४ वैशाख २०८१ मंगलबार
राजनीति

दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसदले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन्। सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए।  

एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० जनाले मतदान बहिस्कार नै गरेका थिए। एमालेमा सांसदले असहयोग गरेका कारण पार्टीभित्रको संकटबाट उम्किन एमाले अध्यक्ष केपी ओलीलाई निकै चुनौती थपिएको छ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा लिएको विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मात्रै मत खस्यो। यसले १२१ सिट संख्या भएको एमाले पार्टीको धरातल कमजोर हुन पुग्दा पार्टी नै धरापमा परेको छ। 

अदालतले अपदस्थ गरेका प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रको विवाद मिलाउन नसक्दा कै समस्याले यो अवस्थाको सिर्जना भएको विष्लेषण छ। ३३ जनाले ह्विप उल्लंघन गरिरहँदा ३१ जना माधव नेपाल पक्षकै हुन्। एमाले पार्टीले तटस्थसमेत नबस्न ह्विप जारी गरेको थियो। रावलले राजीनामा र १० जना नेपाल समूहका सांसदले मतदान बहिस्कार गरेपछि देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका २२ जनामध्ये १४ र ओली समूहका ८ जना देखिए पनि अन्तत दुई जना मात्रै ओली समूहका हुन्। यद्यपि उनीहरूमध्ये ६ जना केही महिना अघि मात्र माधव नेपाल समूहबाट ओली समूहमा गएका थिए। 

एमालेका धनबहादुर बुढा र कृष्णकुमार श्रेष्ठ (किसान) मात्रै ओली समूहका हुन्। बाँकी सबै ६ जना माधव नेपाल समूहका हुन्। सांसद श्रेष्ठले ओलीको विश्वासपात्रका रूपमा काम गर्दै आएका थिए। श्रेष्ठ गत वर्ष समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याउनेमध्येका एक हुन्। उनीमाथि सांसद अपहरण गरेको आरोप पनि लागेको थियो। ओली सरकारमा धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री थिए।  

पहिला माधव नेपाल पक्षमा रहेका तर प्रधानमन्त्री केपी ओलीलाई वैशाख २७ गते विश्वासको मतको पक्षमा मतदान गरेका सांसद हीरा केसी, पार्वती विसुंखे, समिना हुसेन, गोपाल बम, प्रेम आले, विनादेवी बुढाथोकीले सोमबार शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन्। एमाले माधव नेपाल समूहमा रहेका प्रेम आले ओली समूहमा लागेपछि उनलाई वनमन्त्री बनाइएको थियो। तर ओली सरकार हटेपछि उनी फेरि नेपाल समूहमा आएका छन्।  

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका सांसदमध्ये मतदान बहिस्कार गरेका माधव नेपाल समूहका १० जना सांसदमा योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढा, झपट रावल हुन्। 

पार्टी एकीकरणलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि मतदानबाट बाहिरिएको सांसद राजबहादुर बुढाले बताए। देउवालाई विश्वासको मत दिने एमाले सांसदमा वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरू मुकुन्द न्यौपाने, विरोध खतिवडा, भवानी खापुङ, कल्याणी खड्का, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार (किसान) श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, सविना हुसेन, कृष्णलाल महर्जन छन्।  

अनुपस्थित रहेका एमाले सांसदमा झलनाथ खनाल, भीम रावल र पवित्रा निरौला रहेका छन्। खनाल उपचारार्थ भारतमा छन् भने रावलले राजीनामा नै दिएका हुन्। निरौला भने कतै पनि नदेखिने गरी अनुपस्थित भएको बुझिएको छ। माधव नेपाल पक्षमा मतदान गर्नका लागि माया ज्ञवाली, विष्णु शर्मा पनि तयार भए पनि माधव नेपालले पहल नगरेका कारण उनीहरूले देउवाको विपक्षमा मतदान गरेको स्रोतले बतायो।

 सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई पुरानै पार्टीमा फर्काएको छ भने निवर्तमान प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट दोस्रोपटक संसद् विघटन गरेपछि एमालेभित्रै विभाजनको अवस्था सिर्जना भयो। देउवालाई विश्वासको मत दिने नेपाल समूहको कदमले पार्टी एकतालाई संकटमा पारेको ओली समूहको बुझाइ छ। तर माधव नेपाल समूहले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको सन्देश लैजानुभन्दा पनि संसद् जोगाएको सन्देश लैजानुपर्ने बताएको छ। 

प्रकाशित: ५ श्रावण २०७८ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App