७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिको खोप कूटनीति तत्काल आउने सम्भावना न्यून

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप कूटनीतिमार्फत नेपालमा कोभिडविरुद्धको खोप भित्र्याउने प्रयास प्रभावहीन देखिएको छ। राष्ट्रपति भण्डारीले खोप उत्पादक मुलुकहरूलाई सम्बोधन गर्दै खोप उपलब्ध गराउन आग्रह गरेको लामो समय बितिसक्दा पनि सम्बन्धित मुलुकहरूले भने तत्कालै खोप उपलब्ध गराउने कुनै संकेत गरेका छैनन्।  

राष्ट्रपति भण्डारीले पहिलोपटक गत जेठ ११ गते भारतीय समकक्षीलाई पत्र लेख्दै खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन्। त्यसको अर्काे दिन अर्थात् जेठ १२ गते उनले चिनियाँ समकक्षीसँग टेलिफोन संवाद गर्दै खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन्। चिनियाँ समकक्षीसँगको कुराकानीपछि चीनले १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धताअनुसार खोप उपलब्ध गराइ पनि सकेको छ। 

चीनसँग खोप कूटनीतिमा सकारात्मक नतिजा देखिएपछि उनले अन्य खोप उत्पादक मुलुक अमेरिका, रुस र बेलायतलाई पनि पत्र लेख्दै खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन्। चीनबाहेक अन्य मुलुकले भने तत्कालै खोप उपलब्ध गराउनेबारे कुनै प्रतिबद्धता जनाएका छैनन्। ‘नेपालले राष्ट्रपतिमार्फत खोप उपलब्ध गराउन पत्राचार गरे पनि तत्कालै ती मुलुकहरूले खोप उपलब्ध गराउनेबारे सकारात्मक संकेत दिएका छैनन्,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने।  

मन्त्रालयका अनुसार पत्र पठाइएका मुलुकहरूले राष्ट्रपतिको पत्रका लागि धन्यवाद व्यक्त गर्दै नेपाललाई प्राथमिकता दिने बताइरहेका छन्। तर तत्कालै खोप दिनेबारे भने उनीहरू मौन देखिएका छन्। ‘राष्ट्रपतिको पत्रपछि मन्त्रालयले सम्बन्धित मुलुकसँग निरन्तर सम्पर्क बनाइरहेको छ। तर तत्कालै खोप आउनेबारे भने प्रतिबद्धता आएको छैन,’ मन्त्रालयका ती अधिकारीले भने।  

राष्ट्रपतिको पत्रपछि नेपालको महŒवपूर्ण विकास साझेदार अमेरिकाले छिट्टै खोप उपलब्ध गराउने बताइएको थियो। राष्ट्रपतिको आग्रहलगत्तै अमेरिकाले तत्कालै खोप दिन लागेको भन्दै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले त्यसको व्यापक प्रचारप्रसारसमेत गरेका थिए। तर अमेरिकाबाट तत्कालै खोप आउने विषयमा नेपालस्थित अमेरिकी दूतावासले अनभिज्ञता प्रकट गरेको छ। ‘तत्कालै खोप आउने विषयमा कुनै जानकारी छैन,’ दूतावासका एक अधिकारीले भने।  

अमेरिकाले आफ्ना महत्वपूर्ण रणनीतिक साझेदार मुलुकहरूलाई सिधै खोप उपलब्ध गराउने जनाएको छ। तर सामरिक हिसाबले महत्वपूर्ण मानिने नेपाललाई भने अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने जनाएको छ। कूटनीतिक मामिलाका जानकारहरू नेपाल सामरिक हिसाबले महत्वपूर्ण ठाउँमा हुँदाहुँदै पनि रणनीतिक हिसाबले अमेरिकाको प्राथमिकतामा पर्न नसक्नुका पछाडि राजनीतिक नेतृत्वको कूटनीतिक असफलताका रूपमा अथ्र्याउने गरेका छन्। 

राष्ट्रपति भण्डारीले आन्तरिक राजनीतिक घटना क्रममा सक्रियता देखाउँदै संसद् विघटनलाई सदर गरेर विवादित बनिरहेका बेला गुमेको साख जोगाउने प्रयत्नस्वरूप खोप कूटनीतिको प्रयास गरेकी थिइन। तर, उनको त्यो प्रयास सफल हुन सकेन। मुलुकमा कार्यकारी सरकार प्रमुख हुँदा हुँदै आलंकारिक राष्ट्र प्रमुखले कार्यकारी भूमिका निर्वाह गर्न खोजेको भन्दै कतिपयले राष्ट्रपतिको खोप कूटनीतिको प्रयासलाई आलोचना गरेका थिए।  

कतिपयले भने संकटका बेला सकारात्मक परिणाम आएको खण्डमा त्यसलाई अन्यथा मान्न नहुनेसमेत बताएका थिए। ‘उहाँले गरेको प्रयासको परिणाम आएको भए त्यसलाई सकारात्मक मान्न सकिन्थ्यो। तर प्रयासअनुसारको परिणाम आएन। त्यो तहबाट काम गर्दा धेरै सोचेर मात्र गर्नुपथ्र्याे, जुन भएन,’ पूर्वराजदूत जयराज आचार्यले भने। राष्ट्रपतिले पत्र लेख्दा भारतका आलंकारिक राष्ट्रपति तथा बेलायतकी महारानीलाई सम्बोधन गरेर पत्र लेखेको भन्दै उनले आलंकारिक व्यक्तिलाई सम्बोधन गरेर नतिजा नआउने बताए। 

‘सरकारले सम्बन्धित मुलुकका राजदूतहरूलाई पनि सक्रिय बनाउनुपथ्र्याे, त्यस्तो देखिँदैन। अर्काेतर्फ माथिल्लो तहबाट प्रयास गर्दा हुने कुरामा मात्र हात हाल्नुपथ्र्याे। नहुने कुरामा हात हालेर हुँदैन,’ उनले भने। राष्ट्रपतिलाई खोप कूटनीतिको प्रयास गर्न दिइएको सल्लाह नै ठीक नभएको आचार्य बताउँछन्। परराष्ट्र मन्त्रालयले भने सम्बन्धित मुलुकका राजदूतहरूमार्फत सक्रिय पहल गरिरहेको जनाएको छ। मन्त्रालयको पहलकै कारण पछिल्लो समय विभिन्न मुलुकबाट महत्वपूर्ण स्वास्थ्य सामग्री नेपाल आइरहेको मन्त्रालयले जनाएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कार्यक्रममा बोल्दै सबै जनतालाई छिट्टै कोभिड विरुद्धको खोप उपलब्ध गराउने दाबी गर्दै आएका छन्। सरोकारवाला निकाय स्वास्थ्य मन्त्रालयले पनि नेपालले छिट्टै खोप ल्याउन लागेको भन्दै सूचनाहरू सम्प्रेषण गर्दै आएको छ। तर, खोप आयातका लागि सहजीकरण गर्दै आएको परराष्ट्र मन्त्रालयले भने तत्कालै खोप आयातबारे कुनै प्रगति नभएको जनाएको छ। ‘सबै तर्फबाट प्रयास जारी छ। तर, हालसम्म सकारात्मक संकेत देखिएको छैन,’ मन्त्रालयका एक अधिकारीले भने।  

राष्ट्रपति भण्डारीले मात्र होइन, प्रधानमन्त्री ओली आफैंले पनि खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्दै आएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपाल कोरोना भाइरसबाट प्रताडित भएको बताउँदै उनले सहयोगको याचना गरिरहेका छन्। तर, खोप आयातमा भने सन्तोषजनक प्रगति हुन सकेको छैन। दुई छिमेकी भारत र चीनबाट निश्चित मात्रामा खोप आए पनि सरकारले खरिद प्रक्रियामार्फत खोप ल्याउन गरेका प्रयासमा भने प्रगति देखिएको छैन। यसलाई कतिपयले सरकारको कूटनीतिक असफलता भन्ने गरेका छन्। संकटका बेला सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको याचना गर्दा समेत सहयोग प्राप्त नहनुले सरकार कूटनीतिक रूपमा असफल भएको पुष्टि हुने कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्।

प्रकाशित: १० असार २०७८ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App