७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुदूरपश्चिम प्रदेशः एमालेका तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन लिखित निर्देशन

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका तीन मन्त्रिलाई फिर्ता हुन लिखित निर्देशन दिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मामलिा तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र समाजिक विकास मन्त्री कृष्णराज  सुवेदीलाई सरकारबाट फिर्ता हुन बेग्ला बेग्लै लिखित पत्र पठाएर निर्देशन दिएका छन् ।

‘नेकपा(एमाले)को स्थाई कमिटीको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिने निर्णय भएको जानकारी प्राप्त भएकोले सोही बमोजिम मन्त्रीबाट फिर्ता हुन र नेकपा एमालेको नेतृत्वमा अगामी सरकार गठनका लागि मार्ग प्रशस्त गरि आवश्यक पहलकदमी लिन यो निर्देशन जारी गरिएको छ’, पत्रमा लेखिएको छ । यसैगरि थापा र रावलले सोही व्यहोराका पत्र लेखेर नेकपा (एमाले) स्थाई कमिटीको सातौ बैठकको निर्णय निर्देशन पालना गर्न संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङलाई पनि निर्देशन दिएका छन् ।

जेठ १० गते नेकपा एमालेको स्थाई कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी पार्टीका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको थियो । तर नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बुधबार बसेको बैठकले अधिकारीक जानकारी नआएको भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको थियो । एमाले स्थाई कमिटीको निर्णय बिपरित संसदीय दलको बैठकले निर्णय गरेपछि नेकपा एमाले सुदूरपश्चिम समितिका अध्यक्ष थापा र सचिव रावलले लिखित पत्र मार्फत निर्देशन दिएको बताइएको छ ।

प्रदेश सरकारमा मुख्यमन्त्री र एक मन्त्री गरि दुई माओवादी केन्द्र र ३ मन्त्री एमालेका छन् ।  नेकपामा ओली र माधव पक्ष र प्रचण्डबीच राजनीतिक रुपमा बिभाजन भएपछि मुख्यमन्त्री भट्टले ओली पक्षका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई गत पुस १४ गते हटाएका थिए । ओली पक्षमा लागेका तत्कालिन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पुस २२ गते मन्त्रीपदबाट राजीनामा दिएका थिए । दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त अहिलेसम्म गरिएको छैन ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट २५ प्रदेशसभा सदस्य छन् । ५२ सदस्य रहेको प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट १३ सासंद रहेका छन् । ओली पक्षमा लागेकाले माओवादी केन्द्रबाट निर्वाचित झपट बोहरा सासंद छैनन् । नेपाली काग्रेसबाट १२ र जसपाका २ जना प्रदेशसभा सदस्य छन् । 

प्रकाशित: १३ जेष्ठ २०७८ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App