७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण

नयाँ दल होइन, पार्टीभित्रै संघर्ष: नेपाल समूह

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सांसदलाई पदबाट हटाउने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षमा लागेर समानान्तर कमिटी गठन गरेको, पार्टी हितविपरीत काम गरेको तथा नयाँ दल गठनमा तल्लीन भएको आरोप लगाउँदै २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। उनले चित्तबुझ्दो जबाफ नआए सांसद पदबाटै हटाउने धम्की पनि दिएका छन्। पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक राखेर ओलीले नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका हुन्।  

संसदीय दलको नेताको हैसियतमा ओलीले संघीय सांसदलाई सोधेको तीनपाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिह्न दुरूपयोग गरी अलग पार्टीको अभ्यास गरेको भन्दै कारबाही किन नगर्ने भन्ने प्रश्न गरिएको छ। ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारबाही किन नगर्ने ? सांसद सदस्यबाट किन नहटाउने ?’ स्पष्टीकरण पत्रमा लेखिएको छ। ओली पक्षका एक नेताका अनुसार नेपाल पक्षमा लागेर पार्टी हितविपरीत गतिविधिमा लागेका सांसदलाई सुध्रिन मौकासहित स्पष्टीकरण सोधिएको हो। ‘उहाँहरूलाई सुध्रिने मौकासहितको पत्र पठाइएको हो। सुध्रिनुभएन र यस्ता गतिविधि भइरहे सांसद पद जान्छ भन्ने संकेत गरिएको हो। बाँकी उहाँहरूकै निर्णयमा भर पर्छ’, उनले भने।  

नेपाल समूहमा लागेका गोकर्ण बिष्टसहितका केही सांसद र नेतालाई भने स्पष्टीकरण सोधिएको छैन। बिष्टले मंगलबार बिहान एकतामा जोड दिँदै विधिसम्मत तरिकाले पार्टीलाई अघि बढाउन आग्रह गरेका थिए। बिष्ट एमाले सचिव पनि हुन्। माओवादीसँग एकीकरण गर्नेगरी एमालेलाई विभाजित गर्न नहुने उनको धारणा छ। ‘एउटा इमानदार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ। यसर्थ नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम माओवादी केन्द्रसँग एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटी ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्छु ’, बिष्टले सामाजिक सञ्जालमार्फत भनेका छन्। बिष्टको धारणा आएसँगै उनीलगायत बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोधिएको छैन।  

यसैबीच नेपाल समूहले पार्टी विभाजन नगर्ने तर अन्तर्संघर्ष गर्ने निर्णय गरेको छ। अध्यक्ष एवं संसदीय दलका नेता ओलीले पार्टी विभाजन गर्न लागेको र समानान्तर कमिटी बनाउँदै नयाँ दलको अभ्यास गरेको भन्दै स्पष्टीकरण सोधेलगत्तै बसेको नेपाल समूहका स्थायी कमिटी सदस्य र सांसदको बैठकले पार्टी विभाजन नगरी अन्तर्संघर्ष गर्ने निर्णय गरेको हो। नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टीभित्र निषेध गरेर ओलीले नै विभाजनको रेखा कोरेको तर आफूहरू एकताको प्रयासमा लागेको दाबी गरे। ‘ओलीले पार्टी विभाजन गर्न खोजे पनि हामीले रोक्ने प्रयास गरिरहेका छौं। हामीले अहिले पनि पार्टी विभाजनको विपक्षमा निर्णय गरेका छौं’, उनले भने।  

अध्यक्ष ओलीले नेता नेपालसहित प्रतिनिधिसभाका २७ सांसदलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल समूहका सांसद र स्थायी कमिटी सदस्यको बैठक बसेको थियो। नेपाल पक्षले पार्टीभित्र अन्तर्संघर्ष गर्ने बाटो पनि ओलीले बन्द गरेपछि बाध्य भएर समानान्तर कमिटी बनाएर अघि बढ्नुपरेको प्रष्ट पारेको छ। बैठकले पार्टी फुटाउन लागेको जस्ता झुटा आरोप लगाएर अध्यक्ष ओलीले स्पष्टीकरण सोधेको भन्दै त्यसको सामना गर्ने निर्णय पनि गरेको छ। ‘ओलीले हामीमाथि पूर्वाग्रह राखेर झूटा आरोप लगाएका छन्। पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थाबाट अघि बढाऔं भन्ने हाम्रो आग्रहलाई बेवास्ता गरेर हामीलाई पार्टीभित्र निषेध गरेका छन्। यस्तो अवस्थामा समानान्तर कमिटी गठन गर्नुको विकल्प छैन’, नेपाल समूहको बैठकमा सहभागी एक सांसदले भने। उनका अनुसार स्पष्टीकरणको जबाफ समयमै दिइनेछ।  

‘हामीलाई अर्को पार्टी बनाएको भनेर स्पष्टीकरण सोधिएको छ। हामीले अर्को पार्टी बनाएका छैनौं। पार्टीभित्रै अन्तर्संघर्ष गरिहेका छौं। पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भनेर लागिरहेका छौं,’ नेपाल पक्षका सांसद गणेश पहाडीले भने। ओलीले २८ फागुनमा आफू पक्षका नेताको बैठकबाट एकलौटी निर्णय गराएर पार्टीलाई विभाजनको दिशामा लगेको नेपाल पक्षको आरोप छ। बैठकपछि सांसद एवं केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राजनीतिक र कानुनी रूपमा स्पष्टीकरणको प्रतिवाद गर्ने निर्णय गरेको बताइन्। ‘हामीले समयभित्रै स्पष्टीकरण दिन्छौं, कानुनी प्रतिवाद पनि गर्छौं र राजनीतिक रूपमा पनि नेतृत्वका गलत कदमविरुद्ध प्रतिवाद गरिरहन्छौ’, उनले भनिन्।

प्रकाशित: ८ वैशाख २०७८ ००:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App