७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस महाधिवेशन मितिः भदौ १६ देखि १९ सम्म नयाँ कार्यतालिका प्रस्ताव

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्नका लागि हरसम्भव प्रयास गर्ने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारीसहितको बैठकले पूर्वर्निधारित कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन पर सार्ने प्रस्ताव गरिएको हो।  

प्रस्तावित कार्यतालिका अनुसार १४औं महाधिवेशन भदौ ७ को साटो भदौ १६ देखि १९ गतेसम्म गर्ने नयाँ मिति केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने समझदारी बनेको छ। यसअघि कांग्रेसले १४औं महाधिवेशन ७ देखि १०भदौसम्म काठमाडौंमा गर्ने निर्णय गरेको कोरोना भाइरसको संक्रमण र संगठन समायोजनसहित क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पुरा नहुँदा सम्पूर्ण कार्यतालिका प्रभावित भएको छ।

पार्टी विधानले दिएको एक वर्षको अतिरिक्त सुविधा प्रयोग गरेको कांग्रेसका लागि आगामी भदौभित्र महाधिवेशन गर्नेपर्ने संवैधानिक बाध्यता छ। तर, संगठन समायोजनको काम नसकिँदा क्रियाशील सदस्यता वितरणको काम अझै नसकिएको र कोरोना भाइरसको संक्रमण जोखिम अझै कम नभएको भन्दै पदाधिकारी बैठकमा महाधिवेशनको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका थिए।

संक्रमणका कारण भदौंमा महाधिवेशन सम्भव छैन, विकल्प खोजौं भनेर विभिन्न विकल्पहरू प्रस्तुत भएका छन्। तर, अहिले विकल्प खोज्न भन्दा भदौमै महाधिवेशन गर्न हरसम्भव प्रयास गरौ भन्ने भएको छ।  

स्वास्थ्य संकट रहेको अहिलेको समय आम पार्टी नेता तथा कार्यकर्ताको जनस्वास्थ्य संकटमा पार्न नहुने भन्दै कोरोना भाइरसको एक वर्षलाई शून्य समय मानेर अर्को वर्ष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए। केही नेताले १३औं महाधिवेशनको क्रियाशील सदस्यताको आधारमा भदौमै महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए। पार्टी विधानले निर्वाचित केन्द्रीय समित भनेको भन्दै तल्लो तह(जिल्ला जिल्ला)मै मतदान गरेर भए पनि महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए। केही नेताहरूले एक डेढ वर्षका लागि विशेष महाधिवेशन गर्नुका लागि प्रस्ताव बैठकमा गरेको सहभागी एक नेताले जानकारी दिए।

नेताहरूको आफू अनुकूलको प्रस्ताव मुखमुखमा रहेको सुनाउँदै ती नेताले भने, ‘सहसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीको संख्या थप गरेर सबैलाई मिलाएर जाने विषयमा पनि छलफल भए। तर, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन भदौमा सम्पन्न गर्न हरसम्भव प्रयास गर्ने बैठकमा सहमति बनेको बताए। ‘संक्रमणका कारण भदौमा महाधिवेशन सम्भव छैन विकल्प खोजौं भनेर बैठकमा विभिन्न विकल्पहरू प्रस्तुत भएका छन्,’ केसीले भने, ‘अहिले विकल्प खोज्न भन्दा भदौमै महाधिवेशन गर्न हरसम्भव प्रयास गरौ भनेर केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सार्नेगरी नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ।’

संशोधित कार्यतालिका अनुसार रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिलाई सदस्यताको अन्तिम सूची असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउनुपर्ने जनाइएको छ। ४ लाख बढी नयाँ क्रियाशील सदस्यता थपेको कांग्रेसले असार २०भित्र सदस्यता छानबिन गरेर केन्द्रीय समितिमा पेश गर्न निकै कठिन रहेको छानबिन समितिका एक सदस्यले बताए। २० दिनमा सदस्यता छानबिन समितिले न्यूनतम प्रक्रिया पुरा गर्न पनि कठिन रहेको बताउँदै ती सदस्यले भने, ‘एक लाख बढीको सदस्यताका विषयमा प्रश्न उठेका छन्। त्यसलाई निरूपण गर्न उक्त समयमा कठिन छ।’

केन्द्रीय समितिबाट अनुमोदन भएको क्रियाशील सदस्यतलाई सभापतिले प्रमाणित गरेर असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएको छ। असार ६ गतेबाटै गाउँ नगर वडा अधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले एक महिना पछि धकल्दै साउन ६ गतेबाट सुरु गर्ने प्रस्ताव गरिएको छ। गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गतेका लागि प्रस्ताव गरिएको छ।

त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला र भदौ १ र २ गते प्रदेश अधिवेशन गर्ने भनिएको छ। महाधिवेशनको संशोधित कार्यतालिका पारित गर्न कांग्रेसले असार ३ गते दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। कांग्रेसको १३औं महाधिवेशन भएको भदौमा साढे पाँच वर्ष हुन्छ। कुनै पनि राजनीतिक दलले प्रत्यक साढे पाँच वर्षमा आफ्नो महाधिवेशन गर्नै पर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App