८ वैशाख २०८१ शनिबार
राजनीति

विश्वविद्यालयले सम्बन्धन दिन पाउने कुरा कलेजको सामर्थ्यमा भरपर्ने : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयले सम्बन्धन दिन पाउने कुरा कलेजको सामर्थ्यमा भरपर्ने बताएका छन्।  

चिकित्सा सेवा आयोगको सातांै बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कुन विश्वविद्यालयले कतिवटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामर्थ्यमा भरपर्ने बताएका हुन्।

विश्वविद्यालयले कति वटासम्म क्याम्पसको अनुगमन र परीक्षा सञ्चालन गर्न सक्छ भन्ने कुरा मुल्यांकन गरी सोहीअनुसार सम्बन्धन दिन पाउने गरी कोटा तोकिनुपर्ने भनाइ प्रधानमन्त्रीको थियो। ‘त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुनसक्छ। भर्खरै खुलेको विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ’, उनले भने।

सोही अवसरमा उनले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोहीअनुरूप  शैक्षिक नीति नियम बनाउन निर्देशन दिए। प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो? कति मध्यम स्तरको जनशक्ति कति सामान्य प्राविधिक जनशक्ति?यसको हिसाब हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले फोक्सो, कलेजो, मृगौला, क्यान्सरजस्ता रोगहरुमा समेत कति जनशक्ति आवश्यक छ भन्ने कुराको चित्रण प्रष्ट रुपमा गरिनु पर्ने धारणा राखेका थिए।

अस्पतालहरुमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत बताए।  

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमहरुतर्फ औंल्याउँदै प्रधानमन्त्री ओलीले यसका कार्यक्रम आवश्यक हुन् भने चलाउन र आवश्यक छैनन् भने तत्काल बन्द गरिनुपर्ने विचारसमेत राखे। ‘गाउँमा अहिले महिला स्वास्थ्य स्वंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन्। शहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन्। त्यसैले ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा मात्र पनि ठूलै उपलब्धि हुन्छ’, प्रधानमन्त्रीको भनाइ थियो।  

चिकित्सा शिक्षा आयोगको दुईवर्ष व्यस्त रहेपनि उपलब्धिका हिसाबले सन्तुष्ट हुने स्थिति नरहेको प्रधानमन्त्रीले बताए। ‘नकारात्मक सोचका साथ नियम बनाउने र व्याख्यामा थप नकारात्मक ढंगले जाने कामले उल्झनमात्र सृजना गर्छ,’ उनले भने। 

प्रकाशित: २८ जेष्ठ २०७८ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App