coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद बैठक दलहरुबीच सहमति जुटेपछि मात्रै

गण्डकी प्रदेश सभा भवन ।

गण्डकी प्रदेशसभाको बैठक दलहरुबीच सहमति जुटेपछि मात्रै बस्ने भएको छ । अविश्वास प्रस्तावमा छलफल चलिरहँदा जनमोर्चाका सांसद बेपत्ता भएपछि उनको खोजीका लागि स्थगित बैठक अब दलहरुबीच सहमति जुटेपछि मात्रै बस्ने भएको हो ।

स्थगित संसद बैठक सञ्चालनसहित त्यसको कार्यसूची तय गर्न सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर सो बैठकले बैठक सञ्चालनबारे सहमति जुटाउन सकेन । बरु सर्वदलीय बैठक बोलाएर सहमति जुटाउन सुझाव दियो । सोहि सुझावका आधारमा सभामुख नेत्रनाथ अधिकारीले मंगलबार अपराह्न ३ बजे सर्वदलीय बैठक बोलाएका छन् । ‘कार्यव्यवस्था परामर्श समितिले दिएको सुझावका आधारमा मंगलबार बैठक बोलाएको छु, सोहि बैठकले संसद बैठकको मिति तय गर्छ’, उनले भने ।

बैशाख १३ गतेदेखि शुरु विशेष अधिवेशनमा अविस्वास प्रस्तावमाथि छलफल चलिरहेको थियो । बैठकको तेश्रो दिन बैशाख १५ गते अविस्वास प्रस्तावमाथि छलफल सकेर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने र त्यसपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । कार्यसूची अनुसार अविस्वास प्रस्ताव माथिको छलफल चलिरहँदा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको खबर आयो । अविस्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने दिन सांसद बिना जानकारी सम्पर्कविहीन् भएको थाहा पाएपछि जनमोर्चासहित अविस्वास प्रस्ताव पक्षधर दलहरुले शाहीको खोजी गरे । त्यतिञ्जेल संसदमा अविस्वासको प्रस्तावमाथिको छलफल सकियो र अपराह्न ४ः३० बजेसम्मका लागि बैठक स्थगित गरियो ।

बैठक स्थगित भएको समयमा जनमोर्चाकी सचेतक पियारी थापाले बेपत्ता सांसद शाहीको खोजी गरिदिन र त्यतिञ्जेल संसद बैठक सञ्चालन नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिईन् । सोहि निवेदनका आधारमा सभामुखले संसद बैठक अनिश्चित कालका लागि स्थागित गरे । लगत्तै बेपत्ता सांसद शाही पोखराको पृथ्वीचोकस्थित नागढुंगामा रहेको चरक अस्पतालको आईसियूमा भेटिए । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको भनिएपनि उनको पहिलो रिपोर्ट नेगेटिभहुँदा ब्यापक विरोध भयो । जसका कारण उनलाई सत्तापक्षले अपहरण गरेको वा प्रलोभनमा पारेको आशंका गरियो । सो आशंका अझैपनि कायम छ तर त्यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । यद्वपी सांसद शाहीले आफू अचानक विरामी भएर अस्पतालमा बस्नुपरेको भन्दै बाहिर आफूबिरुद्ध गरिएको प्रचार भ्रामक रहेको भन्दै आफू पार्टीको निर्णय (अविस्वास प्रस्तावको पक्षमा मतदान गर्ने)मा अडिग रहेको विज्ञप्ती निकालेर स्पष्ट पारिसकेका छन् ।

बेपत्ता सांसद शाही भेटिएपनि उनका कारण स्थगित बैठक छ दिन वित्दापनि बस्न सकेको छैन । यस बिचमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र उनको पार्टी नेकपा एमालेले दलहरुसँग छलफल नगरी बैठक स्थगित गर्नु गलत भएको भन्दै विरोध गरिरहेका छन् । मुख्यमन्त्रीले त एक्लो निर्णय गर्ने सभामुखलाई बैठक बसाएर देखाउन भनेर चुनौतिसमेत दिइसकेका छन् । एमालेले कित सभामुखले माफी माग्नुपर्ने, होइन भने सभामुखले राजिनामा दिनुपर्ने शर्त राख्दै आएको छ ।

यहि कारण सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद बैठकबारे सहमति हुन सकेन । बैठकमा अविस्वास पक्षधर दलहरुले संसद बैठक तत्काल बोलाउनुपर्ने राय राखेका थिए । तर एमालेले सभामुख एकलकाँटे रुपमा चलेको भन्दै विरोध जनाएको थियो । उसले सर्वदलीय बैठक बोलाएर सहमति नजुटाई संसद बैठक अगाडि बढ्न नदिने बताएको श्रोतले बताएको । अन्ततः सर्वदलीय बैठक बोलाएर सहमति जुटाउन सबै दल सहमत भएका थिए ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा अविस्वास प्रस्तावको पक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टी (जसपा)का २ र राष्ट्रिय जनमोर्चाका ३ सांसदगरी ३१ सांसद छन् । सत्तारुढ दल नेकपा एमालेका २७ र १ स्वतन्त्र राजिव गुरुङ उर्फ दीपक मनाङे गरी २८ सांसद प्रस्तावको विपक्षमा छन् ।

प्रकाशित: २० वैशाख २०७८ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App