१६ चैत्र २०८० शुक्रबार
राजनीति

भागबण्डामा न्यायाधीश नियुक्ति गर्दाको परिणाम : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले भागबण्डामा न्यायाधीश नियुक्ति गर्दा अहिलेको परिणाम आएको बताएका छन्। 

बदलिएको राजनीतिक परिस्थितिबारे सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष बिजुक्छेंले नेपालको संविधानमा अदालतबाट प्रम नियुक्त गर्ने प्रावधान नभएको बताए। उनले भने, ‘शासक दलहरुले न्यायाधीश नियुक्ति गर्दा गरेको भागबन्डाको परिणाम हो।’

उनले ल्याटिन अमेरिकी छाया अदालतमा परेको संकेत गर्दै सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्नु, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियक्तिका लागि परमादेश दिनुलाई संसदको सर्वोच्चता माथिको आक्रमण भएको बताए। ‘संसद्को सर्वोच्चता छ नेपालमा, यो भावनामाथि आक्रमण हो। संसद्को सर्वोच्चता समाप्त पार्ने काम भयो। अदालतले फलानोलाई प्रम बनाउनु भन्न मिल्दैन।’

उनले अदालतले ह्विप लाग्दैन भनी निर्देश गर्ने काम प्रजातन्त्र विपरित भएको बताउँदै अहिलेको बदलिएको परिस्थितिले जहाँ  पनि अराजकता हुने जनाए। उनले नेपालमा विदेशी शक्तिको प्रभाव बढेको पनि बताए।

अध्यक्ष बिजुक्छेंले नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा ल्याउनुमा विदेशी स्वार्थ हुन सक्ने जनाए। ‘विदेशीहरुले के के कुरामा सही गराउन शेरबहादुरलाई ल्याउन खोजिएको हो हेर्न बाँकी छ। एमसिसि, नागरिकता, वायु सेवाको निजीकरण आदि हुने संभावना बढ्यो’, उनले भने।

प्रकाशित: २९ असार २०७८ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App