coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको 'आकाश'मा विभाजनको 'बादल'

बिहानैदेखि राजधानीलगायत मुलुकका विभिन्न ठाउँको आकाश कालो बादलले घेरेको छ। बाग्मती प्रदेशमा बिहीबार हुँदै गरेको राष्ट्रिय सभाको उपनिर्वाचनले एमालेको ‘आकाश’ पनि विभाजनको बादलले धुम्मिएको छ ।  

त्यसो त एमाले विभाजनको सम्भावना अझै टरेको छैन, अदृष्य कम्पनहरु यथावत् छन्। तर केही दिन अगाडिमात्र एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको ‘भनिएको सहमति’सँगै एकताको झिनो आशा पलाएको थियो। तर निर्वाचनमा गृह मन्त्रीसमेत रहेका एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ र कांग्रेस–माओवादी समर्थनमा उम्मेदवार बनेका डा.खिमलाल देवकोटाको प्रतिस्पर्धासँगै त्यो झिनो आशा पखालिने डर कायमै छ।  

एमालेसँग भएको गणितलाई आधार मान्दा बादलले सहजै चुनाव जित्नेछन्।तर चुनावमा सधैँ सोझो गणितले मात्र काम नगर्ने रहेछ। कांग्रेस–माओवादी समर्थनमा उम्मेदवार बनेका देवकोटालाई माधव नेपाल पक्षबाट मिल्न सक्ने मतले जेठमै बादलको सपना छताछुल्ल हुनेछ।

माओवादी त्यागेर एमालेमा आएका बादललाई जिताउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्षले निर्वाचन आचार संहिताविपरित मत पनि मागिसकेका छन्। त्यस्तै एमालेका विभिन्न खाले नेता बादल जिताउन हेटौंडाको भुटनदेवी पुगिसकेका छन्। विहान सवा ९ बजेबाट मत पनि खस्न थालेको छ। यसमा सबैको चासो नेपाल पक्षका कतिले  कसलाई मत हाल्छन् भन्ने छ। किनकी खिमलाल देवकोटालाई माधव नेपालले चुनाव उठाएको उनका समर्थकलाई प्रष्ट थाहा छ।

झट्ट हेर्दा निर्वाचनमा  खिमलाल र बादलबीचको प्रतिस्पर्धाजस्तो देखिन्छ । तर सारमा यसले एमाले एकै रहने कि विभाजित हुने भन्ने समेत सन्देश दिने छ। नेपाल पक्षका कतिपयले ओलीले पछिल्लो समय पार्टी एकताका लागि गरेको प्रयास बादल जिताउने रणनीति मात्रै भएको ठान्नुले पनि विभाजनको संकेत दिएको छ। त्यसो त नतिजा नआई सबै कुरा आँकलन गर्न सकिन्न।

एमाले महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि बादललाई मत दिन आफ्ना प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष, उपाध्यक्षलाई ह्वीप जारी गरेका छन्। यस्तो ह्वीप नमाने के हुन्छ? त्यो पनि चुनावी नतिजापछि थाहा हुन्छ।  

यहि माझ बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने र बादलको पक्षमा माधव नेपालले वक्तव्य जारी गर्ने प्रयास नभएको होइन तर त्यो सफल हुन सकेन। त्यसैले  कार्यदलको बैठक स्थगित भएको अनुमान छ। नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा आएर स्थगित भयो।  

कुनै पनि बेला धोका पाउन सक्ने भएकाले होला माया र मौसमको भर हुदैन भनिन्छ। तर अहिलेको चुनावको मौसममा भने अरुले हैन स्वयम् बादलले धोका पाउने छाँट देखिन्छ। किनकि बादल र विद्रोहीको खासै भर हुँदैन।

प्रकाशित: ६ जेष्ठ २०७८ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App