित: ७ श्रावण २०७८ ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App