६ वैशाख २०८१ बिहीबार
राजनीति

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन

कोरोना भाइरसको बढ्दो संक्रमण र क्रियाशील सदस्यताका टुंगो लाग्न नसक्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ। कांग्रेसले संवैधानिक सहारा लिँदै भदौ पहिलो साता काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको दोस्रो लहर बढेसँगै अन्योल सिर्जना भएको हो।

कोरोना संक्रमण तीव्र बनेपछि कांग्रेसले यसअघि सार्वजनिक गरेको महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएको छ। महाधिवेशनको पूर्वाधारकारूपमा रहेको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम पनि अझै सकिएको छैन। एकमात्र निर्वाचन क्षेत्र भएका ३० भन्दा बढी र अन्य केही जिल्लाले मात्र अहिलेसम्म सदस्यता नवीकरण वितरणको काम पूरा गरेका छन्। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएका प्रदेश दुईका आठवटै जिल्लामा सदस्यता वितरणको काम विवादका कारण अघि बढ्न सकेको छैन। अपवादकारूपमा केही निर्वाचन क्षेत्रबाहेक आठवटै जिल्लामा सदस्यता वितरणमा विवाद छ। 

बाँके, रूपन्देहीसहितका जिल्लामा पनि सदस्यता विवाद सुल्झन सकेको छैन। सिन्धुपाल्चोकमा पनि विवादका कारण सदस्यता वितरण सुरु भएको छैन। अहिलेसम्म नयाँ र नवीकरण गरी ७ लाख ५५ हजारको सदस्यता इन्ट्री भए पनि अझै दुई लाख बढी सदस्यता नवीकरण र नयाँ वितरण हुन बाँकी रहेको सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेको अनुमान छ। ‘साढे आठदेखि नौ लाख सदस्यता पुग्न सक्छ अझै केही समय दिने हो भने,’ घिमिरेले भने, ‘प्राप्तमध्ये साढे चार लाख सदस्यतामा विवाद छैन। डेढ– दुई लाख सदस्यताका विषयमा प्रश्न उठेको छ।’ प्रश्न उठेसहित सबै सदस्यताको टुंगो कसरी लगाउने भन्ने विषयमा रमेश लेखकको नेतृत्वमा गठन भएको छानबिन समितिको बैठक शुक्रबार दिउँसो बस्दैछ। त्यसले कार्यविधि निर्माण गर्ने तयारी गरेको छ।

घिमिरेले भाइरसको संक्रमण पनि बढ्दै जाने र क्रियाशील सदस्यता वितरणको काम पनि नसकिँदा भदौमा कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेमा प्रश्न उठे पनि यसैकारण महाधिवेशन रोकिने अवस्था नभएको बताए। ‘धेरै विवाद भएकालाई रोकेर पनि महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘तर कोरोना संक्रमण यस्तै रहे ज्यान जोखिममा पारेर महाधिवेशन गर्ने कि नगर्ने ? नगरे के गर्ने भन्ने प्रश्न उत्पन्न भएको छ।’

विधानको व्यवस्था अनुसार पाँच वर्षे कार्यकाल गुजारेको कांग्रेस केन्द्रीय कार्य समितिले संवैधानिक व्यवस्थाको सहारामा पछिल्लो पटक भदौ ७ देखि १० सम्म १४औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरेको छ। साउनमा वडा अधिवेशन सुरु गर्न सकिए भदौमा महाधिवेशन गर्न सकिने भनाइ आइरहेका बेला नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनका प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने दोहोर्‍याएका छन्।

नेपाल प्रेस युनियनको ३१औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पौडेलले पार्टीका सामु आएको संवैधानिक चुनौतीसँग जुध्न पुरानै (अहिले जति छन्) क्रियाशील सदस्यबाट पनि महाधिवेशन गर्न सकिने बताए। एक वर्षे कार्यकालका लागि भए पनि पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्नुपर्ने पौडेलको तर्क छ। ‘पार्टी विधानमा केन्द्रीय समिति निर्वाचनबाट चयन भएर आउनुपर्ने व्यवस्था छ। जसरी भए पनि महाधिवेशन गर्नै पर्छ,’ पौडेलले भने,‘ कि एक वर्षे कार्यकालका लागि महाधिवेशन गरौं। पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि महाधिवेशन गर्न सकिन्छ। विधानअनुसार त निर्वाचित केन्द्रीय समिति नै चाहिन्छ। पार्टीमा गहन छलफल गरौं।’

नभए एक वर्षे कार्यकालका लागि महाधिवेशन गरौं। विधानअनुसार त निर्वाचित केन्द्रीय समिति नै चाहिन्छ।–पौडेल

पौडेलले कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, प्रतिनिधिसभा पुर्नस्थापना गरेर संसद् र संविधानलाई जोगाउने दायित्व पार्टीको काँधमा आएको पनि बताए। नेता पौडेलपछि बोलेका सभापति शेरबहादुर देउवाले महाधिवेशन नगराएको कलंकको टीका आफूले बोक्न नचाहेको बताए। कोरोना महामारीले महाधिवेशनका काम प्रभावित भएको स्वीकार गर्दै देउवाले पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन गर्दा नयाँ सदस्य रिसाउने बताए। महामारीबीच पनि महाधिवेशन गर्ने बाटो खोजी गर्नुपर्ने बताउँदै देउवाले भने, ‘रामचन्द्रजीले पार्टी अधिवेशनको कुरा गर्नुभएको छ। महाधिवेशन गरेन भन्ने कलंक म बेहोर्न चाहन्नँ।

महाधिवेशन गरेन भन्ने कलंक म बोक्न चाहन्नँ। कसरी गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर महाधिवेशन गरौं भन्ने हो। – देउवा

कसरी महाधिवेशन गर्ने छलफल गरौं भनेकै छु। सबैको चित्त बुझाएर गरौं भन्ने हो।’ देउवाले कोरोना महामारीबीच महाधिवेशन कसरी गर्ने भन्ने विषयमा छलफलमा जुट्न सबैलाई आग्रह गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनस गरेको विरोधमा आफूहरू सर्वोच्च अदालत गएकाले पुर्नस्थापना नभएसम्म त्यसमा केन्द्रित हुनुपर्ने देउवाले बताए। विघटनविरुद्ध सडक आन्दोलन गर्नुपर्नेमा अन्य दलहरूले जोड दिए पनि कोरोनाका कारण अहिले त्यस्तो अवस्था नभएको देउवाले बताए।

प्रकाशित: १४ जेष्ठ २०७८ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App