७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसमा ‘फेसन’ बन्दै ‘लन्च मिटिङ’, नेताहरूको कुदाकुद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरू भने ‘लन्च मिटिङ’ मा केन्द्रित बनेका छन्। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि केही राहतको महसुस गरेको संस्थापन इतरका नेताहरू साझा उम्मेदवार बनाउनेभन्दा आ–आफ्नो शक्ति देखाउन सक्रिय भएका हुन्।

संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको उम्मेदवार बन्ने बताएका उपसभापति निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितको लन्च मिटिङ आयोजना गरेपछि कांग्रेसमा यो क्रमले बिस्तारै निरन्तरता पाउन थालेको हो। साझा उम्मेदवार बनाउन छलफल र बहसभन्दा संस्थापन इतरका नेताहरूले आ–आफ्नो दाबी र सहयोग माग्दै एकअर्काका घर पुग्न थालेका छन्। पछिल्ला दिनमा विभिन्न गुटगत भेलामा सहभागी हुन कांग्रेस नेताहरूलाई अहिले भ्याइनभ्याइ छ।

निधि, कोइराला र सिंहले १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफल जारी राखेका बेला सोमबार नेत्री सुजाता कोइरालाले नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको लन्च मिटिङ आयोजना गरेकी छन्। आफू पनि सभापतिको आकांक्षी रहेको जनाउँदै उनले पौडेल र सिटौलालाई १४औं महाधिवेशनमा मिलेर साझा उम्मेदवार तय गर्न सुझाएकी छन्। अन्यथा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सुजाताले उनीहरूसँग सहयोग मागेकी छन्। ‘तपाईंहरू मिल्ने भए मिल्नुस्। यो बेला सबै मिलेर जाँदा पार्टी जोगाउन सकिन्छ,’ सुजाताले पौडेल र सिटौलालाई भनेकी थिइन्, ‘तपाईंहरू मिल्नुहुन्न भने म सभापतिमा लड्छु।’

अझै तोकिएको समयमा महाधिवेशन हुनेमा संशय रहेको जनाउँदै सुजाताले महाधिवेशनको सुनिश्चितता गर्न सबै लाग्नुपर्नेमा पनि जोड दिएकी छन्। लन्च मिटिङमा सहभागी नेता पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै सबैलाई समेटर अघि बढ्न आफू लागि परेको बताएका थिए। सहभागी पूर्वमहामन्त्री सिटौलाले १३औं महाधिवेशनमा पौडेलको पक्षमा उभिएको समूहले साझा उम्मेदवार बनाउन सके आफू सहयोग गर्न तयार रहेको धारणा राखेको स्रोतको दाबी छ। संस्थापन इतर समूहमा त्यस्तो सम्भवना नदेखिएको सिटौलाको विश्लेषण रहेको निकट स्रोतको दाबी छ।

नेत्री सुजातासँगको लन्च मिटिङमा सहभागी हुनुअघि पूर्वमहामन्त्री सिटौलाले बिहान आफ्नै निवासमा युवा केन्द्रीय सदस्यहरूसँग भेटेका थिए। आफ्नै समूह करिबकरिब छिन्नभिन्नको अवस्थामा पुगेका बेला सहभागीहरूले मिलेर १४औं महाधिवेशनमा साझा उम्मेदवार दिन र त्यसपछिको स्थानमा युवालाई ल्याउन आग्रह गरेका थिए। ‘सभापतिमा तपाईंहरू उठ्ने हो भने छलफल गरेर साझा उम्मेदवार तय गर्नुहोला,’ बैठकमा सहभागी केन्द्रीय सदस्य दीपक गिरीले भने, ‘त्यसपछिका पदमा युवालाई ल्याउनुहोला। तपाईंहरू मिल्न सक्नुभएन भने हामी नेतृत्वका लागि तयारी छौं भन्यौं।’ १३औं महाधिवेशनमा नेता पौडेललाई नेतृत्व अस्वीकार गर्दै सिटौलाले सभापतिमा उम्मेदवारी दिएका थिए। तर अहिले पनि सभापति देउवासँग उनको निकटता रहेको निकटहरूको बुझाइ छ।

बिहानै सभापतिमा सहयोग माग्न अर्का आकांक्षी शेखर कोइराला नेता पौडेल निवास पुगेका थिए। सभापतिका आकांक्षी दुवैले आफू नै सभापतिको उम्मेदवारी दिने तयारीमा जुटेको भन्दै एकअर्काले सहयोग मागेका थिए। १३औं महाधिवेशनपछि नै आफूले सभापतिका लागि तयारी थालेको जनाउँदै शेखरले नेता पौडेललाई आम निर्वाचनपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतको दाबी छ। तर पौडेलले त्यसलाई अस्वीकार गर्दै अहिले आफूलाई सभापतिमा सहयोग गर्न र अर्को महाधिवेशनबाट पार्टी नेतृत्व सम्हाल्न आग्रह गरेको निकटहरूको दाबी छ। ‘महाधिवेशनमा एकअर्कालाई सहयोग गर्नेबारे उहाँहरूबीच कुरा भयो,’ निकट एक नेताले भने, ‘कुनै ठोस सहमति भएको छैन। आ–आफ्ना दाबी पेस गर्ने काम भएको छ।’

सोमबार साँझ नै पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि पौडेलसँग १४औं महाधिवेशनमा नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। उनकै निवास पुगेका सिंहले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आम जनताले पार्टी नेतृत्व परिवर्तन गरेर मत माग्न आउनू भन्ने जनादेश दिएको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको पार्टीमा ठूलो योगदान रहे पनि अवसर पाउँदा काम गर्न नसकेको जनाउँदै सिंहले दुवै नेता १४औं महाधिवेशनबाट अविभावकको भूमिकामा बस्नुपर्ने सुझाएका थिए। ‘उहाँ (रामचन्द्र पौडेल) को व्यक्तित्व र योगदान हामी कदर गर्नेछौं,’ सिंहले भने, ‘त्यहीअनुसार पार्टीले उचित स्थान र सम्मान गर्नेछ।’ जनताको आशा र भरोसाअनुसार पार्टी संगठन निर्माणका लागि राम्रो टिमले मात्र नहुने भन्दै सिंहले भने, ‘पार्टीलाई ठीक ढंगबाट हाँक्न सक्ने डाइनामिक लिडर चाहिन्छ।’

त्यस्तो नेतृत्व नहुँदा १३औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर बन्न पुगेको बताउँदै उनले भने, ‘यसअघि पनि मैले उहाँ (नेता पौडेल) लाई छाडेको हुँ। यसपटक मलाई सहयोग गर्नुहोस् भनेको छु।’ जबाफमा पौडेलले आफू पनि नेतृत्वका लागि आकांक्षी रहेको बताउँदै सहयोग गर्न उल्टै सिंहलाई आग्रह गरेका थिए। आफ्नो निवासमा उपसभापति निधि, महामन्त्री शशांक लन्च मिटिङ राखेको अघिल्लो दिन सिंहले पौडेल निवास पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्। मंगलबार तीन नेताको लन्च मिटिङ आयोजना गरेको जानकारी दिँदै सिंहले भने, ‘सहमतिका लागि प्रयासस्वरूप हामी तीनजनाबीच छलफल चलिरहेको छ। सोहीअनुसार भोलि (मंगलबार) मैले लन्च मिटिङको आयोजना गरेको छु।’

यसअघि निधि र शशांकले त्यस्तै मिटिङ आयोजना गर्दै पार्टीका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनरायण सिंहका छोराहरू उनीहरूले आफूहरू एकै ठाउँमा रहेको सन्देश प्रवाह गर्ने प्रयास गरिरहेका छन्। सिंह निवासको लन्च मिटिङपछि उनीहरूले पार्टीका सबै केन्द्रीय सदस्यको भेला शशांकको निवास टोखामा राख्ने तयारी गरेका छन्। यसै बिच पौडेलले मंगलबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठक राखेका छन्।

प्रकाशित: १५ असार २०७८ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App