७ वैशाख २०८१ शुक्रबार
राजनीति

ललितानिवास जग्गा प्रकरणः बस्न्यातलाई धरौटीमा थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विशेष अदालतको आदेश बेरीतको देखिएको भन्दै धरौटीमा छोड्न शुक्रबार आदेश गरेको हो । उही मुद्दाका अभियुक्त ठेकेदार शोभाकान्त ढकालका विषयमा भने दुईजना न्यायाधीशबीच राय बाझिएको छ ।

न्यायाधीश खतिवडाले ढकाललाई ३ करोड रुपैयाँमा थुनामुक्त गर्न आदेश गरेका छन् भने अर्का न्यायाधीश भट्टराईले थुनामा राख्ने विशेष अदालतको निर्णय सही रहेको ठहर गरे । दुवै जनाको राय नमिल्दा ढकाललाई थुनामा राखेर अनुसन्धान गर्ने वा छोड्ने भन्ने विषय पूर्ण इजलासमा जाने भएको छ ।

ढकालले श्रीमती र आफन्तको नाममा समेत कम्पनी दर्ता गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । दुईजना अभियुक्तबीच तुलना गर्न नमिल्ने भएकाले धरौटीमा छोड्न नमिल्ने न्यायाधीश भट्टराईको तर्क छ । उही मुद्दामा अन्य अभियुक्तलाई छोडिएकाले बाहिरै राखेर अनुसन्धान गर्न मिल्ने न्यायाधीश खतिवडाको तर्क छ । दुईजनामा राय बाझिएपछि अब पूर्ण इजलासले निर्णय गर्ने भएको छ ।

बस्न्यातलाई मंसिर २८ मा विशेष अदालत काठमाडौंले डिल्लीबजार थुनामा पठाउने आदेश दिएको थियो । थुनामै रहँदा अस्वस्थ रहेका र पछिल्लो समय कोरोना संक्रमण भएको भन्दै उनको पक्षबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको थियो । विशेषले पुर्पक्षका लागि थुनामा पठाएकामध्ये धरौटीमा छुट्ने आदेश पाउने बस्न्यात दोस्रो व्यक्ति हुन् । बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले ललितानिवास भ्रष्टाचार मुद्दामा ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तिनमा बस्न्यातसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेल र जग्गा खरिदबिक्रीकर्ता शोभाकान्त ढकाल थिए । पौडेल यसअघि नै धरौटीमा थुनामुक्त भइसकेका छन् । सर्वोच्चले पौडेललाई २ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेको थियो । पौडेललाई ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगोसहित जफत गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबी छ ।

बस्न्यातले अस्वस्थ रहेको र विशेष अदालतको आदेश कानुनविपरीत भएकाले थुनाबाहिरै रहेर मुद्दा लड्न पाऊँ भन्ने मागसहित सर्वोच्चमा गत माघ १५ मा निवेदन दर्ता गराएका थिए । अघिल्लो निवेदन विचाराधीन रहेकै बेला बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट वैशाख १७ मा दर्ता भएको थियो । बस्न्यातलाई कोरोना संक्रमण पनि भएकाले थप जटिलता आएको र थुनामुक्त हुनुपर्ने मागसहित रिट निवेदन दर्ता भएको थियो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसँग सम्बन्धित रिट निवेदन मात्रै दर्ता गरेर सुनुवाइ गर्ने निर्णय गरेसँगै बस्न्यातको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।

प्रकाशित: २५ वैशाख २०७८ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App