८ वैशाख २०८१ शनिबार
राजनीति

संसद् पुनःस्थापनाः कतै दिपावली त कतै विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गरेको संसद् विघटन मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि कतै दिपावली त कही विरोध जनाइएको छ। नेकपा एमाले केपी शर्मा ओली पक्षधरले सर्वाेच्चको निर्णयविरुद्ध विरोधसभा गरेका छन्।  

सोमबार राति बाँकेको नेपालगन्ज, कैलालीस्थित धनगढी, दैलेखलगायतका जिल्लामा एमालेले विरोध र्‍याली तथा राँके जुलुस प्रदर्शन गरेका थिए। नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले संसद् विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रदर्शन गरेका हुन्। धनगढीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतलासमेत दहन गरेका छन्।

कर्णाली प्रदेशको दैलेख पनि नेकपा एमालेका कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुत्ला जलाएका छन्। नेकपा एमाले निकट युवा तथा विद्यार्थीहरुले दैलेखको देवकोटा चोकमा भेला भएर जबराको पुत्ला जलाएका हुन्। यता रोल्पा, अर्घाखाँचीलगायतका जिल्लामा खुसियालीमा दिपावली गरिएको छ। अदालतले गरेको संसद् पुनःस्थापनाको फैसलाको स्वागत गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दिपावली गरेका हुन्। रोल्पाको सदरमुकाम लिवाङको टुडिखेल छेउमा गरिएको औपचारिक कार्यक्रमपश्चात दिपावलीसमेत गरिएको थियो। 

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद लेखनाथ आचार्य, जीतविक्रम मल्ल, माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र थापा घर्ती, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीसमेतको उपस्थिति रहेको कार्यक्रमका वक्ताहरुले अदालती निर्णयको स्वागत गरेका थिए। यता अर्घाखाँचीमा नेकपा माओवादी केन्द्रले कार्यालयमै दिपावली गरेर सर्वोच्च अदालतको फैसलामा खुसी व्यक्त गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै सन्धिखर्कस्थित कार्यालयमा माओवादी केन्द्रले मैनबत्ती बालेर खुसियाली मनाएको हो।  

माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुरकुमार बिकले सर्वोच्चले नेपाली जनतालाई न्याय दिएको बताए। प्रधानमन्त्री ओलीले गरेको ‘कू’ सर्वोच्चले सच्चाइदिएको उनको प्रतिक्रिया छ।

सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि पश्चिममा त्यसको समर्थन तथा विरोधमा सभा भइरहेका छन्।

गोविन्द केसी/दैलेख, दिनेश सुवेदी/रोल्पा र लक्ष्मण घिमिरे/अर्घाखाँची

प्रकाशित: २८ असार २०७८ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App