coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरेलले पाए विश्वासको मतः पक्षमा ३१, बिपक्षमा २७

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबार उनले विश्वासको मत माग्दा उनलाई बहुमत सदस्यले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री पोखरेललाई ३१ प्रदेश सभा सदस्यले विश्वासको मत र २७ सदस्यले बिपक्षमा मत दिएकाले मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गरेको गण्डकी प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।

मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा)का २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २७ सांसदले भने विश्वासको मतको बिपक्षमा मतदान गरे ।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा १, २ र ३ बमोजिम बनेका सरकारले विश्वासको मत प्राप्त नगरेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शुक्रबार पोखरेलले विश्वासको मत प्राप्त नगरेको भए प्रदेश सभा विघटन हुने थियो ।

यसअघि नेकपाको दुई तिहाई मतबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार चलिरहँदा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताईदिएपछि माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता गरेको थियो । राष्ट्रिय राजनीतिमा आएको उतारचढाव पछि जनमोर्चाले पनि समर्थन फिर्ता लिएपछि गुरुङ अल्पमतमा परेका थिए । त्यहिबेला कांग्रेस, माओवादी केन्द्र र जसपाले गठबन्धन बनाएर अविश्वासको प्रस्ताव ल्याएका थिए । 

अविश्वासको प्रस्तावमा जनमोर्चालेसमेत समर्थन जनाएपछि अल्पमतमा परेका गुरुङले राजीनामा दिएका थिए । तर संविधानको धारा १६८ को २ बमोजिम बहुमतको सरकार गठन गर्न नसकेपछि उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गर्दै गुरुङ दोश्रो पटक मुख्यमन्त्री बनेका थिए । तर सोहि उपधारा ४ अन्तर्गत विश्वासको मत नपाएपछि एमाले सरकार गिरेको थियो ।

प्रकाशित: ४ असार २०७८ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App