coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसपा यादव–ठाकुर टकराव: एकले अर्कोलाई पार्टीबाट निकाला

जनता समाजवादी पार्टी (जसपा) भित्र दुई कित्तामा उभिएका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार एकले अर्कोलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेका छन्। सुरुमा यादवले ठाकुरलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालिएको घोषणा गरे। त्यसलगत्तै ठाकुरले काउन्टर जबाफ दिँदै यादवलाई पार्टीबाट निष्कासन गरे। यादवले ठाकुरमात्र नभई उनी निकट राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पनि पार्टीबाट निष्कासित गरेका छन्। ठाकुरले भने यादवलाई मात्र कारबाही गरी निकालिएको घोषणा गरेका छन्।

यसबारेमा दुबै पक्षले मंगलबार नै निर्वाचन आयोगलाई जानकारी गराएको छ। यादव पक्षले निर्वाचन आयोगलाई पठाएको चिठीमा दर्ता किताबबाट ठाकुरसहित ४ जनाको नाम हटाउन आग्रह गरेको छ। ठाकुर पक्षले आयोगलाई पठाएको चिठीमा दर्ता किताबबाट यादवको नाम हटाउन भनिएको छ।

कारबाहीको प्रक्रिया पुर्‍याउन आइतबार दुवै पक्षले एकले अर्कोलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जबाफ दुवै पक्षले दिएको थिएन। यसअघि दुवै पक्षले यही जेठ ११ गते ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए। तीनदिने स्पष्टीकरणको जबाफ नआएपछि फेरि २४ घण्टे पत्र पठाइएको थियो।

यादवले कारबाहीस्वरूप पार्टीको साधारण सदस्यताबाट निकालेको घोषणा गर्नेबित्तिकै त्यसको जबाफी कारबाही गर्न ठाकुर पक्षका नेताहरू बिहानैदेखि छलपलमा जुटेका थिए। छलफल गर्न ठाकुरले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा बैठक बोलाएका थिए। बैठक औपचारिक भए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राखेर ठाकुर पक्षले कारबाहीसम्बन्धी विज्ञप्ति र पत्रमा लेख्ने भाषा पहिला नै तयार पारेर राखेको थियो। 

यादवले पार्टीबाट निकालेको घोषणा गरेलगत्तै नेताहरूले पहिला तयार पारेर राखिएको विज्ञप्ति र पत्रमा ठाकुरको हस्ताक्षर गराएका थिए। ठाकुरले हस्ताक्षर गर्नेबित्तिकै ठाकुर पक्षका नेताहरू निर्वाचन आयोग पुगेका थिए। त्यसभन्दा पहिले ठाकुरलगायतलाई गरिएको कारबाहीबारे जानकारी गराउन यादव पक्षका नेताहरू आयोगमा पुगेका थिए।

दुवै पक्षले एकले अर्कोलाई मधेस विरोधी भएको, पार्टीले स्पष्टीकरण दिने मौका दिँदादिँदै पनि नदिएको, मधेस आन्दोलनको भावनाविपरित काम गरेको, पार्टी एकताको भावना कुल्चेको लगायतका आरोप लगाएको छ। यादवले संकटग्रस्त केपी शर्मा ओली नेतृत्वको सरकारलाई काँध थापेको, ओलीले मधेसका माग पूरा गर्छन् भन्ने भ्रर्म सिर्जना गरेको आरोप ठाकुरमाथि लगाएका छन्। गत वर्ष तत्कालीन समाजवादी पार्टी फुट्नै लागेको बेला आफूले फुट्नबाट जोगाएको स्मरण ठाकुरले यादवलाई गराएका छन्।

दुवै पक्षले आफूलाई आधिकारिक जसपा देखाउन कसरत गरिरहेका छन्। जसपाले पहिला निर्वाचन आयोगमा बुझाएको विधानमा सकेसम्म कार्यकारिणी समितिको सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने उल्लेख छ। अहिलेसम्म कार्यकारिणीमा यादव पक्ष बहुमतमा छ। ५१ सदस्यीय कार्यकारिणी समितिमा २८ जनाभन्दा बढी यादव पक्षमा छन्। पूर्वराजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र यादव कित्ता परिवर्तन यादव पक्षमा पुगेका छन्। यादव पक्षबाट कित्ता परिवर्तन गरी ठाकुर पक्षमा गएका सांसद भने कार्यकारिणी समितिका सदस्य छैनन्। 

त्यसैले कार्यकारिणीमा यादव पक्ष बहुमतमा छ। कार्यकारिणी समितिका सदस्य विजय यादवले बहुमत सदस्यको निर्णयबाट ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरिएको बताए। ‘कार्यकारिणीमा हामी प्रष्ट बहुमतमा छौं। त्यसैले जसपाको आधिकारिकता विषयमा विवाद छैन’, उनले भने, ‘बहुमत जोसँग आधिकारिकता त्योसँगै हुन्छ।’ ठाकुर पक्षका नेता प्रमोद साहले भने बहुमत कसको पक्षमा छ भन्ने अझै प्रष्ट अवस्था नभएको बताए।

कार्यकारिणीमा बहुमत जुटाउन ठाकुर पक्षका नेताहरू सक्रिय भएका छन। बहुमत पुग्ने अवस्था नआए पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याउन ठाकुर पक्षका नेताहरूले प्रधानमन्त्री ओलीलाई आग्रह गरेको स्रोतले बतायो। ठाकुर सरकारमा जानुअघि नै पार्टी विवाद÷विभाजनको टुंगो लगाउन सक्रिय छन्। ठाकुर पक्षका एक नेताले भने, ‘सकेसम्म कार्यकारिणी समितिमा बहुमत जुटाउने हाम्रो प्रयास हुनेछ। त्यो नभए पुरानो राजपा ब्युँझाउँछौं।’ गत वर्ष तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको हो।

प्रकाशित: १९ जेष्ठ २०७८ ०१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App