१६ चैत्र २०८० शुक्रबार
राजनीति

राष्ट्रियसभा सदस्यमा एमालेकै दुई उम्मेदवार

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् ।

गृहमन्त्रीसमेत रहेका थापा शुक्रबार मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट प्रदेश राजधानी हेटौंडा आएका थिए । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन् ।

देवकोटा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल समूहको साझा उम्मेदवार हुन् । उनको प्रस्तावकमा माओवादीको वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशकी प्रमुख सचेतक राधा घले रहेका छन् । कांग्रेस, माओवादी, एमाले नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदसहित हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर देवकोटाले मनोनयन दर्ता गराएका थिए ।

नेमकिपाका उम्मेदवार तामाङको प्रस्तावकमा सोही दलका प्रदेश सांसद सुरेन्द्रराज गोसाईं र समर्थकमा प्रदेश सांसद सिर्जना सैजु रहेका छन् । २०७४ सालको निर्वाचनमा माओवादीबाट राष्ट्रियसभा सदस्य भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले पदमुक्त गराएको थियो । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा चुनाव हुने प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

नेपाल समूह निर्णायक

उपनिर्वाचनमा नेकपा एमालेको नेपाल समूह निर्णायक हुने देखिएको छ । ९ हजार ५ सय ६४ मतभारमध्ये ५ हजार ८२ मत भारसहित एकल बहुमतमा रहेको एमालेको नेपाल समूहले आफ्नै उम्मेदवार देवकोटाको पक्षमा मतदान गरे मन्त्री हुनका लागि सांसद हुनैपर्ने संवैधानिक व्यवस्थाका कारण दबाबमा रहेका थापालाई गाह्रो गर्ने देखिन्छ ।

एमालेका प्रदेश सांसदको २ हजार ६ सय ८८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको २ हजार ३ सय ९४ गरी कुल ५ हजार ८२ मत भार छ । त्यस्तै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनअन्तर्गत ५४ प्रदेश सांसदको मतभार २ हजार ५ सय ९२ तथा १ सय ५ स्थानीय तहका प्रमुख र उपप्रमुखको एक हजार ८ सय ९० गरी ४ हजार ४ सय ८२ मतभार छ ।

प्रदेशमा १ सय १० प्रदेश सांसद तथा १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता छन् । प्रदेश सांसदको ५ हजार २ सय ८० तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको ४ हजार २ सय ८४ मतभार छ । प्रदेश सांसद एकजनाको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार मानिन्छ ।

प्रदेशसभामा एमालेका ५७ (ओली पक्षमा ३२ र नेपाल पक्षमा २२ जना), माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेपाल मजदुर किसान पार्टीका २–२ र जसपाका एक सांसद छन् । स्थानीय तहका २ सय ३८ मतदातामध्ये एमालेका १ सय ३३, कांग्रेसका ६७, माओवादी केन्द्रका ३३, राप्रपाका २, नेमकिपाका २ र जसपाका एकजना छन् ।

प्रकाशित: २५ वैशाख २०७८ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App