७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रियसभा उपनिर्वाचनमा ९७ प्रतिशत मतदान, नतिजा आजै

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको हेटौंडामा भएको उपनिर्वाचनमा करिव ९७ प्रतिशत मतदान भएको छ । प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा भएको मतदानमा मतदानमा ४ प्रतिशत जनप्रतिनिधिले मतदान गरेनन् ।

विहान ९ बजेदेखि शुरू भएको मतदानको निर्धारित दिउँसो ३ बजे सकिँदा ९ जना जनप्रतिनिधि अनुपस्थित भएका हुन् । १ सय ५ प्रदेश सांसद र १३ जिल्लाका १ सय १९ स्थानीय तहका २ सय ३३ प्रमुख र उपप्रमुख गरी ३ सय ३८ जनाले मतदान गरेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तहका ५ जना प्रमुख र उपप्रमुख तथा प्रदेश सांसद ४ जना मतदानमा सहभागी भएनन् ।

मतदान नगर्नेमा कांग्रेसको तीन, एमाले र नेपाल मजदुर किसान पार्टी १/१ मत रहेको छ । जसमध्ये विवेकशील साझाका ३ सांसदले मतदान बहिस्कार गरेका थिए भने माओवादी केन्द्रकी दोलखाकी सांसद हिमाली गोल मतदानमा अनुपस्थित भईन् ।

साथै, स्थानीय तहतर्फ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याङ्जेन शेर्पा र उपाध्यक्ष कोपिल पण्डित, दोलखाको मलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी र विजु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का मतदान प्रक्रियामा सहभागी नभएका हुन् ।

प्रदेशमा १ सय ९ जना सांसद(मृतक पशुपति चौलागाईबाहेक), स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना गरी ३ सय ४७ मतदाता छन् । यसैबीच, निर्वाचनको मतपत्र बिहीबार साँझ नै गणना गर्ने र बेलुकासम्म नतिजा आउने प्रदेश निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । प्रदेशमा बहुमतमा रहेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र एमालेनिकट बुद्धिजीवी डा. खिमलाल देवकोटाबीच कडा प्रतिष्पर्धा हुने ठानिएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का केन्द्रीय सदस्य कृष्णबहादुर तामाङ पनि चुनावी मैदानमा छन् ।

प्रमुख प्रतिष्पर्धी थापा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् भने एमालेकै माधव नेपाल पक्षका देवकोटालाई नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको समेत समर्थन रहेको छ ।

कोरोना संक्रमितले अस्पतालमा पर्याप्त उपचार नपाईरहेका बेला गृहमन्त्री थापा शुक्रबार मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा आएपछि चर्को आलोचना समेत भएको थियो । २०७४ सालको राष्ट्रियसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको कोटामा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)बाट राष्ट्रिय सभा सदस्य भएका थापाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेपछि माओवादीले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।

हेटौंडाको सुरक्षा व्यवस्था कडा  

गृहमन्त्री रामबहादुर थापा पनि उम्मेदवार रहेकाले मतदानस्थलसहित हेटौंडाको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान स्थल, मतदान केन्द्र बाहिर र मतदान आसपासको १ सय मिटरको दूरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका १ सय ८० सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

आफ्नै नेतृत्वमा जनपथ तथा ट्राफिक प्रहरीसहित १ सय ४० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । उनका अनुसार सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रमुख एवं प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीको नेतृत्वमा ४० जना सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । गृहमन्त्री थापाले मतदानस्थलको अनुगमन समेत गरेका थिए ।

मतदान स्थलमै कोरोना परिक्षण

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान स्थलमै एन्टिजेन बिधिबाट कोरोना परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा कोरोना परीक्षणको रिपोर्ट नल्याउने जनप्रतिनिधिको जाँच गरिएको थियो ।

स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसदहरुले कोरोना जाँच गरेको रिपोर्ट नल्याएकाले एन्टीजेन बिधिबाट कोरोनाको जाँच गरी संक्रमित भएका र नभएकाहरुको छुट्टा–छुट्टै मतदान गर्ने व्यवस्था मिलाईएको थियो ।

निर्वाचनमा निर्णायकः नेपाल समूह

राष्ट्रिय सभा सदस्य पदको वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको उपनिर्वाचनमा निर्णायक नेकपा एमालेको माधवकुमार नेपाल समूह रहेको छ । ९ हजार ५ सय ६४ मतभारमध्ये ५ हजार ८२ मत भारसहित एकल बहुमतमा रहेको एमालेको नेपाल समूहले आफ्नै उम्मेदवार देवकोटाको पक्षमा मतदान गरे मन्त्री हुनका लागि सांसद हुनैपर्ने संवैधानिक व्यवस्थाका कारण दबाबमा रहेका ओली समूहका बादललाई कठिन गर्ने देखिन्छ ।

एमालेको प्रदेश सांसदको २ हजार ६ सय ८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको २ हजार ३ सय ९४ गरी कुल ५ हजार ८२ मत भार छ । त्यस्तै, कांग्रेस र माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)को गठबन्धनको मात्र ५४ प्रदेश सांसदको मतभार २ हजार ५ सय ९२ तथा १ सय ५ स्थानीय तहका प्रमुख र उपप्रमुखको एक हजार ८ सय ९० गरी ४ हजार ४ सय ८२ मतभार छ ।

प्रदेशमा १ सय १० प्रदेश सांसद तथा १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाताको ९ हजार ५ सय ६४ मतभार रहेको छ । जसमध्ये प्रदेश सांसदको ५ हजार २ सय ८० तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको ४ हजार २ सय ८४ मतभार रहेको छ । प्रदेश सांसद एक जनाको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार मानिन्छ ।

प्रदेशसभामा एमालेका ५७(केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना), माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना र जसपाका १ जना सांसद छन् ।  

स्थानीय तहका २ सय ३८ मतदातामध्ये एमालेको १ सय ३३, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जनप्रनिधि छन् ।

नेकपा एमालेभित्रको पछिल्लो एकतापछि अध्यक्ष ओली पक्षले थापा नै आधिकारिक उम्मेदवार भन्दै ह्वीप जारी गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले थापालाई मत दिन ह्वीप जारी गरेको थियो । त्यस्तै, राष्ट्रिय जनमोर्चाले देवकोटालाई भोट हाल्न निर्देशन दिएको थियो ।

प्रकाशित: ६ जेष्ठ २०७८ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App