coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: नेता बन्ने ‘लालसा’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति घोषणा भएसँगै जिल्लाका वडा तहमा कांग्रेसीका चुनावी समीकरण बनिरहेका छन्। कांग्रेसको उपल्ला नेतृत्वको ‘जग’का रुपमा रहेका वडा तह हरेक नेताको राजनीतिक भविष्य निर्धारण गर्ने एकाइ बनेका छन्। अहिले जिल्लाका नेताहरूले वडाका सक्रिय सदस्यसमक्ष आफ्नो उपस्थिति बाक्लो बनाइरहेका छन्। त्यसो त, सक्रिय सदस्यता प्राप्त कांग्रेसीहरूलाई पनि नेता बन्ने लालसा पार्टीको १४ औँ महाधिवेशनले जगाइदिएको छ।  

उनीहरू वडा समितिमा सीमित नभई क्षेत्रीय प्रतिनिधि बनेर वडा एकाइभन्दा पार्टीको उपल्लो नेता बन्ने लालसामा देखिएका छन्। पार्टीको महाधिवेशनको अहिलेसम्मको माहोलले हरेकलाई क्षेत्रीय प्रतिनिधि चुनिने सपना पलाएको छ। कांग्रेसका नेताहरू भन्छन्, ‘अहिले सम्म वडा समितिको नेतृत्व सम्हाल्ने इच्छा कसैले देखाएका छैनन्, जिल्लाका कुल १ सय वडाबाटै हरेकले क्षेत्रीय प्रतिनिधि आउने तयारी गरिरहेको देखिन्छ।’

कांग्रेसको जगका रुपमा वडा एकाइ समिति रहे पनि वडामा बसेर राजनीतिक उचाइ बढ्दैन भन्ने मानसिकता कांग्रेसीमा व्याप्त देखिन्छ। ‘वडाको एकाइ समितिमा को थन्किएर बस्छ ?,’ घोराही उपमहानगरपालिकास्थित एक वडाका वडा उपसभापतिले भने, ‘वडामै सीमित रहेर आफ्नो राजनीतिले उचाइ नलिने भएकाले क्षेत्रीय प्रतिनिधि चुनिएर पार्टीको उपल्लो तहमा सहभागिता जनाउने निर्णय लिएको छ।’

कांग्रेसको विधानतः वडा एकाइ समितिबाट क्षेत्रीय प्रतिनिधि चुनिए उक्त क्षेत्रीय प्रतिनिधि क्षेत्र, तथा जिल्ला नेतृत्व चयनका लागि मतदाता कहलिन्छ। मतदाता मात्रै नभई क्षेत्रीय समितिदेखि जिल्ला सदस्यसम्म बन्ने हैसियत क्षेत्रीय प्रतिनिधिको रहने भएकाले पनि अधिकांशलाई क्षेत्रीय प्रतिनिधि बनेर ‘नेता’ बन्ने लालसा जागेको जिल्लास्तरका नेताहरू बताउँछन्। कांग्रेस क्षेत्र नम्बर २ (प्रदेश क्षेत्र १) का सभापति गिरीराज सुवेदीका अनुसार क्षेत्रीय प्रतिनिधि चुनिएर आफ्नो राजनीतिक ‘ओज’ बढ्ने मानसिकता अधिकांश सक्रिय सदस्यहरूलाई बढेको देखिन्छ। ‘क्षेत्रीय प्रतिनिधि चुनिएको खण्डमा उपल्ला समितिको निर्वाचनमा मतदाताका रुपमा सहभागी हुन पाउने मात्रै नभई उम्मेदवारसमेत बन्न सक्ने हैसियत बन्छ नि उसको,’ सुवेदीले भने, ‘यसबाट आफ्नो राजनीतिक ओज बढ्ने अस्त्रका रुपमा क्षेत्रीय प्रतिनिधिलाई हेरिएको छ।’

तर वडा एकाइ समितिको नेतृत्वमा अहिलेसम्म देखिएको बेवास्ताले कांग्रेसको जग कमजोर बन्दै जाने तर्क उनको छ। सबैले उपल्लो तहको राजनीति मात्रै ताकेको खण्डमा तल्लोस्तरमा कांग्रेसको बेस कमजोर स्वाभाविकै रुपमा बन्ने सुबेदी बताउँछन्। ‘वडा एकाइलाई सबैले हेपेको स्थिति हो,तर यसले कांग्रेसको संगठनलाई स्वाभाविकै रुपमा कमजोर बनाउँछ,’ उनले भने,‘जब पार्टीको जगमा राम्रो प्रभाव राख्न सक्ने नेताको अभाव हुन्छ, कसरी कांग्रेसको संगठन बलियो बन्छ ? कांग्रेसको संगठन बनाउने अहम भूमिका त वडाकै हो नि।’

त्यसो त, क्षेत्रीय प्रतिनिधि बढाउन खोज्ने नेताहरूको गुटगत रणनीतिले पनि क्षेत्रीय प्रतिनिधिको लालसा वडा तहमा बढाइदिएको छ। क्षेत्रीय प्रतिनिधि बन्ने इच्छा नै नराखेका कांग्रेसीलाई पनि नेता विशेषले आफूलाई सफल बनाउन प्रोत्साहन गर्ने काम गरिरहेका छन्। ‘कतिपयलाई क्षेत्रीय प्रतिनिधि आउने इच्छा नै छैन, तर हामी जिल्लास्तरका नेताहरूले नै उनिहरूलाई क्षेत्रीय प्रतिनिधि आउनका लागि प्रेरित गरिरहेका छौँ, फकाइरहेका छौँ,’ सुवेदी भन्छन्, ‘किनकी हामी गुटगत राजनीतिमा रहेकाहरूले आफ्नो र आफ्नो गुटलाई उपल्लो नेतृत्वमा जिताउनै छ।’

यसैगरी कांग्रेसको उपल्लो राजनीतिमा जान खोज्नुको अर्को कारण भनेको अन्य पार्टीमा रहेका समकालीन नेताहरूको पदको इगो पनि हो। कांग्रेसभित्र लामो समय राजनीति गर्दा पनि वडा समितिमै सीमित हुनुपर्ने तर आफ्ना समकालीन अन्य पार्टीका नेताहरू जिल्लास्तरीय राजनीतिक छवि कायम गर्नुले पनि त्यो हैसियतसम्मको अवसरको खोजी पार्टीभित्र हुनु स्वाभाविक रहने कांग्रेस दाङका निवर्तमान सचिव कमलकिशोर घिमिरेले बताए। उनले भने, ‘आफ्ना समकालीन नेताहरू अन्य पार्टीमा जिल्ला तहका नेता भइसकेका हुन्छन् तर कांग्रेसमा वडा समितिमै सीमित रहनु पर्दा स्वाभाविकै रुपमा त्यो इगोले पनि उँचो राजनीतिक इच्छा जगाउँछ नै।’  

त्यसो त, पार्टीको निर्णायक तहमा रहेकाहरूले मात्रै अवसर पाउने गरेको गुनासो कांग्रेसीमा छ । फलतः पनि अवसरका लागि निर्णायक तहमा पुग्नैपर्छ भन्ने मनोभाव आम कांग्रेसीको छ। ‘विगत देखिकै इतिहास हेर्‍यौँ भने जो निर्णयक तहमा छ उसले नै अवसर पाएको अवस्था हो,’ घिमिरेले भने, ‘फलतः त्यो राजनीतिक अवसर प्राप्तिका लागि पनि निर्णायक तहमा पुग्नै पर्छ भन्ने मानसिकता आम कांग्रेसीमा छ, फलतः अहिले क्षेत्रीय प्रतिनिधिका लागि देखिएको बढ्दो इच्छाको अर्को कारण यो पनि हो।’

तर वर्तमान अवस्थामा पार्टीका वडा तथा नगर समितिको हैसियत उँचो बनेको भन्दै वडा समिति वा नगर समितिमा रहनु सामान्य नरहेको घिमिरेले बताए। ‘पार्टीबाट मेयर उपमेयरको उम्मेदवार चयनमा सबै भन्दा प्रमुख भुमिका नगर एकाइ समितिको हुन्छ भने वडा अध्यक्षका लागि वडा एकाइ समिति प्रमुख रहन्छ,’ घिमिरे भन्छन्,‘यसर्थ पहिलेको जस्तो नगर र वडाको भूमिका अब सानो छैन, यो कुरा पनि पार्टीका नेता तथा कार्यकर्ताहरूले बुझ्न जरुरी छ।’

प्रकाशित: ६ श्रावण २०७८ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App