१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म सरकार बहुमतकै रहने बताएका छन्। नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले ओली नेतृत्व सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए। 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको धारणा राख्दै उनले प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा सरकारलाई टिकाइराख्ने प्रयास गरिरहेको बताए। राष्ट्रवादी नारा दिएर प्रतिनिधिसभा निर्वाचन जितेका ओली अहिले भारतसँग त्वं शरणम् गर्न पुगेको देउवाले आरोप लगाए। ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको त्वं शरणम् भइसक्यो,’ कांग्रेस सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ?’ ओली राष्ट्रवादी नभएर अवसरवादी भएको आरोप लगाउँदै देउवाले आफूले ओली सरकार हटाउन खोजेको बताए।

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि ओली नेतृत्वको सरकार हटाउनुपर्ने धारणा राखे। ‘अहिलेको सरकारलाई हामीले अपदस्त गर्नैपर्छ,’ उनले भने, ‘हुन त जसपा ओलीसँग नजिक भएका छन्।’ एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहयोग गरे नयाँ सरकार बन्न सक्ने भन्दै महामन्त्री कोइरालाले नयाँ सरकार गठनको पहल लिन सभापति देउवालाई आग्रह गरे।

प्रकाशित: ७ वैशाख २०७८ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App