७ वैशाख २०८१ शुक्रबार
राजनीति

लुम्बिनी प्रदेशमा बिभाजित जसपा : नयाँ मन्त्रीलाई स्पष्टिकरण

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजबादी पार्टीका ३ सहित ४ प्रदेश सांसदले मन्त्री पद सम्हालेपछि लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बिभाजित बनेको छ । यो बिभाजनले लुम्बिनी प्रदेशको आगामी सत्ता समिकरण के हुने भन्ने थप अन्यौलता बढाईदिएको छ ।  

संसदीय दलको निर्णय उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेलको कित्तामा उभिएको भन्दै सोमबार मात्रै मन्त्रीको सपथ लिएका चारजनालाई जसपा संसदीय दलले स्पष्टिकरण सोधेको छ । मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका  विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी तथा मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर नगरेकी कल्पना पाण्डेलाई मन्त्री नियुक्त गरिएको छ ।  

२४ घण्टे स्पष्टिकरणमा संसदीय जसपाको प्रदेश समिति र संसदीय दलले गरेको निर्णय किन उल्लंघन गरेको ? भन्दै स्पष्टिकरण दिनका लागि निर्देशन दिईएको छ । जसपा संसदीय दलका अनुसार मुखयमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्दै जसपा प्रदेश समितिले २६ चैतमै निर्णय गरेको थियो भने ६ बैशाखमा संसददीय दलको बैठकले निर्णय गरेको थियो ।  

‘दलको तर्फबाट ह्विप जारी गरिएको निर्णय तपाई आँफैलाई थाहा हुँदा हुँदै यसको बिपरित मुख्यमन्त्रीको नेतृत्वको मन्त्री परिषद सदस्यमा सपथ ग्रहण गर्नु गम्भीर ह्विप उल्लंघन हो,’  उनिहरुलाई सोधिएको स्पष्टिकरण पत्रमा भनिएको छ ‘तसर्थ तपाईहरुले दल र दलको नेताको निर्देशन लकिन उल्लंघन गरेको हो ?’  

२४ घण्टे स्पष्टिकरण सोधेको जसपा संसदीय दलले स्पष्टिकरण चित्त बुझ्दो नभए सांसद समेत नरहने गरि कारवाहीका लागि पार्टी केन्द्रीय समितिमा सिफारीस गर्ने जनाएको छ । ‘उहाँहरुले हाम्रो पार्टीको प्रदेश समितिको निर्णय र संसदीय दलको ह्विपलाई उल्लंघन गर्नुभएको छ,’ जसपा संसदीय दलका नेता सहसराम यादवले भने ‘उहाँहरुबाट २४ घण्टा सम्म जवाफ कुर्छौँ, र त्यसपछि सांसद समेत नरहने गरि करबाहीका लागि केन्द्रीय समितिमा सिफारीस गर्छौँ ।’  

जसपाका शिर्ष नेताहरुले कारबाहीका लागि सिफारीस गर्नका लागि निर्देशन दिएकाले उनिहरुको सांसद पद गुम्ने जसपा प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए । ‘बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगाएतका शिर्ष नेताहरुले पार्टीको ह्विप उल्लंघन गर्नेहरुलाई कारबाहीका लागि सिफारीस गर्न भन्नु भएको छ,’ यादवले भने ‘ह्विप उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने निर्णयमा उहाँहरु पुगिसक्नु भएको छ ।’  

उनका अनुसार मन्त्री पद सम्हालेका चार सांसदले स्पष्टिकरण पत्र बुझेका थिए । तर उनिहरुले लगत्तै फालिदिएका थिए । ‘स्पष्टिकरण पत्र थमाईदियौँ, र उनिहरुले बुझे पनि,’यादवले भने ‘लगत्तै फालिदिए अनि हामीहरुले ईमेल मार्फत स्पष्टिकरण पत्र पठाएका छौँ ।’  

पार्टीको निर्णय विपरित मन्त्री पद सम्हालेका चारमध्ये दुईजना प्रत्यक्ष निर्वाचित सांसद हुन् भने दुईजना समानुपातिक सांसद हुन् । यादवका अनुसार समानुपातिक दुई सांसद कारबाहीमा परे उनिहरुको स्थानमा अन्य नेतालाई मनोनयन गर्ने तयारीमा रहेको यादवले बताए । प्रत्यक्ष तर्फकालाई सांसद पदबाट निलम्बन गरे भने दुई सांसद रिक्त रहने छ ।

यता सोमबार मात्रै मन्त्री पदको सपथ लिएका सन्तोष पाण्डेले भने आँफू संसदीय दलको नेता दाबी गरेका छन् । ५ वैशाखमा बसेको जसपा संसदीय दलको बैठकबाट आँफू दलको नेता चयन भएको र वर्तमान सरकारलाई सघाएर जाने निर्णय भएको उनले बताए । ‘संसदीय दलको नेता म हो,’ पाण्डेले नागरिकसंग भने, ‘वैशाख ५ मा बैठक बसेर वर्तमान सरकारलाई सघाएर जाने भन्ने निर्णय भए बमोजिम हामीहरु सरकारका पक्षमा उभिएका हौँ ।’  

यता पार्टीको बिधानतः पाण्डे संसदीय दलको नेता हैनन् । पार्टीको बिधानमा पार्टीको दलको नेता चयन भएको दुई वर्ष अवधि नपुग्दै संसदीय दलको नेतामाथि अविश्वासको प्रस्ताव लगाउन नपाउने उल्लेख छ । यसअघि जसपाको संसदीय दलको नेता चयन भएका सहसराम यादव दलको नेता चयन भएको गत माघमा मात्रै हो ।  

फलतः पाण्डेले आँफूलाई दलको नेता ठान्नु पार्टी बिधान विपरित रहेको सहसराम यादव वताउँछन् । ‘उनले पार्टीको बिधान हेर्नुपर्थ्यो,’ सहसरामले भने ‘म दलको नेता चयन भएको गत माघमा मात्रै हो, जबकी संसदीय दलको नेता परिवर्तनका लागि २ वर्षको अवधि पार्टीको बिधानले तोकेको छ, अनि कसरी मलाई हटाएर उनि आँफू संसदीय दलको नेता चयन हुन पाउँछन् ?’

पार्टीको ह्विप उल्लंघन गर्दै मन्त्री बनेका जसपाका चार सांसदलाई कारबाही भए प्रदेश सभाको अंकगणित फेरबदल हुने छ । माओवादी केन्द्रबाट एमाले समूहका गएका दुईजना सांसद कारबाहीमा परेपछि कुल ८७ सांसद संख्या हाल ८५ मा झरेको छ । जसपाले थप चार जना सांसदलाई कारबाही गरे सांसद संख्या ८१ मा झर्ने छ ।  

तर दुईजना समानुपातिक सांसद रहेकाले जसपाले तत्कालै दुईजना सांसद (नयाँ) मनोनयन गर्ने तयारी पनि गरिरहेको छ । ‘हामीहरुले पार्टीको ह्विप नमान्ने सांसदहरुको कारबाही सिफारीससंगै दुई जना समानुपातिक तर्फका सांसद मनोनयनका लागि पनि नाम सिफारीस गरेर एकै पटक पठाउँछौँ,’ जसपा संसदीय दलका नेता सहसराम यादवले भने ‘हाम्रो सांसद संख्या घट्ने भनेको दुईजना मात्रै हो ।’ जसपाले चारजनालाई कारबाही गरेर दुईजना नयाँ सांसद मनोनयन गरे प्रदेशसभा ८३ सदस्यीय हुने छ । यो अंकगणितमा बहुमत पुर्‍याउनका लागि ४२ सांसद आवश्यक पर्ने छ ।

प्रकाशित: ७ वैशाख २०७८ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App