coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दाङमा महानगर : ‘राजनीतिक बेईमानी छोप्न महानगरको पासा’

तस्बिर : महानगर घोषणाको बिरोधमा पत्रकार सम्मेलन गर्दै कांग्रेस नेता भुपबहादुर डाँगी ।

लुम्बिनी प्रदेश सरकारले दाङमा महानगरपालिका बनाउने महत्वाकांक्षी योजना घोषणा गर्यो। जिल्लाका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरलाई गाभेर महानगरपालिका बनाउने योजना प्रदेश सरकारको छ। तर आवश्यक पूर्वाधार बिनै महानगरपालिका निर्माण गर्ने योजना जायज नभएको भन्दै जिल्लामा कृयाशिल बिपक्षी गठबन्धनका राजनीतिक दलहरुले यसको बिरोध गरेका छन्। उनिहरुले यसलाई ‘राजनीतिक बेईमानी’ ढाकछोप गर्ने प्रपञ्च मात्रै भएको दाबी गरेका छन्।  

नेपाली कांग्रेसका जिल्ला नेता भुपबहादुर डाँगीले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेरै प्रदेश सरकारले महानगरपालिका बनाउनका लागि गरेको तयारीको बिरोध गरे। महानगरपालिका बनाउनका लागि मापदण्डै नपुगने अवस्थामा जवरजस्ती महानगरपालिकाको तयारी गर्नु जायज नभएको भन्दै उनले भने ‘जनतालाई थप असुविधा दिने गरि ल्याईएको यो प्रपञ्चको सबैले खुलेरै बिरोध गरौँ।’  

उपमहानगरपालिका बनाउने भनिएको स्थानको स्रोत साधन,जनसंख्याको अवस्था, सडक, बिद्युत,अस्पताल, सभागृह,आर्थिक स्रोत, पर्यटन,उद्योग कलकारखाना जस्ता आधारभुत बिषयको अवस्था महानगरपालिका निर्माणका लागि मापदण्ड अनुसारको उपलब्धता छैन।  

फलतः भूगोललाई मात्रै ठूलो बनाएर जनतालाई सास्ती दिने गरि प्रदेश सरकारले महानगरको योजना अघि सारेको कांग्रेस क्षेत्र नम्बर २ का सभापति डाँगीले बताए । ‘प्रदेश सरकारले भूगोललाई मात्रै ठूलो बनाउन खोज्यो, तर महानगरपालिका बनाउनका लागि चाहिने आवश्यक मापदण्डका बारेमा ध्यान दिन सकेन,’ उनले भने ‘भूगोल मात्रै ठूलो बनाएर जनताले अनावश्यक सास्ती पाउने मात्रै हो।’  

नेकपा एमाले माधव कुमार नेपाल समुहका जिल्ला अध्यक्ष टिकाराम खड्काले हालका दुई उपमहानगरपालिकाको अवस्थालाई हेर्दा अबको १० बर्ष पछि मात्रै उपमहानगरको परिकल्पना गर्न सकिने बताउँछन्। उनले महानगरमा गाभ्ने भनिएका दुई उपमहानगरपालिका घोराही र तुलसीपुर नगरपालिका भन्दा माथि उठ्न नसकेको भन्दै महानगरपालिकाको काम कसरी गर्न सक्ने ? भन्दै प्रश्न गरेका छन् ।  

‘अहिले दुई उपमहानगरपालिकाको अवस्था हेर्नु भयो भने उनिहरु नगरपालिका भन्दा माथि उठुन सकेको स्थिती छैन,’ उनले भने ‘ उपमहानगरपालिका त सुरुमा व्यवहारतः उपमहानगरपालिकाको अवस्थामा आउनु पर्यो नि, ब्यवहारतः उपमहानगरपालिका चल्न नसकेको ठाउँमा महानगरपालिकाको परिकल्पना गर्न सुहाउने कुरा हो ?’ उनले महानगरपालिकाका बनाउनका लागि हुनुपर्ने कुनै पनि आधारभुत बिषय जिल्लामा नरहेको दाबी गरे ।

कृषि तथा पर्यटकीय एबं औद्यागिक क्षेत्रको जिल्लामा टुंगो लागको छैन । नत स्वास्थ्य सेवा गामिण तह सम्म पहुँचमा छ । तुलसीपुरमा रहेको बिमानस्थललाई बजेट नदिएर संघीय सरकारलेनै बन्द गराउन खोजेको दाबी खड्काको छ । यसैगरि तीन बर्ष देखि नारायणपुरमा बनाउने भनिएको अन्तर्राष्ट्रिय बिमानस्थलको डिपिआर हाल सम्म हुन सकेको छैन । सडक सञ्जालको अवस्था दयनीय छ ।  

‘महानगरपालिका बनाउने भनेर घोषणा गरेर मात्रै हुन्छ ? महानगरपालिका बनाउनका लागि चाहिने आधारभुत बिषयहरुको मापदण्ड पुरा हुनुपर्दैन ?’ खड्काले भने ‘अन्तर्राष्ट्रिय खेलमैदान, अन्तर्राष्ट्रिय बिमानस्थल खोई ? शिक्षा, स्वास्थ्य, रोजगारीको पहुँच बिस्तार कहाँ भएको छ ? महानगरपालिका बनाउनका लागि यि बिषयहरु नचाहिने हो र ?’  यथावस्थामा महानगरपालिका निर्माण गरिए जनता माथिको करको भार थोपरिने बाहेकको अर्को उपलब्धी नहुने उनको दाबी छ । ‘महानगरपालिका बन्यो भने स्थानीयहरुमा करको दायरा बढ्ने हो,’ खड्काले भने ‘महानगरपालिका बन्यो भने स्थानीयहरुलाई हुने फलदायि बिषय मैले केहि देखेको छैन ।’  

उनले अबको पाँच बर्ष सम्म भौतिक पूर्वाधार निर्माणमा जोड दिएर त्यसपछि मात्रै दाङमा महानगरपालिकाको परिकल्पना गर्न सकिने बताए । त्यसोत, खड्काले मुख्यमन्त्री शंकर पोखरेलले महानगरको योजनालाई चुनावी अस्त्रका रुपमा फ्याँकेको दाबी समेत गरे । उनले भने ‘महानगरपालिका बनाउने पासा फालेर फेरी चुनावी परिणामलाई आफ्नो पोल्टामा पार्न सकिन्छ भन्ने मानसिकताले उहाँले यो योजना ल्याउनु भएको हो, तर यो कुनै पनि हालतमा सम्भव हुने योजना हैन ।’  

खड्काले भनेजस्तै नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले पनि पोखरेलले आफ्नो अराजनीतिक गतिविधि ढाकछोप गर्नलाई मात्रै महानगरको योजना ल्याएको दाबी गरे । यसलाई राजनीतिक अजेण्डाका रुपमा अथ्र्याएका उनले महानगर बनाउने बिषय राजनीतिक बिषय भन्दा प्राविधिक बिषय बन्नु पर्ने बताए ।  

‘प्रदेश सरकारको नेतृत्व लिईँरहँदा उहाँबाट भएका विभिन्न राजनीतिक कमि कमजोरीलाई ढाकछोप गर्नका लागि ल्याईएको योजनाका रुपमा यो आएको हो,’ आचार्यले भने ‘राजनीतिक बिषय बनाएर उहाँले गरेको यो अर्को राजनीतिक बेईमानी हो ।’ महानगरपालिका बनाउनका लागि गरिनु पर्ने आधारभुत कामहरु नगरेरै महानगरपाालिका घोषणा गरिनु किमार्थ जायज निर्णय नभएको उनको दाबी छ ।  

‘यति सजिलै महानगरपालिका बनाईदिने ? प्राविधिक बिषयको बारेमा हेक्का नराखेरै महानगरपालिका बन्ने कुरा हो ?’ आचार्यले भने ‘आफ्नो नालायकीपन ढाकछोप गर्नका लागि महानगरको पासा फ्याँकिएको मात्रै हो, अरु केहि हैन ।’ आँफू महानगरपालिका निर्माणको बिरोधमा नरहेको तर महानगरपालिका निर्माणका लागि आवश्यक पूर्वाधार बिकास अपरिहार्य हुनुपर्ने उनको भनाई छ।

प्रकाशित: ८ असार २०७८ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App