४ वैशाख २०८१ मंगलबार
राजनीति

लुम्बिनी प्रदेश: बजेट पारित गर्न बहुमत जुटाउन नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य

अध्यादेशबाट बजेट ल्याउने तयारी

लुम्बिनी प्रदेश सरकारले संसदबाट बजेट पारीत गर्न असफल भएपछि मध्य रातमा प्रदेशसभाको अधिवेशन नै अन्त्य गरीदिएको छ । बजेट पारीत गर्न सदनमा बहुमत जुटाउन नसकेपछि सरकारले बिहिबार मध्यराती पौने बाह्र बजे तिर बर्षे अधिवेशन अन्त्य गरीदिएको हो । मध्यरातमा अधिवेशन अन्त्य गरे संगै अध्यादेशबाट बजेट ल्याउने तयारीमा भइरहेको बताइएको छ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा गएराती १२ बजेदेखि लागु हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन्। बिहिबारको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल पछि मन्त्री र मुख्यमन्त्रीले जवाफ दिने र बजेट निणयार्थ प्रस्तुत गर्ने कार्यसुची थियो ।  तर आफुसंग बहुमत रहेको दावी गर्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारीत गर्न चाहिने बहुमत जुटाउन नसकेपछि  बिहिबार सदनबाटै भाग्नु परेको थियो ।

मुख्यमन्त्रीले सदनलाइ सम्बोधन गर्दै सहमतीमा बजेट पास गर्न विपक्षीसंग पटक पटक आग्रह गरेका थिए । तर विपक्षीले मतदानबाटै टुङ्गयाउनु पर्ने प्रस्ताव गर्नासाथ मुख्यमन्त्री सहित मन्त्रीहरु र सात्तारुढ सांसदहरु बैठकै छोडेर हिडे । बजेट पारीत गराउन बहुमत जुटाउन नसकेका पोखरेलले त्यसपछि अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने तयारीमा जुटेका हुन् । हाल लुम्बिनी प्रदेश सभा ८३ सदस्यीय छ । विपक्षी गठबन्धनमा सभामुखलाइ छोडेर ४१ सांसद छन्।  

मुख्यमन्त्री पोखरेलसंग अहिले नेकपा एमालेका ३८ र जसपाको महन्थ पक्षका ३ गरी ४१  जना हुन् । तर एमालेका ३८ सांसद मध्य कै एक हुन् सुर्य चिन्न लिएर नवलपरासीको निर्वाचन क्षेत्र नं. १(२) बाट निर्वाचन जितेका सांसद अजय शाही। तीनै शाही बजेट पारीत गर्ने कार्यसुचि रहेको बिहिबारको संसद बैठकमा उपस्थित भएनन्।

शाही तीनै सांसद हुन् जसले यसअघि गत बैशाख १९ गतेपनि विपक्षी मोर्चामा सामेल भएका थिए। तर संसद छल्न राजीनामाको नाटक गरेका पोखरेल सोही दिन फेरी मुख्यमन्त्री बनेपछि भने शाहीले अर्को दिन आत्मआलोचना गर्दै आफनो समर्थन पोखरेललाइ नै रहेको जनाएका थिए। तीनै सांसदले पछिल्लो समय पोखरेलको साथ छोडेको श्रोतको दावी छ। त्यससगै  एक जना मन्त्रीले पनि उनको साथ छोड्ने तयारी करिब अन्तिम चरणमा पुगेको श्रोतको दावी छ।

बजेट पारीत हुन नदिएर सरकारलाइ नैतिक शंकटमा पार्ने विपक्षीको रणनीतिबारे जानकार मुख्यमन्त्री पोखरेल आफुसंग बहुमत नरहेकोमा स्पष्ट छन्। जसका कारण उनले मध्य रातमा संसद अधिवेशन नै अन्त्य गरीदिएर अध्यादेशबाट बजेट ल्याउने गृहकार्यमा जुटेका हुन्। सत्ता टिकाउन पोखरेलले पटक पटक सदनलाइ छल्दै आएका छन्। गत बैशाख १९ मा पनि आफु बिरुद्ध अविश्वासको प्रस्ताव आएपछि  उनले सदन छल्न राजीनामाको नाटक गर्दै सोही दिन नै पुनः  मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

संविधानको धारा १६८ को १ बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री नियूक्त भएका भनिएका पोखरेलले त्यस लगत्तै  राजपा ठाकुर पक्षका ४ जनालाइ मन्त्री बनाए। त्यसमध्ये बिहिबार सम्म तीन जना सन्तोष कुमार पाण्डेय,कल्पना पाण्डे र विजय कुमार यादव मन्त्रीमण्डल मै छन्। एक जना उपेन्द्र  पक्षकी सुमन शर्मा रायमाझीले मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनमा फर्कीसकेकी छन्।

त्यसयता नेपाली काँग्रेस, माओवादी केन्द्र,जसपा,र राष्ट्रिय जनमोर्चा सम्मिलीत विपक्षी गठबन्धनले बहुमत पुष्टि गर्न पोखरेलाइ चुनौती दिइरहेका छन्। आफ्नै बोलीको विश्वास गर्न नसकेका पोखरेलले बहुमतको परिक्षणमा उत्रन नसकेका हुन्।  

बैशाखमा सदन छल्दै प्रदेश प्रमुखलाइ राम्रै उपयोग गरेर उनी पुन मुख्यमन्त्री बनेका थिए। त्यतीबेला एमालेकै लेटर प्याडमा प्रदेश प्रमुखले उनलाइ मुख्यमन्त्री नियुक्ती गरीदिए । बहुमत पुष्टि नभइ अल्पमतका पोखरेललाइ मुख्यमन्त्री नियुक्त नगर्न विपक्षीले गरेको आग्रह, विपक्षी गठबन्धनले शशरीर बहुमत सासंद उपस्थित भएर बुझाएको बहुमतको हस्ताक्षर र खबरदारीलाइ लत्याउँदै प्रदेश प्रमुखले पोखरेललाइ एमालेकै लेटरप्याडमा मुख्यमन्त्री नियुक्ती गरीदिएका थिए। पोखरेललाइ सपथ खुवाउन प्रदेश प्रमुख धर्मनाथ यादवलाइ मुख्यमन्त्री कार्यालय मै पुर्‍याइएको थियो।

प्रकाशित: १ श्रावण २०७८ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App