७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘तालतालका मन्त्री’, ‘गज्जब–गज्जबका’ टेको

सरकार तासको घरजस्तो छ। कति बेला ढल्छ?, कति बेला बदलिन्छ पत्तो छैन्। त्यसैले यसलाई जोगाउन भटाभट मन्त्रालयको टेको लगाउन थालिएको छ। ‘तालतालका मन्त्री’ नियुक्त गरेर सरकार जोगाउने खेल केन्द्रदेखि प्रदेशसम्म फैलिएको छ।  

अघिल्लो बिहीबारको मन्त्रिपरिषद् विस्तारमा छनोट गरिएका संघीय सरकारका टेको पनि ‘गज्जब–गज्जबका’ छन्। यसले जनतालाई कसरी सुविधा दिन्छभन्दा पनि सरकार कसरी सुविधाजनक स्थितिमा रहन्छ? भन्ने ध्यान राखिएको छ। जस कारण परिवारवाद, डनवाद सबै हावी भएका छन्।  

कतिसम्म भने सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गरिँदासमेत प्रधानमन्त्री ओलीले संसदसँग सामना गर्न यी टेकोहरु तयार गरिएको संकेत देखिन्छ।  

जस्तोकि उनले रामबहादुर थापा बादललाई मन्त्री बनाउन  नमिलेपछि उनकी पत्नी नैनकला थापालाई संचारमन्त्री बनाएर टेको मजबुत बनाउने प्रयास गरे। आफ्नालाई विश्वासमा लिएर पराईलाई मन्त्रालय दिने उनको इरादा प्रष्ट देखियो। त्यसैले होला महेश बस्नेतहरु मन्त्री छान्नुको साटो माओवादी छाडेर आएकी ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाए।  

सरकार जोगाउनै उनले २५ सदस्यीय मन्त्रिपरिषद्मा २० सांसद रहेको जसपाको महन्थ ठाकुर–राजेन्द्र महतोको समूहलाई ११ थान मन्त्री दिए। संसदीय गणितको खेल राम्ररी बुझेका प्रमले मन्त्रीको क्षमता र कार्यदक्षताभन्दापनि संख्यालाई ध्यानमा राखेर सरकार जोगाउने खेलमा  अगाडि बढेका छन्।  

सरकार जोगाउन मन्त्रालयको टेको हाल्ने चलन प्रदेशमा त झनै व्यापक छ। कर्णालीमा माओवादी सरकार जोगिएको घटना होस् या लुम्बिनीमा एमाले सरकार। सबैमा मन्त्रालयको टेको नै काममा आएको देखियो।  

तर सरकार जोगाउन हालिएका टेको सँधै काम लाग्छ भन्ने चाहिँ छैन। जसको पछिल्लो उदाहरण गण्डकीमा देखियो। एमाले मुख्यमन्त्रीले मूलथाम ठानेर मन्त्रालयमा भित्रिएका दिपक मनाङे  अर्को सरकारको टेको बन्न उभिए। सरकारले टेको फेरेजस्तै यस पटक टेकोले सरकार फेर्याे।  

सरकार ढलेलगत्तै पृथ्वी सुब्बाले मनाङेबारे गरको टिप्पणी थियो – ‘सबै डाँकु बाल्मिकी  नहुँदा रहेछन्।’ डाँकुमात्र हैन, स्वार्थको लागि लगाइएका मन्त्रालयका कुनैपनि टेकाहरु बाल्मिकी हुँदैनन्। सत्ता टिकाउन सरकारले टेको फेर्दा केही समय टिक्ला।  तर जब टेकोले सरकार फेर्न खोज्छ, तब बलियो भनिएको सत्ता पनि गल्र्यामगुर्लुम्म ढल्छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App