विपक्षी दलको गठबन्धनले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको जनाएको छ । गठबन्धनका शीर्ष पाँच नेताहरुले आज संयुक्त विज्ञप्तिमार्फत संविधानको मर्म विपरीत प्रतिनिधिसभाको दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायमाथि हस्तक्षेप, राजनीतिक दलमा विभाजन, कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा प्रदान गर्न असक्षमता एवम् बाढी, पहिरो र डुबानमा पूर्वतयारीको अभाव जस्ता आरोप लगाउँदै यसमा सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखिएको जनाएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले सरकारले राष्ट्रिय हित एवं जनताको समृद्धितर्फ अग्रसर हुनाको साटो तीन वर्ष नबित्दै राजनीतिलाई अस्थिर तुल्याएको तथा आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पु¥याएको टिप्पणी गरेका हुन् ।
‘निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारीअनुरुप निष्पक्षरुपमा काम नगरी कानून र न्यायसंग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय हो । यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पु¥याउँछ । यस्ता गलत गतिविधिहरु अविलम्ब बन्द गरिनुपर्छ’, विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनले संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय हितको रक्षा, कोरोना महामारी तथा बाढी, पहिरो र डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथा पुनःस्थापना एवं जनताका अपेक्षा एवं आवश्यकताका दिशामा एकताबद्धरुपमा अघि बढ्न आफू प्रतिबद्ध रहेको जनाउँदै देश र जनताको सर्वोपरी हित, संविधान, लोकतन्त्र र कानूनी शासनको संरक्षण एवं सम्बद्र्धनका लागि भूमिका खेल्न सबैमा आह्वान गरेको छ ।
प्रकाशित: ८ असार २०७८ १५:२३ मंगलबार