८ वैशाख २०८१ शनिबार
राजनीति

नागरिकता अध्यादेश देशकाे हितमा छैनः नेमकिपा

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नागरिकतासम्बन्धी अध्यादेश देशकाे हितमा नभएको बताएका छन्। अध्यादेशमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले सोर्‍ह वर्ष पूरा भएपछि वंशजको आधारमा नेपाली नागरिकता पाउने व्यवस्था खुला सीमा भएको नेपालमा गलत भएको उनको भनाइ छ। 

नागरिकतासम्बन्धी पार्टीको धारणाका सम्बन्धमा आज नागरिककर्मीसँग संक्षिप्त कुराकानी गर्दै सांसद सुवालले भने, ‘जन्मको आधारमा नेपाली नागरिकता पाएकाको छानबिन गर्नु जरूरी छ। छानबिन नगरी जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिने अध्यादेश देश र जनताको हितमा छैन। नागरिकतालाई सरजमिनका आधारमा दिइने निस्सा बनाउनु देशको हितमा हुँदैन।’ 

उनले नेपाली काँग्रेस, एमाले, माओवादीको सहमतिमा २०६३ सालमा तीन जना नेपालीले सरजमिनमा सहीछाप गरेको भरमा जन्मको आधारमा नेपाली नागरिकता दिने ऐन बनाएको र सो ऐनको विरूद्ध नेपाल मजदुर किसान पार्टीले मात्र विपक्षमा मत दिएको स्मरण गर्दै थपे, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बुबाको पहिचान हुन नसकेको व्यक्तिले वंशजको नेपाली नागरिकता प्राप्त गर्ने अध्यादेशको व्यवस्था खुला सीमाको कारण संवेदनशील छ।’ 

नेपालको संविधानअनुसार वंशजको आधारमा नेपाली नागरिकता पाएकाहरू राष्ट्रपति, प्रम, प्रधानन्यायाधीश, सभामुख, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री, राजदूतलगायत पदमा निर्वाचित र मनोनीत हुने भएकोले आमा र बुबा दुवै वंशजको नेपाली नागरिक भएकाको सन्तानले मात्र वंशजको नेपाली नागरिकता पाउने व्यवस्था गर्नु जरूरी रहेको उनको भनाइ छ। 

उनले नागरिकता अध्यादेशविरुद्ध पार्टीले विगत लामो समयदेखि सङ्घर्ष गर्दै आएको र त्यो सङ्घर्ष आगामी दिनमा पनि जारी रहने समेत बताए।

प्रकाशित: ११ जेष्ठ २०७८ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App