७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले कार्यदलमा सहमति: अदालतमा विचाराधीन मुद्दामा मौन बस्ने

सत्तारूढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ। विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपाल पक्षका नेताहरूबीच यस्तो सहमति भएको हो।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सहमति र एकताका लागि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए। यो सर्तलाई नेपाल पक्षले नमानेपछि सहमति र एकता प्रयासमा अड्चन आएको थियो। देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित अदालतमा दायर मुद्दालाई लिएर वार्तामा अड्चन आएपछि फैसला नआउँदासम्म यस विषयमा मौन बस्ने सहमति एमाले कार्यदलमा भएको हो। नेपाल पक्षको अडानपछि ओली पक्ष फैसला नआउँदासम्म मौन बस्न सहमत भएको हो।

कार्यदलले अदालतमा विचाराधीन मुद्दामा मौन बस्ने र पार्टी विवाद समाधानका लागि सहमति भएको दाबी गरेको छ। ‘अदालतमा परेको रिट निवेदनको सबालमा के गर्ने, के नगर्ने भन्ने अन्योल र समस्या थियो। अब करिबकरिब त्यो विषय सकिएको छ’, कार्यदलका एक सदस्यले भने। ती सदस्यका अनुसार मुद्दामा सम्भवतः सोमबार सर्वोच्च अदालतले फैसला गर्नेछ। मुद्दालाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्ने र अदालतबाट जे निर्णय आउँछ, त्यसलाई पार्टीहितमा लागु गर्नेलगायत सहमति कार्यदलमा भएको ती नेताले बताए। 

‘हाम्रातर्फबाट लगभग सहमति टुंग्याएका छौं। कार्यदलमा सहभागी सदस्य दुवै नेताहरूप्रति उत्तरदायी छौं। कार्यदलमा जे, जति सहमति भएको छ, त्यसैबाट पार्टी विवादको निरुपण हुने अपेक्षा हामीले गरेका छौं’, कार्यदलका ती सदस्यले भने। नेपाल पक्षले पार्टीमा आमकार्यकर्ता र नेताहरूको सम्मान हुने वातावरण तयार गर्नुपर्ने र त्यसका लागि विश्वसनीय आधार तयार गर्नुपर्ने अडान पनि राखेको छ। 

नेपालले सहमतिका लागि अध्यक्ष ओलीसँग अदालतलाई प्रभाव पार्ने काम गर्न नहुने, देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ताको विषय उठाउन नहुने, २०७५ जेठ २ अघिको पार्टी संरचना ब्युँताउनुपर्ने र पार्टीमा नेता–कार्यकर्ताको सम्मानजनक व्यवस्थापन हुनुपर्ने न्यूनतम सर्त राखेका थिए। सोहीअनुसार नै एमाले विवाद निरूपण हुन लागेको कार्यदलका सदस्यहरूको दाबी छ।

कार्यदलबीच भएका सहमतिलाई दुवै नेताले अनुमोदन गरेपछि सहमति टुंगो लाग्ने बताइएको छ। कार्यदलका सदस्य सुवास नेम्वाङले कार्यदलमा भएको सहमतिअनुसार भोलि (आइतबार) बिहान सुखद समाचार सुन्न पाइने दाबी गरे। ‘हामीले पार्टी एकताका पक्षमा साह्रै मेहनतका साथ सहमतिका बुँदा टुंग्याएका छौं। सम्भवतः भोलि बिहान ८ बजे तपाईंहरूले सुखद समाचार सुन्न पाउनुहुनेछ,’ शनिबार साँझ नेम्वाङले भने। कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले पनि पार्टीभित्रको समग्र समस्याको समाधान खोजिएको र आइतबार सुखद समाचार आउने दाबी गरे। ‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं। पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं। हामी धेरै हदसम्म सफल भएका छौं’, उनले भने।  

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर रिटमा सोमबार फैसला सुनाउने अपेक्षा छ। त्यसअघि नै एमाले एकताबद्ध भएको घोषणा हुने कार्यदलका सदस्यहरूको दाबी छ। कार्यदलका सदस्य विष्टले सोमबारअघि नै सहमति भइसक्ने संकेत गरेका छन्। शनिबार दिउँसो कार्यदलको बैठक बस्नुअघि नेपाल पक्षका नेताहरूले कोटेश्वरमा छलफल गरेका थिए। उनीहरूले कोटेश्वरस्थित नेपाल निवासमा कार्यदलमा उठेका विषयमा छलफल गरेका थिए।  

कार्यदलको बैठक बस्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल निवास कोटेश्वर पुगेका थिए। एमाले विवाद सुल्झनेमा नेताहरू आश्वस्त भएकै बेला दाहाल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। यो विषय कार्यदलमा उठेपछि विष्टले त्यसलाई अन्यथा लिन नहुने बताएका थिए। नेता नेपाल बिरामी भएका कारण स्वास्थ्यलाभको कामना गर्न दाहाल कोटेश्वर गएका थिए।

प्रकाशित: २७ असार २०७८ ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App