coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अल्पमतमै मुख्यमन्त्री!

प्रदेश सभाका कुल ८७ सांस्द मध्य ७ जनाको सांसद पद रिक्त हुने भयो । २ जना माओवादीबाट एमालेमा प्रवेश गरेकाहरु कारबाहीमा परे । जसपाका चार जना पार्टीको ह्विप उल्लंघन गरेर मन्त्री पदको सपथ खाएका कारण उनिहरुको सांसद पद गुम्यो । अनि आइतबार मात्रै एमालेकै एक सांसदले एमाले भित्रको ‘फोहोरी राजनीति’ को खेलमा नफस्ने भन्दै सांसद पदबाट राजीनामा दिए । ८७ सांसद संख्याबाट आइतबारसम्म ८० सांसद संख्यामा झरेको यो प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए र पुनः उनै मुख्यमन्त्री नियुक्त भएका छन् । आफूसंग ४१ सांसद (बहुमत) संख्या रहेको दाबी गर्दै पुनः मुख्यमन्त्रीको पगरी गुथेका पोखरेल बहुमतका नभई अल्पतमै मुख्यमन्त्री बनाईएका छन् । कुल ८० मतमध्ये उनको पक्षमा जम्मा ३७ मत मात्रै छ ।  

उनको विपक्षमा रहेका ४२ सांसदहरु अहिले यो अराजनीतिक निर्णय सच्याउन माग गर्दै प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिईरहेका छन् । कांग्रेसका १९, माओवादी केन्द्र १८ (एमालेबाट माओवादी प्रवेश गरेका बिमला खत्रीसहित), जसपाका २, राजमोका १, र नेकपाबाट निर्वाचन जितेका दुई गरि ४२ ले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाएका छन् ।    

‘हामीहरु ४२ जना सांसद हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिईरहेका छौँ, अल्पमतमा रहेका पोखरेललाई कसरी, कुन आधारबाट पुनः मुख्यमन्त्री बनाईयो ? भन्ने हाम्रो प्रश्न हो,’ कांग्रेसका सांसद शंकर गिरीले भने, ‘यो निर्णय खारेज गरेर शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउनु पर्छ भन्ने हाम्रो माग हो ।’  

शंकरलाई पदमुक्त गरेर ४२ जनाको बहुमतसहितको गठवन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न पनि दबाब दिईरहेको छ । ‘पोखरेललाई पदमुक्त गरेर बहुमत प्राप्त कुलप्रसाद केसी ज्यूलाई मुख्यमन्त्रीको सपथ खुवाईयोस् भनेर हामीहरुले निवेदन दिएका छौँ,’ सांसद गिरीले भने ।  

यता नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज ओनसरी घर्तीले प्रदेश प्रमुखले नियुक्त गरेका मुख्यमन्त्री शंकर पोखरेल वैधानिक मुख्यमन्त्री नरहेको दाबी गरिन् । अल्पमतमा रहेका पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरिनुलाई उनले लोकतन्त्र माथिको उपहास भन्दै टिप्पणी गरिन् । साथै यसरी मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई अनैतिक मुख्यमन्त्री भनिन् । ‘उहाँ अल्पमतमा हुनुहुन्छ, अनि बहुमतको मुख्यमन्त्री हुँ भनेर कुन नैतिकताले भन्न सक्नु हुन्छ ?’ उनले भनिन् ‘उहाँ अनैतिक मुख्यमन्त्री हो ।’

प्रकाशित: १९ वैशाख २०७८ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App