६ वैशाख २०८१ बिहीबार
राजनीति

मार्सल लगाएर बजेट पारित, बिपक्षीद्वारा कुर्सी तोडफोड

गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको छ । गण्डकी प्रदेश सभाको बुधबार बसेको तेश्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो ।

बजेट माथिको छलफल शुरु भएलगत्तैदेखि प्रतिपक्षी दल एमालेले असारमा गरिएको रकमान्तरको फेहरिस्तलगायतका १० बुँदे माग राख्दै प्रदेश सभामा लगातार अवरोध गर्दै आएको थियो । बुधबार बसेको पहिलो र दोश्रो बैठकमापनि एमालेले अवरोध जारी राखेको थियो । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले अपराह्न ४ बजे पुनः प्रदेश सभाको बैठक बोलाएका थिए । यसबिचमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भएपनि सहमति जुट्न सकेन ।

पटक/पटकको छलफलपछि पनि सहमति नजुटेपछि बुधबारको तेश्रो बैठकमा सभामुख अधिकारीले अर्थमन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विनियोजन विधेयक प्रस्तुत गर्न समय दिए । विरोधका बाबजुद मुख्यमन्त्री पोखरेलले विनियोजन विधेयक प्रस्तुत गर्न रोस्टममा जान लागेपछि एमाले सांसदहरुले आक्रोसितहुँदै मुख्यमन्त्री पोखरेललाई रोक्न खोजेका थिए । तर मार्सल लगाएका कारण उनीहरुले मुख्यमन्त्री पोखरेललाई रोक्न सकेनन् । त्यसबेलासम्म रोस्टममा पुगिसकेका पोखरेलले बजेट पारितका लागि निर्णयार्थ पेश गरे ।

यता बिपक्षी सांसदहरु भने रिसले आगोहुँदै नाराबाजी गरिरहेका थिए । त्यहिबेला अचानक आक्रोसित रुपमा प्रस्तुत भएका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका एमाले सांसद रामशरण बस्नेतले टेबल तथा कुर्सी तोडफोड गरे । उनलाई एमालेका अन्य सांसदहरुलेपनि सहयोग गरेका थिए ।

प्रकाशित: ३० असार २०७८ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App