१५ चैत्र २०८० बिहीबार
राजनीति

पूर्व मुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सम्मान दिने ऐन बनाउने भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठित प्रदेश सरकारको आइतबार विहान बसेको पहिलो मन्त्रीपरिषद् बैठकले पूर्व मुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने निर्णय गरेको हो ।  

‘कस्तो सम्मान दिने भन्ने अहिले निर्णय भएको छैन,’ प्रदेश सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका विना विभागीय मन्त्री कुमार खड्काले भने, ‘पूर्व मुख्यमन्त्रीलाई सम्मान दिनका लागि ऐन बनाउने भन्ने निर्णय भएको छ ।’ उनले पूर्व मुख्यमन्त्रीको मर्यादामा कुनै कमी नआउने गरेर मान, सम्मान दिनका लागि श्रोत र साधनको अवस्था हेरेर निर्णय गर्ने सहमति भएपनि निर्णय नभएको बताए । 

बैठकले बिना विभागीय मन्त्री कुमार खड्कालाई सरकारको प्रवक्ता पनि तोकेको छ । सरकारका प्रवक्ता तथा मन्त्री खड्काले सरकारले चाँडै विश्वासको मत लिने बताए । ‘विश्वासको मत चाँडै लिने तयारीमा मुख्यमन्त्री हुनुहुन्छ,’ उनले भने ।

यसअघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत नलिई बजेट नल्याउन दवाब दिएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अहिले आफै मुख्यमन्त्री भएपछि उनलाई पनि विश्वासको मत नलिई बजेट ल्याउन अप्ठेरो परेको छ । तर असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहनु र त्यसअघी २ दिन मात्र रहेकाले सरकारलाई विश्वासको मत लिएर मात्र बजेट ल्याउन सकस हुने देखिन्छ । मन्त्री खड्काले मुख्यमन्त्रीसँगै अर्थ मन्त्रालय पनि भएकाले बजेट वाचन मुख्यमन्त्री आफैले गर्ने जानकारी दिए । बजेट अघि निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग मुख्यमन्त्री पोखरेलले छलफल गर्ने मन्त्री खड्काले बताए ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App