coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसमा सभापतिका आकांक्षी बढ्दै: साँच्चिकै कि प्रचारको लालसा ?

‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म पनिसभापतिको उम्मेदवार हो। शेरबहादुरजी (शेरबहादुर देउवा) ले अब काँध फेर्नुपर्छ।’ यो भनाइ नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको हो। नागरिक दैनिकमा ‘दबाबमा देउवा, सजिलो छैन नेतृत्वमा दोहोरिन’ शीर्षक समाचारमा सभापतिको आकांक्षीमा आफ्नो नाम नपरेकोमा गुनासो गर्दै श्रेष्ठले भने, ‘शेरबहादुरजी र रामचन्द्र पौडेलपछि कांग्रेसमा सबैभन्दा सिनियर मै हुँ। अब उहाँहरूले नेतृत्व हस्तान्तरण गर्नुपर्छ। मलाई सहयोग गर्नुपर्छ।’ 

देउवा र पौडेलबाहेक नेतृत्वका लागि दोस्रो पुस्ताका विमलेन्द्र निधि (उपसभापति) सँगै अन्य धेरै नेता आकांक्षी रहेको प्रसंग उल्लेख गर्दै श्रेष्ठले भने, ‘उमेरका कारण पनि म एक कार्यकालमात्र सभापति हुने हो । उहाँहरू (दोस्रो पुस्ताका नेताहरू) को उमेर पनि छ। अर्को पटकका लागि तयारी गर्दा हुन्छ ।’ श्रेष्ठले आफूले केही महिनाअघि नै देउवालाई भेटेर आफू सभापतिको आकांक्षी रहेको जानकारी गराएको बताए ।

तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यबाहक सभापतिको हैसियतमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासहित सात दलसँग मिलेर आफूले राजाको निरंकुशताविरुद्ध आन्दोलन गरेको स्मरण श्रेष्ठले गरे। त्यतिबेला देउवा जेलमा रहेका बेला आफूलाई सभापति बन्न भनिए पनि अस्वीकार गरेको उनले बताए। ‘शेरबहादुरजी जेलमा भएका बेला भएको महाधिवेशनमा मलाई सभापति बन्न साथीहरूले भन्नुभएको थियो। तर मैले उहाँ (शेरबहादुर देउवा) लाई धोका दिनुहुँदैन भनेर मानिन। यसपटक म सभापतिको उम्मेदवार बन्ने हो।  

तपाईंहरू (पत्रकार) ले पनि सहयोग गर्नुपर्‍यो,’ उनले भने। पछिल्लोपटक दुई कांग्रेस एकीकृत भएपछि पनि श्रेष्ठ उपसभापतिको जिम्मेवारीमा पुगिसकेका छन्। सरकारमा पनि उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी समालेका उनले नेतृत्वका लागि आकांक्षा राख्नु अस्वाभाविक होइन। तर उनको तयारी र सभापति देउवासँगको सम्बन्धलाई नजिकबाट नियालेका एक नेताले भने, ‘नेतृत्वमा पुग्ने आकांक्षा होला तर उहाँ उम्मेदवार नै बन्नेजस्तो लाग्दैन।’ देउवाले उपसभापतिमा निधिलाई मनोनित गरेपछि केही असन्तुष्ट श्रेष्ठले पार्टीका नेता तथा कार्यकर्ताको ध्यान आफूतर्फ खिच्न र महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न सभापतिको उम्मेदबार बन्ने बताएको हुनसक्ने ती नेताको अड्कल छ। ‘उहाँलाई सभापतिको उम्मेदवार बन्ने सुविधा विधानले दिएको छ,’ ती नेताले भने, ‘तर सभापतिको उम्मेदवार बन्नेभन्दा पनि उहाँले सबैको ध्यान आफूतिर खिच्न खोजेजस्तो लाग्छ।’

कतिपयले महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न र प्रचारको लालसाले पनि सभापतिको प्रत्यासी बन्ने बताइरहेको ती नेताको टिप्पणी छ। विगतका महाधिवेशनमा पनि सुरुमा नेतृत्वका लागि आकांक्षी धेरै देखिए पनि अन्तिममा २/३ जनामात्र मैदानमा खडा भएको स्मरण गर्दै ती नेताले १४औं महाधिवेशनमा चार जनासम्म उम्मेदवार बन्न सक्ने विश्लेषण सुनाए। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल जस्ता भ्रातृ संगठनमा नेतृत्वको दाबी गर्ने र पछि पदाधिकारीमा सीमित हुने गरेको प्रसंग उल्लेख गर्दै कांग्रेस नेताहरू पार्टीमा पनि त्यही रोग भित्रिन लागेको बताउँछन्। 

सभापतिका आकांक्षी धेरैले पदाधिकारीमै चित्त बुझाउने अवस्था रहेको विश्लेषण गरिँदैछ। देउवा र नेता पौडेलबाहेक नेतृत्वमा आकांक्षी धेरैको व्यवस्थापन पदाधिकारी र सदस्यमा हुनसक्ने कांग्रेस नेताहरूको बुझाइ छ। तर केन्द्रीय सदस्य गुरुराज घिमिरे भ्रातृ तथा शुभेच्छुक संगठनमा जस्तो माथिल्लो पदमा दाबी गरेर तल्लो पदमा आफूलाई सुरसिक्षत गर्ने सम्भावना पार्टीमा नरहेको बताउँछन्। ‘नेतृत्वका लागि प्रतिस्पर्धा गर्छु भनेर पार्टीका नेता तथा कार्यकर्ताको ध्यान आफूतर्फ केन्द्रित (एटेन्सन) गराउने यो पुरानो फर्मुला हो,’ घिमिरे भन्छन्, ‘अब त्यो फर्मुलाले काम गर्दैन। सभापतिमा दाबी गर्ने अनि तल्लो पदमा उठ्ने छुट अब कसैलाई छैन।’ पार्टीको उपसभापति, महामन्त्रीसहितका पदमा युवाले उम्मेदवारी दिने उनको दाबी छ।  

१३औं महाधिवेशनमा सभापतिमा प्रत्यासी बनेका देउवा, पौडेल र कृष्णप्रसाद सिटौलामात्र होइन, उपसभापति निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपभापतिद्वय श्रेष्ठ र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्। संस्थापन इतर समूहबाट एउटा मात्र उम्मेदवार नभए युवा नेताले पनि छुट्टै उम्मेदवारी दिने बताउँदै आएका छन्। कांग्रेसको संशोधित कार्यतालिका अनुसार भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन हुनेछ।

प्रकाशित: २५ असार २०७८ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App