८ वैशाख २०८१ शनिबार
राजनीति

कपिलवस्तुका लागि बजेट छुट्याउन माग

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद् अतहर कमालले कोरोना संक्रमणको व्यवस्थापन र स्वास्थ्य उपचारका लागि यथाशीघ्र बजेट बिनियोजन गर्न माग गरेका छन्।

उनले कोरोना महामारी नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउन संघीय र प्रदेश सरकारसँग माग गरेका हुन्। अक्सिजन र स्वास्थ्य उपचारको अभावमा जिल्लामा अकालमा धेरैले ज्यान गुमाएको भन्दै यस्तो अवस्थामा पनि संघीय र प्रदेश सरकारले कपिलवस्तुका लागि बजेट विनियोजन नगर्नु खेदजनक रहेको उनले बताए।

गुल्मी लगायतका अन्य जिल्लाहरुमा संघीय र प्रदेश सरकारले कोरोनाको व्यवस्थापन, अक्सिजन प्लान्ट निर्माण, स्वास्थ्य सामग्री खरिदका लागि बजेट विनियोजन गरे पनि कपिलवस्तुलाई संकटको बेला समेत उपेक्षित गरिएको बताए। ‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै छ, मृत्युदर बढेको छ, अक्सिजनको अभाव छ, बिरामीहरु बेड र उपचार नपाएर  छटपटाइ रहेका छन्’ केन्द्रीय सदस्य कमालले भने, ‘यस्तो विषम परिस्थितीमा समेत कपिलवस्तुलाई कुनै वास्ता गरेको छैन।’

नागरिक स्तरबाट केही रकम संकलन गरी जसातसो काम चलाउ गरिएको बताउँदै उनले राज्यको नजरमा भने कपिलवस्तु नपुर्न दुःखद् भएको बताए। कपिलवस्तुमा सुविधा सम्पन्न अस्पताल, भएका अस्पतालको स्तरोन्नति, मानवीय श्रोत व्यवस्थापन, स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट लगायतका कुरा तत्कालै आवश्यक रहेको उनको भनाइ छ। लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुलाई २५ लाख रुपैयाँ दिने भने पनि अहिलेसम्म उपलब्ध नगरेको भन्दै तत्कालै सो रकम उपलब्ध गराउन पनि उनले माग गरे। 

प्रकाशित: ४ जेष्ठ २०७८ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App