coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदिप ज्ञवालीको टिप्पणीः शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भए

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २०५९ असोजमा असक्षम भनेर बर्खास्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि भएको छलफलमा बोल्दै सचिव ज्ञवालीले २०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्चका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन्।

उनले भने, ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ। आज ५ जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको छ। उतिबेला श्री ५, अहिले श्रीमान ५।’ प्रतिनिधिसभा विघटन गलत भएको भए दलहरुले निर्णय गर्न दिनुपर्ने पनि उनले बताए।

यसैगरि, उनले संसदीय राजनीतिमा विकृति दोहोरिएको पनि बताए। विगतमा पनि नेपाली कांग्रेस र एमालेका आफ्नै सांसद्ले मत नदिँदा ती पार्टी नेतृत्वका सरकार ढलेर संसदीय राजनीतिमा विकृति भित्रिएको स्मरण गरे।

“प्रश्न को सरकारमा गयो वा गएन भन्नेमा होइन, प्रश्न संसदीय प्रणाली बलियो भयो कि भएन  भन्ने हो । सही खेल भयो कि भएन भन्ने हो”, एमालेका प्रवक्ता ज्ञवालीले भने। उनले भने,“विसं २०५२ मा प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएका बेला सदनमा आएर अविश्वासको प्रस्तावमाथि जवाफसमेत दिन नपाई हटाइएको थियो।”

उनले आफ्नो पार्टीलाई अप्रिय लागे पनि अदालतको फैसला आफूहरूले मान्ने तर शक्ति पृथकीकरणको राज्यको परिकल्पनामा खलल पर्न गएको टिप्पणी गरे।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राष्ट्रियता, शान्तिपूर्ण राजनीतिको यात्राको थालनी, विकास र समृद्धिका क्षेत्रमा गरेका कामलाई जनताले सम्झिइरहने उनले विश्वास व्यक्त गरे। उनले सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय राजनीतिका लागि दूरगामी प्रभाव पर्ने खालको भएकाले एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नसक्ने स्पष्ट गरे।

प्रकाशित: ३ श्रावण २०७८ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App